काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले पीपीआर खोप सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक वर्ष ०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभिमुखीकरण तालिम गरिएको हो ।
आगामी २५ माघबाट सञ्चालन हुने सप्ताहव्यापी पीपीआर खोप अभियानलाई लक्षित गरी जिल्लाका १० वटै स्थानीय तहका भ्याक्सिनेटरहरूलाई अभिमुखीकरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले आइतबार र सोमबार गरी सबै स्थानीय तहका भ्याक्सिनेटरहरूलाई पीपीआर खोपमा हुनुपर्ने आदर्श गुणहरू, खोप लगाउनु पूर्व सचेत हुनु पर्ने र खोप लगाएपश्चात आइपर्न सक्ने खतराजन्य अवस्था र त्यसको पूर्वतयारीबारे अभिमुखीकरण गरेको हो । कार्यालयले आगामी २५ माघदेखि २ फागुनसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ ।
कार्यक्रममा स्रोत व्यक्ति डा. ब्रजकिशोर ठाकुरले सहजीकरण गरेका थिए । सहभागी भ्याक्सिनेटरहरूलाई खोपको प्रभावकारिता बढाउनका लागि निर्देशनको पालना गर्न उनले आग्रह गरे ।
पीपीआर खोपले भेडा बाख्राहरूमा रोगसँग लड्ने क्षमता वृद्धि गर्ने भएकोले आदर्श तरिका अपनाउन ठाकुरले आग्रह गरे । प्रयोग अगाडि भ्याक्सिन जांच गर्ने, चराएर ल्याएका भेडा बाख्रामा भ्याक्सिन लगाउनपूर्व केहीबेर आराम गर्न दिने, खोप दिन साथै देखापर्न सक्ने नकारात्मक वा अन्य लक्षणबाट पशु धनीलाई खोप लगाउनुभन्दा पहिले नै जानकारी दिनुपर्ने, खोपलाई मापदण्ड अनुसारको तापक्रममा राख्नुपर्ने ठाकुरले बताए ।
यस्तै खोप स्थानान्तरण गर्दा ध्यान दिनुपर्ने कुराहरूमा चनाखो बन्न, तरल खोपहरू घाममा नराख्न, एउटै खोप एकभन्दा बढी पशुमा प्रयोग नगर्न वा गर्नै परेमा उमालेर निर्मलीकरण गरेर मात्रै प्रयोग गर्न, खोपको प्रयोग गर्नु पूर्व निर्देशनको अध्ययन र पालना गर्नउनले भ्याक्सिनेटरहरुलाई आग्रह गरे ।
खोपले एलर्जी, मस्तिष्क सुन्निनेजस्ता खराबी हुन सक्ने भएकाले यसको निवारणको लागि पनि सचेत बन्न ठाकुरले आग्रह गरे ।