काठमाडौं । महिला मन्त्री पद्या अर्यालले सम्हालेको कृषि तथा पशुपन्क्षी मन्त्रालयका महिला कर्मचारीलाई आगामी जेठ १३ गतेसम्म छुट्टी दिइएको छ । पुरुष कर्मचारीलाई भने आलोपालो प्रणाली अपनाएर ड्युटी गर्न भनिएको छ ।
उपत्यकामा लगाइएको निषेधाज्ञाको कारण दर्शाउँदै मन्त्रालयले भोलिदेखि लागू हुनेगरी महिला कर्मचारीलाई विशेष सहुलियत उपलब्ध गराएको हो ।
मन्त्रालयका शाखा अधिकृत गणेशबहादुर कट्वालले मन्त्रालयका सबै महाशाखाहरूलाई बुधबार सर्कुलर गर्दै ०७८ जेठ १३ गतेसम्मका लागि महिला कर्मचारीलाई कोभिड काजको प्रबन्ध गर्ने व्यवस्था मिलाउन पत्राचार गरेका छन् । महाशाखा प्रमुखले बोलाएको अवस्थामा भने महिला कर्मचारी उपस्थित हुनुपर्ने पत्रमा उल्लेख छ ।
कोरोना महामारीमा आवश्यक सरकारी सेवा अत्यन्त न्यून कर्मचारीबाट सञ्चालन गर्ने निर्देशनअनुसार यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । तर महिलाका लागि काज छुट्टी दिएको मन्त्रालयले पुरुष कर्मचारीलाई भने आलोपालो प्रणाली अनुसार उपस्थित हुनुपर्ने थिति बसालेको छ ।
‘विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण अति आवश्इक सरकारी सेवा अत्यन्त न्यून (एक चौथाई) कर्मचारीबाट सञ्चालन गर्ने नेपाल सरकारको निर्देशनसमेतलाई मध्यनजर गर्दै महाशाखाअन्तर्गत कार्यरत पुरुष कर्मचारीले आवश्यक पालोको व्यवस्था मिलाउनु होला,’ मन्त्रालयले सबै महाशाखामा पठाएको पत्रमा भनिएको छ ।
मन्त्रालयको यस्तो निर्णयपछि कतिपयले लैंगिक समानताको भद्दा मजाक गरिएको टिप्पणी गरेका छन् । कृषि मन्त्रालयअन्तर्गकै कर्मचारी डा. नवीन उपाध्यायले मन्त्रालयको निर्णयलाई अदूरदर्शिताको पराकाष्ठा भनेका छन् । ‘लौ गज्जब । हामीलाई त केही छैन । तर लैंगिक समानताका कुरा गर्नेहरूले के भन्लान ? अनि कोरोनाले लिंग हेरेर आक्रमण गर्छ र ?’ उनले देशका सबै नर्सहरुमा यो नियम लागु गरे के होला ? भन्ने प्रश्न पनि गरेका छन् ।