पशु सेवा विभागको महानिर्देशक बन्न मन्त्रीले खुलाए टेण्डर !

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले पशु सेवा विभागको महानिर्देशक नियुक्तिका लागि रकम माग गरेको चर्चा कर्मचारीबीच चलेको छ । मन्त्रीले बिना रकम महानिर्देशकमा नियुक्ति नदिने मनस्थिति बनाएपछि आकांक्षीमध्ये केहीले रकम व्यवस्थापनका निम्ति व्यवसायी गुहारेको तथ्य भेट खबर डटकमले फेला पारेको छ ।

विभागकी तत्कालीन महानिर्देशक डा. दमयन्ती श्रेष्ठले उमेर हदका कारण गत माघ १० मा अनिवार्य अवकाश पाएकी थिइन् । यो जिम्मेवारीका लागि योग्यता पुगेका अधिकृतहरू मन्त्रालयमा बहाल रहेकाले मन्त्रीले तत्काल उक्त रिक्त पदमा नयाँ अनुहारलाई अवसर दिनुपर्ने हो । मन्त्रालयका योग्यतम अधिकृतलाई महानिर्देशक बनाउन छाडेर मन्त्री यादवले बार्गेनिङ गरेका छन् ।

विभाग स्रोतका अनुसार मन्त्री यादवले रकम बार्गेनिङका लागि आफ्ना सहोदर भाइ रवीन्द्रलाई खटाएका छन् । रवीन्द्रले अहिले दाजुको आडमा मधेसी मूलका कर्मचारी प्रयोग गरेर असुली धन्दा चलाएको आरोप छ । यसका केही प्रमाण भेट खबरलाई पनि प्राप्त भएका छन् । रकमबेगर विभागको महानिर्देशक नियुक्त नगर्ने मन्त्रीको अडानपछि आकांक्षीमध्ये केहीले रकम संकलन तीव्र पारेका छन् ।

रकम संकलनका अरुण कुमार सिन्हाले रवीन्द्रको ग्रिनसिग्नल पाएका छन् । रवीन्द्रको अनुमतिपछि सिन्हाले सम्झनाकुमारी काफ्लेलाई महानिर्देशक बनाउन रकम चाहियो भन्दै गतिविधि बढाएका छन् । पशुपन्छी क्षेत्रभित्र विवादित पात्रका रूपमा चिनिने सिन्हा पूर्व सरकारी कर्मचारी हुन् । पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जबाट अनिवार्य अवकाश भइसके पनि उनले सरकारी लेटरहेड दुरूपयोग गर्दै क्वारेन्टाइन सर्टिफिकेट जारी गर्दै आएका छन् । रकम उठाउन सिपालु उनले आफ्नो खातामा रकम राख्दा अप्ठ्यारो पर्ने भएको हुँदा अन्य व्याक्तिको खातामा रकम मगाउने र नगद राख्ने गरेका छन् । उनले पशुपन्छी मन्त्रालय मैले चलाउने हो तर रवीन्द्रजीलाई यसो सहयोग गरिदिनुप्रयो भन्ने गरेको छन् ।

यिनै सिन्हाले रकम संकलनका लागि अहिले व्यवसायी तथा कर्मचारीलाई बैंक खाता नम्बर पठाएको भेट खबरले फेला पारेको छ । सिन्हाले अजय कुमार शाहकाे नाममा नबिल बैंकको ###००१७५###७३, मेगा बैंक लिमिटेडको ८७#####३०५७ र राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको १२######३१० खाता नम्बर क्वारेन्टाइन कार्यालयलगायतका प्रमुख तथा व्यवसायीलाई उपलब्ध गराएका हुन् । यीमध्ये केहीमा रकम जम्मा भइसकेको स्रोतको दाबी छ ।

सिन्हाले महानिर्देशक नियुक्तिका लागि रकम माग गरेर एसएमएस गरेको र आफूले सक्दो सहयोग गरेको एक व्यावसायीले भेट खबरलाई बताए । उनले भने, ‘सहयोग मागिसकेपछि हामीहरूले यो र त्यो भन्नै मिल्दैन । त्यसमा पनि डिजीका लागि त प्रश्न गर्ने कुरै भएन नि ।’

विभागको पहिलो महानिर्देशक बनेर इतिहास लेखाउने कसरतमा रहेकी काफ्ले यसअघि यही विभागमा उप-महानिर्देशक थिइन् । उनीमाथि पशुजन्य बस्तु आयात गर्दा अनिवार्य स्यानेटरी सर्टिफिकेटको झण्झटिलो व्यवस्था लागू गराएको व्यवसायीको आरोप छ यही कारण विगतमा पोल्ट्री महासंघ र नेपाल दाना उद्योग संघ उनलाई महानिर्देशक बनाउन नहुने पक्षमा खडा भएको थियो । काफ्लेको पछि प्रदेश २ स्थित कृषि सचिवमा सरुवा भयो । त्यहाँ पनि उनी विवादमा परिन् । मन्त्रीसँगको विवादका कारण हाजिरसमेत गर्न पाइनन् । उनै सम्झना अहिले महानिर्देशक बन्ने दौडमा छिन् । मन्त्रीलाई प्रभाव पार्न वीरगञ्ज पशु क्वारेन्टाइनका कार्यालय प्रमुख डा.हरेराम यादव र मन्त्रालयका डा.बरुण शर्मालाई अघि सारेको चर्चा विभागतिर छ ।

त्यस्तै, पशु सेवा विभाग उपमहानिर्देशकमा समेत काम गरेका तर प्रदेश नं. १ कृषि मन्त्रालयमा सचिवको जिम्मेवारीमा पठाइएका डा. रामानन्दन तिवारीलाई सरकारले सन्तोषजन कार्यसम्पादन नगरेको भन्दै मन्त्रालयमा तानेको थियो । उनी पनि महानिर्देशकको दौडमा छन् । सह-सचिवस्तरका कर्मचरी भए पनि टिएडिए मात्र मिलाउन जान्ने तर घुस खान र खुवाउन नजानेका तिवारीलाई काम लिन निकै सजिलो भएको भन्दै चितवनकेन्द्रित दाना , ह्याचरी व्यावसायीहरू र नेपाल पशुपन्छी औषधि व्यवसायीसमेत गोप्य रूपमा रकम उठाएर मन्त्रीलाई टक्र्याउने र तिवारीलाई महानिर्देशकका लाने तयारीमा छन् । तर तिवारीलाई उनीहरूको शर्त छ । त्यो हो, दाना बनाउन प्रयोग हुने एमबिएम (मिट एण्ड बोन मिल) र नेपाल सरकारले आयात प्रतिवन्ध लगाएको बल्र्डफ्लू भ्याक्सिन आयात अनुमति खुलाउनुपर्ने ।

त्यस्तै, पशुसेवा विभागका महानिर्देशकका अर्का दावेदार हुन्, डा.उमेश दाहाल । भेटेरिनरी पशु चिकित्सामा गोल्ड मेडलिस्ट दाहाललाई भेटेरिनरी क्षेत्रमा उदाउँदो ताराको रूपमा हेर्ने गरिन्छ । हाल नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक दाहाल पनि महानिर्देशकको दौडमा छन् । दमयन्तीको अवकाशपछि महानिर्देशक बन्न शुल्क बुझाउने उपयुक्त पात्र कोही पनि नपाएका मन्त्रीका स्वकिए सचिव तथा भाइ रवीन्द्रले आफैं महानिर्देशक बनिदिन दाहाललाई आग्रह गरेको बुझिएको छ । दाहालले रेसमा नउत्रिँदै भनेका थिए, सिनियरहरू हुनुहुन्छ, उहाँहरूलाई दिँदा हुन्छ । मेरो त अवश्य पालो आउँछ ।’ तर,मन्त्रालयले प्रोजेक्टमा बसेकाले समेत महानिर्देशकको कुर्ची ताकेको प्रचार गर्दै रकम तिर्ने अन्य पनि आएकोले रकम नभई महानिर्देशक नबनाइने हल्ला चलाएका छन् ।

आकर्षक मानिने प्रोजेक्ट म्यानेजरसँग पैसा हुन सक्ने र अहिले अनुदान समेत बाँड्ने समय भएको हुदाँ उनलाई कार्यकर्तालाई अनुदान दिएको खण्डमा र केही रकम समेतको आशमा मन्त्रीका भाइले दाहाललाई प्रस्ताव गरेकोमा दाहालले फर्जी अनुदान दिन इन्कार गरेको समेत बुझिएको छ ।
प्रधानमन्त्रीले हस्तक्षेप गर्ने
पशु सेवा विभागको महानिर्देशकका खाता नम्बर बाँडेर रकम उठाएको सन्देश स्वकीय सचिव भानु देउवामार्फत प्रधानन्त्रीको पठाएइएको छ । यसबारे थाहा पाएलगत्तै प्रधानमन्त्रीले कृषी मन्त्री रायलाई तुरुन्त विभागमा डिजी पठाउन टेलिफोन गरेका छन् । उनले मन्त्रीलाई बजारमा गलत सन्देश जान नदिन सचेत भइदिन निर्देशन दिएको समेत मन्त्रालयमा चर्चा छ ।