सकियो भैंसी सम्मेलन, यस्ता छन् पारित पाँच संकल्प प्रस्ताव

काठमाडौं । दशौं एसियाली भैंसी विज्ञ सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एसियन बफालो एसोसिएसन र इन्टरनेशनल बफालो फेडेरेसनको आयोजना सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरू, नेपाल कृषि अनुसन्धान परिषद्, पशु सेवा विभाग, नेपाल भेटेरिनरी काउन्सिल, नेपाल भेटेरिनरी एशोसियसन, नेपाल पशु विज्ञान एशोसियसन, नेपाल डेरी साइन्स एशोसियसन र अमेरिकाको मिचिगनस्टेट विश्वविद्यालयको सह–आयोजनामा सम्मेलन भएको हो ।

अक्टोबर २५ देखि २९ सम्म भर्चुअल माध्यमबाट भएको सम्मेलनले पाँचबुँदे संकल्प प्रस्ताव सर्वसम्मतबाट पारित गरेको एसोसिएसनका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।

पारित संकल्प प्रस्तावमा नेपालमा अनुसन्धान र विकासको माध्यमबाट दिगो भैंसी उत्पादनको लक्ष्य हासिल गर्न एउटा छुट्टै भैंसी विकास बोर्डको गठन तथा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्नु रहेको छ ।

त्यसैगरी, भैंसी उत्पादनको विकास एवं प्रवद्र्वनको लागि समन्वय एवं सहयोग गर्न एउटा विज्ञहरु एवं पेशाकर्मीहरुको सोसाइटी स्थापनाको महसुस पनि एसोसिएसनले गरेको छ । राष्ट्रिय एवं अन्तराष्ट्रिय रूपमा स्थापित तथा भैंसी उत्पादन र यसको विकाससँग सम्वन्धित क्षेत्रमा कार्यरत सरकारी निकायहरू, अनुसन्धान संस्थाहरू र पेशागत संघ÷संस्थाहरू,जस्तै एसियन बफालो एसोसिएसन, इन्टरनेशनल बफालो फेडेरेसनलगायतसँगको सहकार्य र समन्वयमा उपलब्ध ज्ञान, सीप, प्रविधि एवं उन्नत जातका नश्ल÷बीउको आदानप्रदान गरी क्षमता अभिवृद्दि एवं गुणस्तरीय उत्पादनमा वृद्दि गर्ने तर्फ तत्काल अघि बढ्न पनि भनिएको छ ।

अन्य पशुजन्य उत्पादनहरू भन्दा भैंसीजन्य उत्पादनहरू पोषणमा भरपूर एवं स्वाथ्यवर्दक रहेको कुरालाई प्रवद्धन गर्दै भैसीको दुध एवं मासुजन्य पदार्थहरूको उत्पादन, विविधीकरण एवं उत्पादनको विशिष्ट बजारीकरणमा पनि सम्मेलनले जोड दिएको छ । संकल्प प्रस्तावको पाँचौं नम्बरमा नेपालले भव्य रुपमा सफलतापूर्वक दशौं एसियन बफालो कंग्रेस सम्पन्न गरेर आफ्नो आयोजन क्षमता प्रमाणित गरेकाले भविष्यमा इन्टरनेशनल बफालो फेडेरेसनसँगको सहकार्यमा वल्र्ड बफालो सम्मेलन आयोजनाका लागि पहल अगाडि बढाउने उल्लेख छ ।

अनुसन्धानको माध्यमबाट भैंसी उत्पादनको दिगो विकास गर्ने उद्देश्यले एसियाली देशमा सक्रिय भैंसी वैज्ञानिकहरूले सन् १९९२ मा एसोसिएसनको स्थापना गरेका हुन् । आपसी ज्ञान, सिप र प्रविधिको आदानप्रदान गर्न एसोसिएसनले प्रत्येक ३÷३ वर्षमा एसियाली भैंसी विज्ञ सम्मेलन आयोजना गर्दै आइरहेको छ ।

नेपालमा भैंसी उत्पादनको अत्यधिक महत्त्व छ । स्थापनाकालदेखि नै नेपालले उक्त सम्मेलनहरूमा आफ्नो वैज्ञानिक सहभागिता जनाउँदै आएको छ । नेपालले नेतृत्व लिने अवसर भने भारतको हिसारमा सन् २०१८ मा आयोजित नवौं सम्मेलनमा प्राप्त गरेको हो । उक्त नवौं सम्मेलनमा नेपालका विख्यात भैंसी प्रजनन प्रविधि वैज्ञानिक कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनका प्राध्यापक डा. भूमिनन्द देवकोटा सर्वसम्मत एसोसिएसनको अध्यक्ष निर्वाचित भएका थिए । लगत्तै दशौं सम्मेलन आयोजनाको अवसर नेपालले पाएको हो ।

सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले गरेका थिए भने प्रधानमन्त्री शेर बहादुर देउवाले एक सन्देशमार्फत सम्मेलन सफलताको कामना गरेका थिए । सम्मेलनमा १७ देशका भैंसी विज्ञहरु, नीतिनिर्माताहरू, कृषकहरु एवं अन्य सरोकार निकायहरुबाट ४०० भन्दा बढीको सहभागिता थियो । सम्मेलनमा भैसीं उत्पादन क्षेत्रका अनुसन्धान र प्रविधि विकाससम्बन्धी १३८ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

उक्त कार्यपत्रहरु एवं त्यसमा भएका छलफल र अन्तरक्रियाहरूबाट भैंसीको अनुसन्धान र विकाससम्बन्धी समसामयिक ज्ञान, सीप र प्रविधिको आदानप्रदान भै सम्पूर्ण सरोकारवालानिकायहरु लाभान्वितभएका र भैसीं उत्पादन, यसको प्रवद्र्वन र विकासमा यस सम्मेलनकाउपलब्धिहरु एवं संकल्प प्रस्ताव कोशेढुगा सावित हुने अपेक्षा आयोजक समितिले राखेको छ ।

२०२१ देखि २०२४ कार्यकालका लागि एसोसिएसनको अध्यक्षता बंगलादेशले पाएको छ । अध्यक्षता गरेको देशले सम्मेलन गर्ने प्रावधानअनुसार आगामी एघारौं एसियाली भैंसी विज्ञ सम्मेलन बंगलादेशमा हुनेछ ।