काठमाडौं । पशुपन्छीका गुणस्तरहीन फिड सप्लिमेन्ट फिर्ता (रि–कल)गर्न पशु सेवा विभागले निर्देशन दिएको छ ।
विदेशी कम्पनीका विभिन्न फिड सप्लिमेन्ट सत् प्रतिशत गुणस्तरहीन रहेको भेट टाइम्स म्यागजिन र भेट खबरले यसअघि तथ्यसहित लगातार समाचार प्रकाशित गरेको थियो । लगत्तै ती फिड सप्लिमेन्टको गुणस्तर परीक्षण गराएको विभागले फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले बिहिबार एक सूचना जारी गर्दै ८ वटा फिड सप्लिमेन्ट परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको जनाएको छ । साथै उसले यसको बिक्री–वितरण रोकेर तत्काल बजारबाट फिर्ता गर्न पनि भनेको छ ।
विभागले रिकल गर्न निर्देशन दिएका फिड सप्लिमेन्टमा फिजान्ट बायो प्रालि भारतको उत्पादन ग्राभिटा गोल्ड, रियल रेमिडिज भारतको प्युरीभेट ए, एमिनरिच न्युट्रिन्ट्स बीभीको अमिनो एडी ३, अल्जेन लाइफ साइन्सेज प्रालिको गाभिट–ए, एजिलिस हेल्थकेयरको म्याग्निपिक–८, ओजोन बायो साइन्सेज एण्ड न्युट्रिनल सेन्टरको गोल चिक, इलिसिड फर्माको भिटाब्लेन्ड ए र इन्डियन ड्रग एण्ड भिटामिन्सको इण्डोफोर्ट ए छन् ।
यद्यपि, रियल रेमिडिज र यमिनो रिचका नेपाल प्रतिनिधिहरूले व्यावसायिक धर्म निर्वाह गर्दै भेट टाइम्समा समाचार प्रकाशनपछि गुणस्तरहीन फिड सप्लिमेन्ट फिर्ता गरेका थिए ।
रिकल गर्न विभागले निर्देशन दिएका फिड सप्लिमेन्टमध्ये एउटा पूर्णचन्द्र सापकोटाले आयात गर्दै आइरहेको पनि परेको छ । सापकोटा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आसन्न अधिवेशनका अध्यक्षका आकांक्षी हुन् ।
हेर्नुहोस पशु सेवा विभागले गोरखापत्र दैनिकमा प्रकाशन गरेको सूचना
पशुपन्छी व्यवसायीका नेताले आयात गरेको भिटामिनमा ९१ प्रतिशत पानी