नवलपरासीमा अस्वभाविक रुपमा गिद्ध मरेको घटनाप्रति भेटेरिनरी एशोसिएशनद्वारा खेद व्यक्त

काडमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले अस्वभाविक रुपमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले एक विज्ञप्ती जारी गरी उक्त घटनाप्रति खेद व्यक्त गरेको हो । बुधबार बिहान पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस पछाडिको खुल्ला चौरमा मरेका गिद्ध छरिएका थिए। बिहान गाईवस्तु चराउन गएका स्थानीय किसानले चौरमा झण्डै एक दर्जन गिद्ध देखेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासनलाई खबर गरेका थिए। खोजीका क्रममा कुल ६७ ओटा गिद्ध मरेको अवस्थामा भेटिसकिएको छ ।

ठूलो संख्यामा गिद्ध मरेको थाहा पाएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण संघका प्राविधिकसहित पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र पनि गिद्ध मरेको स्थल जितपुर पुगेका थिए । स्थानीयका अनुसार मंगलबार साँझदेखि नै गिद्धहरू झोक्राउने र बिरामी परेर बसेजस्तो देखिएको भए पनि बुधबार बिहान भने चौरभरि मरेको अवस्थामा फेला परेका थिए। गिद्धसँगै चौरमा ८ वटा मरेका कुकुर भेटिएकाले तीनै कुकुरको विषाक्त सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको छ।

एशोसिएशनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘नवलपरासी जिल्लाको रामग्राम नगरपालिका– ४ जितपुरमा ठुलो सख्यामा प्राकृतिक कुचिकार मानिने गिद्धको अस्वभाविक मृत्यु भएको घटनाप्रति यस एशोसियसनको गम्भिर ध्यानाकर्षण भएको छ । सो स्थानमा अमानविय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको छ । साथै काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको २८ किलो भन्ने स्थानमा केही दिन अगाडि सार्वजनिक स्थानमा बिजुलीको पोलमा बाँधेर एउटा निरिह कुकुरलाई लाठी कोदालो आदिले पटक पटक प्रहार गरी चरम अमानवीय तरिकाबाट मारिएको घटनाप्रति समेत यस एशोसियसन खेद प्रकट गर्दछ।’

एशोसिएशनले पृथ्वी सबै जीवका साझा बासस्थान भएको भन्दै बाँच्न पाउने सबैको अधिकार सुरक्षित हुने पर्ने जनाएको छ ।

‘पृथ्वी सवै जीव जन्तुको साझा वासस्थान हो र पारस्थिकिय प्रणालीमा सबै प्राणीको आफ्नै महत्व रहेको हुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी यी असाहय जनावरप्रति मानिस असहिष्णु र ह्रिसक बन्दा प्रकृतिको लोपोन्मुख अर्को प्राणीलाई समेत ठूलो आघात पुगेको छ । केही समययता देशका विभिन्न स्थानमा यसरी पशुहरुलाई चरम अमानविय यातना दिई मार्ने, चोटपटक पूर्याउने जस्ता घटना बढेको देखिन्छ । यस्ता हिंस्रक घटनाहरुले हाम्रो मानवीय संवेदनाप्रति नै प्रश्नचिन्ह खडा गरेको छ ।’

नेपाल जैविक विविधता महासन्धीको पक्षधर राष्ट्र भएको हुनाले समेत यस्ता घटनाहरु हुन नदिनु र जैविक विविधताको संरक्षण गर्नु नेपालको दायित्व भएको एशोसिएशनले स्पष्ट पारेको छ ।

‘नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएको नाताले समेत पशु कल्याणको विश्वव्यापी आधारभुत मान्यताहरुको सम्मान गर्नु सबैको दायित्व र कर्तब्य हो,’ विज्ञप्तीमा भनिएको छ, ‘यसको अलावा यो कानुनी रुपमा समेत दण्डनीय बिषय हो। मुलुकी अपराध संहिता २०७४ को दफा २९० मा पशुपन्छीलाई कुटी हिकाई वा हानिकारक वस्तु सेवा गराई निर्दयी व्यहवार गर्न नहुने उल्लेख छ र दण्ड सजायको व्यवस्था रहेको छ । उल्लेखित घटनाको उच्च स्तरीय समिति बनाई सत्यतथ्य जाचबुझ गरी यस्ता अमानविय कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कार्वाही गर्न सम्बन्धित स्थानीय प्रशासनसंग जोडदार माग गर्दछ ।’

साथै भविश्यमा यस्ता घटनाहरु नदोहोरियुन र पशु कल्याणको सुनिश्चितताका लागि नेपाल सरकारले जारी गरेको पशु कल्याण निर्देशिका २०७३ मा उल्लेखित पशु कल्याणका आधारभुत पक्षहरुमा ध्यान पुर्याउन समेत सबै सरोकारवालामा हार्दिक अपिल गर्दछ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा २७ मा भएको व्यवस्था बमोजिम तत्काल पशुहरु प्रति हुने निर्दयी व्यवहार रोक्नको लागि अधिकार सम्पन्न समिति गठन गरी पशु कल्याणको अवस्थामा सुधार ल्याउन नेपाल सरकारसंग माग गर्दछ । साथै नेपालमा पशुहरु प्रति हुने गरेको यस्ता अमानवीय क्रियाकलापलाई नियमन गरी निरुत्साहित गर्न र पशु कल्याणको अवस्थामा सुधार ल्याउन सर्वोच्व अदालतबाट आदेश जारी भैसकेको स्मरण गराउदै पशु कल्याण ऐन यथासिघ्र ल्याउन नेपाल सरकारसँग माग गर्दछ ।