‘नन्दिनी एग्राेले केमिकलरहित अर्ग्यानिक दाना बनाउँछ’

उद्योगको स्थापना कहिले र कसरी भयो ?

यो उद्योगको स्थापना २०७१ सालमा भएको हो । पहिला पर्सरी गाविसमा पर्थ्याे । अहिले ओमसरी गाउँपालिकामा यो उद्योग रहेको छ । मेरो बुबालाई सुरुदेखि नै गाईभैंसीको सेवा गर्ने रुचि थियो । ५–६ वटा गाई हामीले पालेका पनि थियौं । गाई पाल्दापाल्दै गाईकै सेवा हुने दाना उद्योग खोल्ने सोच बुबाले बनाउनु भयो । हामीले पालेको मध्ये एउटा गाईको नाम नन्दिनी थियो । त्यो गाईले दूध पनि धेरै दिने र नामले बोलाउँदा सुन्ने पनि गर्थ्याे । त्यही गाईको नामबाट हामीले उद्योगको नाम राख्यौं । हाम्रो ब्राण्डको नाम पनि वञ्जुला छ । अधिक दूध दिने गाईलाई संस्कृत भाषामा वञ्जुला भनिन्छ । यसरी सेवा भावबाट हाम्रो उद्योग स्थापना भएको हो ।

उद्योगले के कस्ता पशुपन्छीका लागि दाना उत्पादन गरिरहनु भएको छ ?

हामीले गाईभैंसीको दाना उत्पादन गर्ने गरेका छौं । गाईभैंसीको दानाबाहेक कच्चा पदार्थ खरिदबिक्री पनि गर्ने गरेका छौं । मकै, पिना, ब्राण्ड जस्ता कच्चा पदार्थ बेच्ने पनि गरेका छौं । पहिला बंगुर र बाख्राको दाना उत्पादन गरेका थियौं । तर, दानाको उत्पादन लागत बढी पर्ने र किसानले प्रयोग गर्न कम गरेपछि हामीले त्यो दाना चाहिँ उत्पादन गर्न छोडेका छौं ।

यहाँको उद्योगले उत्पादन गर्ने दानाको ब्राण्ड कुन हो ?

हामीले दुई ब्राण्डका दाना उत्पादन गर्ने गरेका छौं । एउटा सिद्धार्थ क्याटल फिड छ । उक्त दाना धेरैजसो काठमाडौं र पोखरा जाने गर्छ । अर्को वञ्जुला पशु आहार भन्ने ब्राण्डमा उपादन गर्छौं । यो देशका विभन्नि भागमा पठाउने गरेका छौं ।

उद्योगको दैनिक उत्पादन क्षमता कति छ ?

हामीले दैनिक १५ टन दाना उत्पादन गर्छौं । दैनिक १२ देखि १५ टन नै यहाँबाट बिक्री पनि हुने गरेको छ । दाना बनाइसकेपछि त्यसलाई धेरै पुरानो बनाएर हामी राख्दैनौं । किसानले पनि लगेर १ देखि १० दिनसम्म प्रयोग गर्ने भएकोले जति बिक्री हुन्छ, त्यति नै परिमाणमा हामीले दैनिक दाना उत्पादन गर्दै आएका छौं । दानाको प्रयोग गर्ने म्याद नै उत्पादनको ४५ देखि ९० दिनसम्म मात्रै हुने भएकोले धेरै पुरानो दाना राख्न मिल्दैन ।

यहाँहरुको उत्पादनको मुख्य बजार कहाँ हो ?

हाम्रो उद्योगको दाना काठमाडौं, भैरहवा, बुटवल, पोखरा, चितवन, पूर्वमा विर्तामोडसम्म पनि जाने गरेको छ । पोखरामा चाहिँ आजभोलि खुवाउने बित्तिकै दूध झार्ने दानाको प्रयोग बढेको छ । ‘हाइ प्रोटिन’ दाना उत्पादन र प्रयोग बढेको छ पोखरामा । तर, हामी अग्र्यानिक दाना उत्पादन गर्छौं खुवाएको १०/१५ दिनमा दूध झार्ने । हामीले त्यस्तो उत्पादन दिन सक्दैनौं कि खुवाउने बित्तिकै दूधको खोला बगोस् । दूधको उत्पादन बढाउने त्यो अग्र्यानिक वा मौलिक तरिका पनि होइन । त्यसो हुँदा हामी त्यस्तो अभ्यासमा जाँदैनौं । अर्ग्यानिक दाना खुवाउन चाहने किसानका लागि हाम्रो उत्पादन राम्रो हुन्छ ।

दानाका लागि आवश्यक कच्चा पदार्थ कसरी व्यवस्थापन गर्नु भएको छ ?

हामीले चितवन र सुनसरीबाट मकै ल्याउने गरेका छौं । राइस ब्रान्ड इन्डियाबाट ल्याउँछौं । कहिलेकाहीँ नेपालको मकै नभएको बेला इन्डियाबाट पनि ल्याउनु पर्ने हुन्छ । नेपाल र इन्डिया दुबै देशको कच्चा पदार्थ प्रयोग गरिरहेका छौं ।

दानाको उत्पादन लागतको आधारमा यहाँहरुलाई मुनाफा कस्तो छ ?

मैले १० मा किनेर १२ मा बेच्दा २ रुपैयाँको नाफा त हुन्छ । तर, त्यसमा प्रोसेसिङ कस्ट बढी हुन्छ । धान उत्पादन हुने सिजनमा ब ्रान्ड सस्तोमा पाउने हुँदा ३/४ महिना अली राम्रो मुनाफा हुन्छ । तर, यो बेला किसानले पनि ब्राण्ड सस्तोमा पाउने हुँदा दानाको माग कम हुन्छ । तर, बाँकी ८ महिना दानाको माग बढ्छ । ब्रान्डको मूल्य बढी पर्ने भएकोले मुनाफा कम हुन्छ । यो मौसमी काम जस्तो भएको छ ।

कोभिड–१९ ले यहाँहरुको दाना उद्योगलाई कत्तिको असर गर्याे ?

कोभिड–१९ ले गर्दा हाम्रो उद्योगलाई भन्दा पनि दूध उत्पादक किसानलाई बढी असर गर्याे । दूध उत्पादन गरेर बिक्री गर्ने किसानलाई डेरीले दूधको भुक्तानी नै समयमा दिएनन् । समयमा पैसा नदिई कतिपय डेरी उद्योगले त पाउडर बनाएर किसालाई पाउडर नै फिर्ता गरेको पनि देखियो । यस्तो अवस्थामा किसानले पैसा नै पाएनन् । पैसा नभएपछि दाना उद्योगसँग दाना खरिद गर्ने क्षमता पनि घट्यो । यसरी ठूला डेरी उद्योगले किसानको बाध्यताको फाइदा उठाएर उनीहरुलाई समस्यामा पारेको पनि देखियो ।

उद्योगमा यहाँको लगानी कति छ र कति कर्मचारी कार्यरत हुनुहुन्छ ?

हाम्रो यो उद्योगमा कच्चा पदार्थ बाहेक २ करोड ५० लाखको लगानी छ । १५ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।

आगामी योजना के छ ?

हामी गाईभैंसी फार्मिङ, बाख्रा पालन र पोल्ट्रीमा पनि जाने सोच बनाएका छौं । तर, किसानले ६ महिना केमिकल बढी भएका वा हाइ प्रोटिन भएकै दाना खुवाएर दूध झारिहाल्ने र पछि गाईभैंसी दुब्लो भए वा बिरामी भए छोड्दिने वा बेच्दिने सोच राखेको देखिएको छ । यस्तो अवस्थामा कसरी फरक र अर्ग्यानिक तरिकाले फार्मिङ सकिन्छ भनेर हामी सोचिरहेका छौं ।

दाना उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नु पर्ने विषय के छन् ?

चामल मिलमा चामल निकालेपछि पोलिस ब्राण्ड किसानले किन्ने गर्छन ् । कुखुरा, बंगुर, गाईभैंसीलाई खुवाउने गर्छन् । त्यही पोलिस ब्रान्डलाई तेल निकालेर बचेको पदार्थ हामीले कच्चा पदार्थको रुपमा प्रयोग गर्छौं । यो नेपालमा उत्पादन हु ँदैन । कसैले गरे पनि यसको उत्पादन लागत बढी पर्ने भएकोले त्यो सम्भाव्य देखिँदैन । यसरी बाइ प्रडक्टको पनि बाइ प्रडक्टलाई भारतबाट आयात गर्दा १० प्रतिशत भन्सार महशुल लिने गरेको छ । चामल निकालेर बाँकी रहेको पोलिस ब्राण्ड, त्यसालाई पनि तेल निकालेर बाँकी रहेको पाउडरको चाहिँ १० प्रतिशत भन्सार कुनै पनि हिसाबले सही मान्न सकिँदैन । त्यसो हुँदा यो भन्सार दर हटाउनु पर्छ । नत्र नेपालमा तयारी दाना आयात गरेर बेच्नेले हामीले भन्दा सस्तोमा किसानलाई दाना दिन सक्ने अवस्था बन्छ ।

भेटेरिनरी डाक्टरकै निगरानीमा दाना बनाउनु पर्छ भनेर अहिले दाना उद्योगमा भेटेरिनरी डाक्टर राख्ने व्यवस्था गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको पाइएको छ । यसबारे यहाँको धारणा के हो ?

अहिलेकै अवस्थामा पनि हामीले भारतबाट आयात गर्ने कच्चा पदार्थको प्रयोगबारे भेटेरिनरी डाक्टर तथा विशेषज्ञसँग सल्लाह लिइरहेका छौं । अहिले दाना उत्पादन गर्न भारतका विशेषज्ञसँग सल्लाह लिइरहेका छौं । नेपालमा पनि हामीले स्थानीय भेटेरीनरी डाक्टरसँग सल्लाह गर्ने गरेका छौं । तर, यहाँ राम्रो ल्याब, अनुसन्धानको अभावमा प्राविधिक वा डाक्टरको पनि अनुभवन र योग्यतामा सीमितता छ । त्यसो हुँदा नेपालमा भेटेरिनरी क्षेत्रमा अझ राम्रो अनुसन्धान र अभ्यास गर्ने वातावरण बनाउनु आवश्यक छ । त्यसो भइसकेपछि दाना उद्योगमा भेटेरिनरी डा. राख्ने वा उहाँहरुको निगरानीमा मात्रै दाना बनाउने विषयलाई कान्र्यान्वयन गर्न सकिन्छ ।