भेडगान महाधिवेशन : उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध, बाँकीमा मतदान हुँदै

भैरहवा । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आगामी नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । महाधिवेशन उद्घाटन भएको दोस्रो दिन भैरहवास्थित होटल बोधी रेडसनमा मतदान सुरु भएको हो ।

संघको नेतृत्वमा सर्वसम्मतिका लागि प्रयास गरिएको थियो । त्यसले आकार लिन नसकेपछि पूर्वनिर्धारित कार्यतालिका अनुसार शनिबार अपराह्नदेखि मतदान सुरु भएको हो ।

आयाततर्फको उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध भएका छन् । आयाततर्फको उपाध्यक्षमा धनकुमारी अधिकारी पाण्डे र कोषाध्यक्षमा सुना सुवेदी निर्विरोध भएका हुन् ।

अध्यक्षमा यज्ञराज र पूर्णचन्द्र सापकोटा आमनेसामने छन् । दुवै उम्मेदवारलाई हारको अघिल्ला रेकर्ड तोड्नुपर्ने चुनौती छ ।

थोकतर्फको उपाध्यक्षमा त्रिपक्षीय भिडन्त हुँदैछ । जसका लागि विकाश शर्मा र रितेश रिमालर मैदानमा छन् ।
खुद्रातर्फको उपाध्यक्षमा गोपालप्रसाद भण्डारी,कर्णप्रिय राना र लक्ष्मण घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ ।
महासचिवमा नरेश कर्माचार्य र नारायणबहादुर भुजेल आमनेसामने छन् भने सचिवमा साजन कार्की र दिनेश कट्टेल  छन् ।

चार सदस्य आवश्यक भएकोमा सात जनाले आकांक्षा देखाएका छन् । अशोक शर्मा, हुमाकान्त काफ्ले, परशुराम गैरे, सन्तोषकुमार सिंह, कृष्णप्रसाद लम्साल, पुरुषोत्तम पौडेल र राजेन्द्र थापा प्रतिस्पर्धामा रहेको मतदान अधिकृत गनेश प्रसाद सिग्देलले जानकारी दिए ।

मतदाता रहेका ४३७ व्यवसायीले पदाधिकारी तथा सदस्यका आकांक्षी छनोट गर्नेछन् । मतदान करिब तीन घण्टा चल्ने अनुमान छ ।