संघकै मागअनुसार सञ्चालन हुने भो पशुपन्छी औषधि व्यवसायी तालिम

काठमाडौं । पशुपन्छी औषधि व्यवसायी संघको मागअनुसार नै पशुपन्छी व्यवसायीलाई तालिम दिन पशु सेवा विभाग सहमत भएको छ ।

आफ्नो संलग्नताबिना नै व्यवसायीलाई तालिम दिने गरी कार्य प्रक्रिया तयार गरिएपछि संघले आपत्ति जनाउँदै सच्याउन माग गरेको थियो । संघको मागअनुसार कार्य प्रक्रिया सच्याउँदै संघको समन्वय र सहकार्य सुनिश्चित गर्न बिहीबार सहमति जुटेको छ ।

कर्णली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयमा तालिम केन्द्र, मन्त्रालय र पशुपन्छी औषधि व्यवसायीबीच यसबारे सहमति बनेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले जानकारी दिए ।

तालिमको कार्य प्रक्रियामा व्यवसायी संघले विरोध जनाएपछि डा. दाहालले सम्बोधनका निम्ति पहल लिएका थिए । दाहाल यसअघि पशु सेवा विभागमा उप महानिर्देशक थिए । उनी सरुवा भएर भर्खंरै प्रदेश पुगेका हुन् ।

पशुपन्छी औषधि व्यवसायीलाई तालिम सञ्चालन गर्ने विषयमा प्राविधिक समस्या आएको र त्यसलाई बिहीबार सहमति गरेर समाधान गरिएको दाहालले भेट खबर डटकमलाई बताए । ‘खासमा यसमा कुनै नियत खराब देखिएको होइन, प्रक्रियामा समस्या भएको थियो । म, मन्त्रीज्यूलगायतको अग्रसरतामा त्यसलाई सम्बोधन गर्ने काम भएको छ,’ सचिव डा. दाहालले भने ।

पशुपन्छी औषधि व्यवसायीलाई तालिम दिन कार्यप्रक्रिया, २०७९ जारी गरिएको छ । कार्य प्रक्रियामा एसएलसी पास गरेर औषधि व्यवस्था विभागमा भेटेरिनरी पसल दर्ता गरी सञ्चालन गरिरहेका, पशु सेवा विभागबाट पशु सेवासम्बन्धी १५ दिनभन्दा बढीको तालिम लिएका र अंग्रेजी विषय लिई एसएलसी, एसईई (प्राविधिक एसएलसी) उत्तीर्णलाई तालिम दिने प्रावधान राखिएको छ ।