पशुपन्क्षीसम्बन्धी सामग्रीको ढुवानीमा अवरोध नगर्न गृहलाई कृषिमन्त्रीको पत्र

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्या अर्यालले कृषि र पशुपंक्षी क्षेत्रका उत्पादन तथा उत्पादनका लागि आवश्यक सामग्रीको ढुवानीलाई सहज गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेकी छन् ।

कोरोनाको दोस्रो लहरपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएका छन् । अघिल्लो लकडाउनमा कृषि र पशुपन्क्षी क्षेत्रका उत्पादन सामग्री तथा उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको ढुवानी सहज पारिए पनि यसपटक त्यस्तो सुविधा दिइएको छैन । यसबारे सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेपछि मन्त्री अर्यालले बिहीबार गृहलाई एक पत्र लेखी ढुवानी सहज गरिदिन आग्रह गरेकी हुन् ।

‘कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न जिल्लामा जारी निषेधाज्ञाको पहिलो दिनमै कृषि र पशुपन्क्षी क्षेत्रका उत्पादन सामग्री एवं उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको ढुवानीमा अवरोध रहेको हुँदा तहाा मन्त्रालयबाट ढुवानी व्यवस्था सहज गरिदिनुहुन अनुरोध छ,’ मन्त्री अर्यालले गृहलाई प्रेषित गरेको पत्रमा भनिएको छ ।

मन्त्री अर्यालले गृहलाई लेखेको पत्रमा समग्र कृषि उपज, कृषि मेसिनरी, रसायनिक मल (युरिया, डीएपी, पोटास), बीउविजन, समग्र पशुपन्क्षी( पशु, चल्ला, कुखुरा) पशुजन्य पदार्थ (दूध, मासु, अण्डा) तथा पशुउत्पादन सामग्रीको ढुवानी सहज गरिदिन भनिएको छ । त्यसैगरी, भेटिरिनरी औषधि, भ्याक्सिनलगायतका सामग्रीको ढुवानीलाई पनि सहज पारिदिन उनले आग्रह गरेकी छन् ।
यसअघिको लकडाउनका अत्यावश्यकीय क्षत्रेमा समेटिएको कृषि तथा पशुपन्क्षी क्षेत्रलाई यसपटक बेवास्ता गरिएपछि कृषि तथा पशुपन्क्षी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले सरकारको ध्यानाकर्षण गराएका थिए । सरोकारवालाको चासो र चिन्तापछि मन्त्री अर्यालले यसका निम्ति तदारुकता देखाएकी हुन् । मन्त्री अर्यालले गृहलाई पत्र नै लेखेर आग्रह गरेकाले यसबारे सम्भवतः बिहीबार अवेरसम्ममा निर्णय परिमार्जन हुने ठानिएको छ ।