बंगुर र कुखुरा पालनमा सघाउँदै आएका छौं

नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । यसका लागि नेपालका निजी क्षेत्रले गरेको व्यावसायिक पशुपन्छी पालनको महत्पूणर् योगदान छ । त्यतिकै महत्वपूणर् योगदान सरकारी क्षेत्रको पनि छ । सरकारका विभिन्न निकायले पशुपन्छी विकासमा महत्वपूणर् भूमिका निर्वाह गरिरहेका छन् । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको बंगुर तथा कुखुरा अनुसन्धान केन्द्र खुमलटार ललितपुरले पनि ग्रामीण पशुपन्छी पालनलाई सघाउन उन्नत जातका बंगुर, कुखुरा, टर्की, खरायोजस्ता पशुपन्छीको भाले उत्पादन र वितरण गर्ने कार्य गरिरहेको छ । यसैसन्दर्भमा केन्द्रले गरिरहेका काम कारबाहीबारे केन्द्रका प्रमुख डा.माधवप्रसाद आचार्यसँग भेट टाइम्सले गरेको कुराकानीः

नेपालमा बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम कसरी सुरु भयो ?
नेपालमा उन्नत जातको बंगुर र कुखुरा भित्राउने काम ०१५/१६ सालबाटै भएको हो । अहिलेको हेफर इन्टरनेशनल भन्ने कार्यक्रमले त्यसताका पनि नेपालमा काम गरेको रहेछ । हेफर इन्टरनेशनलले त्यसताका हेफरमार्फत ५ वटा उन्नत जातका बंगुर र १ हजार ७ सय उन्नत जातका कुखुरा भित्राएको रहेछ । त्यसपछि ०१७ पुस १७ गते कृषि अनुसन्धान परिषद्अन्तर्गतको परवानीपुरमा रहेको फार्ममा नेपालकै पहिलो ह्याचरी स्थापना भएको हो । त्यसबेला उक्त ह्याचरी फार्मको उद्घाटन राजा महेन्द्रले गरेका थिए । त्यही मितिलाई लिएर अहिले नेपालमा हरेक वर्ष पुस १७ गते पोल्ट्री डे मनाउन थालिएको हो । त्यसपछि नेपालमा ग्रामीण कुखुरा विकास कार्यक्रममार्फत तरहरा, नेपालगञ्ज, परवानीपुर र खुमलटार गरी ४ ठाउँबाट उन्नत जातको चल्ला वितरण सुरु गरिएको हो ।
०२८ सालमा ब्रिटिस सरकारको पहलमा कास्कीको लुम्ले र धनकुटाको पाख्रिबासमा दुई वटा कृषि अनुसन्धान केन्द्र खुल्यो । ब्रिटिश गोर्खा फौजमा नेपाली सेना भर्ना हुने चलन थियो । उक्त सेनामा २० वर्षको उमेरमा भर्ना लिइन्थ्यो भने ४० वर्षको उमेरमा जागिरबाट अवकाश हुथ्यो । बेलायती सेनामा जागिर खाएर ४० वर्षमै अवकाश भएका नेपालीलाई कृषिमा पुनः रोजगारी सिर्जना होस् भनेर बेलायत सरकारले ती दुई ठाउँमा कृषि अनुसन्धान केन्द्र स्थापना गरेको थियो । त्यसबेला उनीहरुले नयाँ तथा उन्नत जातका कुखुरा, बंगुर र खरायो भित्राएका थिए । त्यही अनुसन्धान केन्द्रको रिसर्चबाट ०३६/३७ सालमा नेपालमा पहिलो पटक धराने कालो बंगुरको रूपमा नयाँ जात विकास भएको हो । ०५२ मा बेलायत सरकारले लुम्ले र पाख्रीबासमा रहेका दुई कृषि अनुसन्धान केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो । अहिले हाम्रै कार्य क्षेत्रमा छ ।

अनुसन्धानको विषय छनोट कसरी र प्रक्रिया कस्तो हुन्छ ?
अनुसन्धानका लागि पहिला प्रस्तावना तयार गर्नुपर्छ । प्रस्तावना तयार गर्न पहिला गाउँमा गएर ग्रामीण कार्यशाला गोष्ठी गर्ने गर्छौं । यस्तो गोष्ठीले उक्त गाउँमा किसानका समस्या के कस्ता छन्, रोग, दाना वा खाद्य पदार्थ, प्रजननलगायत हरेक विषयमा समस्याहरू बुझ्ने गर्छौं । कुखरा, बंगुर, गाई, घरपालुवा पशु तथा पन्छीमा भएका समस्या हामीले पहिचान गर्ने गछौं । किसानको चाहना बुझ्छौं । त्यसपछि प्रोभिन्सियल एग्रिकल्चर टेक्निकल वर्किङ ग्रुप (पिएटीडब्ल्युजी) मिटिङ गर्छौं । सातै प्रदेशमा यस्तो मिटिङ फरक-फरक हुन्छ । यसले प्रदेशमा पशुपन्छीमा रहेको समस्याबारे पत्ता लगाउन सहयोग पुग्छ । संघीय व्यवस्थामा जानुअघि हामीले यही मिटिङलाई रिजनल एग्रिकल्टल टिक्निकल वर्किङ ग्रुप मिटिङ भन्ने गरेका थियौं । यो मिटिङबाट आएको समस्या तथा अनुसन्धान गर्नुपर्ने विषयलाई लिएर नेशनल एग्रिकल्चर टेक्निकल वर्किङ ग्रुप(एनएटीडब्लुजी)मा लैजान्छौं । अर्कोतिर नार्कका इडी र पशुसेवा विभाग, खाद्य प्रविधि विभाग, कृषि विभागका डिजी गरी इडी-डिजी मिटिङ हुने गर्छ । डिजीहरुले ल्याएका अनुसन्धानात्मक विषयलाई पनि प्राथमिकताका साथ अनुसन्धान गरिन्छ । यसबाहेक बाढी, पहिरो, भूकम्प, रोगजस्ता प्रकोप भएका क्षेत्रमा लानुपर्ने कार्यक्रमबारे सरकारले तय गरेको प्राथमिकता निर्धारण गर्छौं । त्यसैअनुरूप वार्षिक कार्यक्रम बनाउँछौं । प्रस्तावना तयार गर्छौं र सबै विषयहरुलाई एक ठाउँमा राखेर प्राथमिकता निर्धारण गरी अनुसन्धानका काम अघि बढाउँछौं ।

रोगसम्बन्धी अनुसन्धानचाहिँ कसरी अघि बढिरहेको छ ?
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम खुमलटार ललितपुर (हामी) ले बंगुर र कुखुराको मात्रै अनुसन्धान गर्छौं । रामपुर केन्द्रले गाईको मात्रै, तरहरा केन्द्रले भैंसीको मात्रै गर्ने गर्छ । यसबाहेक रोगको मात्रै अनुसन्धान गर्ने निकाय राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र खुमलटारबाट पनि काम हुन्छ । उहाँहरूसँगको समन्वयमा अन्य केन्द्रले आ-आफ्ना क्षेत्रका पशुपन्छीको रोगको अध्ययन तथा अनुसन्धान गर्ने गर्छौं ।

उत्पादन वृद्धि गर्ने उद्देश्यले वितरण गरिने उन्नत नश्लका पशुपन्छीका भाले वितरणको प्रक्रिया के हुन्छ ?
उन्नत जातका पशुपन्छीको माग ज्यादा छ । यो सधैं बढी नै हुन्छ । माग भए जति सबैलाई उन्नत जातका पशुपन्छीका भाले दिन सकिँदैन । हामीले प्रत्येक बुधबार एक पटकमा २५ सयदेखि ३ हजारसम्म कुखुराका चल्ला वितरण गर्छौं । तर, बंगुरको पाठापाठीको उत्पादन कम हुने भएकाले स्थानीय निकायको सिफिारिस लिएर आउने किसानलाई वितरण गर्छौं । बंगुरको पाठापाठीचाहिँ समूहमा दिन्छौं । कुखुराको चल्ला भने आवश्यकता अनुसार व्यक्तिलाई नै दिन सकिन्छ ।

अनुसन्धान प्रक्रियामा समस्या के-के छन् ?
यो हाम्रो राष्ट्रिय बंगुर तथा कुखुरा अनुसन्धान केन्द्र भएकाले हाम्रो कार्यक्षेत्र ७७ वटै जिल्ला अर्थात् देशभरी नै हो । तर जनशक्ति कम छौं । अहिले हामीसँग ४ जना अधिकृत र म एक गरी ५ जना भयौं । ५ जनाले सबैतिर हेर्न सम्भव छैन । अहिले अनुसन्धान पनि आधुनिक अवधारणा अनुसार अघि बढाउनु पर्ने अवस्था छ । संसार अघि बढिरहेको बेला हामीले परम्परागत अनुसन्धान प्रक्रियामै निर्भर रहेर हुँदैन । आधुनिक अनुसन्धानका लागि एड्भान्स खोर, गोठ र भौतिक सुविधाहरु छैनन् । यो फार्म ०२२ मा खुलेको हो । त्यतिबेलाकै गोठ र खोर हामीले अहिले पनि प्रयोग गरिरहेका छौं । अर्को कुरा, स्रोत साधनको अभाव छ । तर स्रोत साधनभन्दा पनि जनशक्ति मुख्य कुरा हो । जनशक्ति नै नभए पनि स्रोतले पनि काम हुन सक्दैन ।

किसानहरुलाई कस्तो कुखुरा पाल्ने सल्लाह दिनुहुन्छ ?
हामीले यहाँबाट वितरण गर्ने चल्लाहरु व्यावसायिक कुखुरापालनका लागि होइन । एकैजनाले लाखौं चल्ला हाल्ने लेयर्स, ब्रोइलरजस्ता चल्ला हामीले वितरण गर्ने होइन । त्यसरी व्यावसायिक रूपमा पालिने कुखुरामध्ये ब्रोइलर मासुका लागि पालिन्छ भने लेयर अण्डाका लागि । तर बहामीले चल्ला वितरणका दुई वटा उद्देश्य छन् । मासु र अण्डा दुइटै कुखुराबाट हुनेगरी हामीले ग्रामीण क्षेत्रका निम्न तथा मध्यम वर्गका किसानलाई दिने गरेका छौं । मासु र अण्डा दवै हुने भएपछि हामीले दिने कुखुराले लेयर्सको जति अण्डा दिँदैन । लेयर्सले वर्षको ३०० अण्डा दिन्छ भने यी कुखुराले वर्षमा २०० सम्म अण्डा दिन्छ । मासु पनि ब्रोइलरको ४०/४५ दिनमा तयार हुन्छ भने यसको अलि ढिलो हुन्छ । ब्रोइलरलाई जस्तो बढी व्यालेन्स दाना पनि खुवाउनु पर्दैन । यसलाई बाहिर चराएर पनि पाल्न सकिन्छ । घाँस पनि खुवाएर पाल्न सकिन्छ । कन्फ्रे र जैजस्तो घाँस खुवाएर पाल्ने हो भने दाना २० प्रतिशतसम्म कम गर्न सकिन्छ । जस्तो १ केजी दाना दिनुपर्ने ठाउँमा २०० ग्राम घाँस दियो भने अझ राम्रो हुनेछ । दाना मात्रै खुवाएको भन्दा घाँस खुवाएर पालेका र चराएर पालेका कुखुराको मासुको गुणस्तर पनि राम्रो हुन्छ ।

अनुसन्धान केन्द्रमा हाल कुखुरा र बंगुरको संख्या कति छ ?
हाल यहाँ २ हजार ७ सय कुखुरा, १ सय २२ ओटा बंगुर र १५७ वटा खरायो छन् ।

खरायोचाहिँ कुन उद्देश्यका लागि पालिने हो ?
खरायो दुई प्रयोजनले पाल्ने गरिन्छ । एउटा ऊन र अर्को मासुका लागि । ऊनका लािग हामीकहाँ अंगोरा जातको खरायो छ । खरायोको मासु नेपालीहरुले मन पराउनु भएको छैन । कुनै-कुनै स्टार होटलमा विदेशीले खरायोको मासु खाए पनि नेपालमा खासै यसको प्रयोग भएको छैन । त्यस्तै अहिले खरायोको ऊन पनि माग भएन । त्यसो हुँदा यसको बजारीकरणको समस्या छ । लकडाउनको अवधिमा हामीसँग २०० खरायो थिए । चित्लाङमा खरायो अनुसन्धान कार्यक्रम सुरु भएकोले हामीले अहिले केही खरायो त्यहाँ पठाएका छौं । त्यसैले संख्या केही कम भएको छ । अहिले हामीले ३ थरी जातका खरायो संरक्षण गरेर राखेका छौं । संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।

डा. माधवप्रसाद आचार्य, प्रमुख, बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटार

अनुसन्धान केन्द्रको नयाँ योजना के-के छन् ?
अझै पनि कुखुरामा देखिएको मुख्य महामारीजन्य रोग भनेको रानीखेत नै हो । जसको ठूला, व्यवस्थित कुखुरा फार्महरु छन् । उहाँहरूले रानीखेत रोग नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्नुहुन्छ । कुखुराको संख्या बढी भएकोले तालिका नै बनाएर खोपको डोज पूरा लगाएपछि रोगले आक्रमण गर्न सक्दैन । तर १०/२० कुखुरा पाल्ने किसानलाई कहाँबाट भ्याक्सिन पाउनु र ? उनीहरुले १० हजार डोज भ्याक्सिन ल्याउन पनि सक्दैनन् । १० डोज मात्रै ल्याउन र प्रयोग गर्न पनि समस्या हुने देखियो । यसका लागि उपयोगी हुने एउटा भ्याक्सिन छ । थर्मो स्टेबल भ्याक्सिन भन्ने भ्याक्सिनले ताप सहन सक्छ । ३० डिग्रीसम्मको तापमा ३ दिनसम्म झोलामा लिएर हिँड्दा पनि यो भ्याक्सिन बिग्रिँदैन । १०/१० वटाको डोजमा आउने भएकाले यो भ्याक्सिन लगाउन सजिलो पनि हुन्छ । अष्ट्रेलियाबाट सिड ल्याएर हामीले यहाँ विकास गरेको भ्याक्सिन हो यो । तापक्रम बढी भएका तराईका जिल्लामा यो भ्याक्सिनले काम गरेन । तर पहाडी जिल्लामा यो प्रभावकारी देखिएको छ । ४ महिनाको फरकमा वर्षमा ३ पटक यो भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ ।हालसालै बंगुरमा एउटा नयाँ रोग पीआरआरएस (नीलकाने) भन्ने नाम राखेका छौं । भाइसरबाट हुने यो रोग लागेपछि बंगुरको कानमा रगत जमेजस्तो नीलो देखिन्छ । यो रोग पहिलो पटक सन् २०१३ मा देखिएको थियो । अहिले पूर्वदेखि पश्चिमसम्म फैलिरहेको छ । यो उपचार नहुने, मान्छेलाई सर्दैन । यो रोग लागेपछि माउ तुहिने सम्भावना हुन्छ । बच्चा जन्मायो भने पनि निमोनिया भएर बच्चा मर्ने सम्भावना हुन्छ । त्यसैले यो रोगबारे प्राविधिक, चिकित्सक सबैलाई जानकारी गराउनुपर्ने अवस्था छ । यो रोग लागेपछि ज्वरो आउने, छालामुनि रगत जम्ने, कान नीलो हुने, माउ तुहिने र बच्चामा श्वासप्रश्वास र निमोनिया हुने देखिन्छ । अहिले सबैभन्दा बढी यो रोग काठमाडौं, चितवन, रूपन्देही र झापामा देखिएको छ ।

यसको उपचारचाहिँ कति जटिल छ ?
विश्वमा जम्मा २ प्रजातिका भाइसरले यो रोग लागेको पाइएको छ । एउटा अमेरिकी स्ट्याण्डर्ड र अर्को युरोपेली स्ट्याण्डर्डको । यीमध्ये नेपालमा देखिएको रोग कुन प्रजातिको भाइसरबाट लाग्छ भन्ने मात्रै पत्ता लगाउन सकियो भने हामीले यो रोगको उपचार ल्याउन सक्छौं । यसको भ्याक्सिन वा खोप ल्याउन हामीले अनुसन्धान सुरु गर्ने भएका छौं । यो वर्षमा हामीले पीआरआरएसको भ्याक्सिन ल्याउन सकियो भने निकै ठूलो उपलब्धि हुने थियो ।

केन्द्रका तत्काल देखिएको समस्या के छ ?
खुमलटारमा यो ठाउँमा ०२२ मा बंगुर फार्म स्थापना गर्दा ताका यहाँ जंगल थियो । बस्ती कमै थियो । तर अहिले यहाँ मानिसको घना आवादि छ । आवादिको बीचमा बंगुर फार्म भएकाले त्यसलाई सार्न स्थानीयले दबाब दिइरहेका छन् । यसबारे पनि आवश्यक निणर्य लिनुपर्ने अवस्था छ ।