पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी कार्यसमितिको दोस्रो अवधिवेशन सुरु

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबारबाट दाङको भालुवाङमा सुरु भएको छ । भालुवाङको होटल इभरल्याण्डमा सुरु भएको अधिवेशनले संघको नयाँ प्रदेश कार्यसमिति चयन गर्ने छ ।

अधिवेशनमा पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमले औषधि व्यवस्था विभाग, पशु सेवा विभागलगायत सरोकारवाला निकायमाgकर्मचारीको सुरुवा धेरै छिटो हुँदा व्यवसायीका धेरै काम अड्किएको बताए ।

‘हामीले हाम्रा समस्या बारे छलफल गरेर बुझाइ सकेर नीतिगत सम्बोधन गर्ने बेलामा विभाग वा ती निकायका प्रमुखको सरुवा भइहाल्छ, अनि नयाँ नेतृत्व आउँछ,’ उनले भने, ‘म अध्यक्ष भएर आएपछि औषधि व्यवस्था विभागमा ३ जना र पशु सेवा विभागमा २ जना नयाँ महानिर्देशक भइसक्नु भएको छ ।’

पसल दर्ता, नविकरण, वैकल्पिक व्यवसायीको व्यवस्था लगायत व्यवसायीका यावत् समस्या सम्बोधन गर्ने विषयमा संघको केन्द्रीय कार्यसमितिले निरन्तर काम गरिरहेको बताए । उनले संघलाई महासंघ बनाउने गरि अघि बढिरहेको समेत उनले बताए ।

‘जिल्ला शाखा र प्रदेश कार्य समितिले केन्द्रलाई यी पसल यो कारणले नवीकरण भएनन्, भनेर ल्याउनुस् नवीकरण गराउने जिम्मा हाम्रो हो,’ उनले भने, ‘कागजात नै पुगेको छैन वा कानुनअनुसार नै मिल्ने छैन भने त्यसका लागि भने समस्या हुन सक्छ । तर, व्यवसायीले नजानी गरेको गल्तिलाई सरकारले पनि लचकता अपनाएर कानुनी दायरामा समेट्न सक्नुपर्छ ।’

उनले प्रदेश र जिल्ला कार्यसमितिले केन्द्रले काम गरेन भनेर भन्नु भन्दा पनि केन्द्रीय कार्यसमितिको अंगको रुपमा रहेका जिल्ला र प्रेदश कार्यसमितिले पनि काम गर्न सघाउनु पर्ने उनले बताए ।’ केन्द्रको एक मात्र आयस्रोत भनेको लेबी नै भएकोले लेबी समयमै उठाएर पठाउने व्यवस्था गरे केन्द्रीय कार्यसमितिले समयमै धेरै काम गर्न सक्ने पनि उनले बताए । १ हजार ९ सय ३७ जना दर्ता भएका व्यवसायी संघमा आवद्ध रहेको भन्दै उनले व्यवसायीका समस्याबारे व्यापक छलफल गर्नु आवश्यक रहेको समेत उनले बताए ।

२० वर्षदेखि व्यवसायी संगठित भएर अघि बढेर ८ ओटासम्म अध्यक्ष फेर्दा पनि व्यवसायीका समस्या भने अझै धेरै बाँकी रहेको कार्यक्रममा व्यवसायीको गुनासो छ । आफ्नो व्यवसायलाई उकास्नकै लागि केन्द्रीय कार्यसमितिको नेतृत्व लिन व्यवसायीबीच प्रतिस्पर्धा हुने गरेको जस्तो देखिएको समेत प्रदेशका व्यवसायीको आरोप छ ।

पशुपन्छी औषधि व्यवसायी संघको निर्वाचनमा सांसदको निर्वाचनमा हुने गरेकै जस्तो ठूलो धनरासी खर्च गरेर नेतृत्वमा पुग्ने प्रवृत्तिकै कारण नेतृत्वले व्यवसायीको हितमा भन्दा आफ्नै हितमा काम गर्ने प्रचलन मौलाएको व्यवसायीको आरोप छ ।

अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय कार्यसमितिका पदाधिकारी, पदाधिकारी, प्रदेशका पदाधिकारीलगायत पशुपन्छी औषधि व्यवसायीको उपस्थिति रहेको थियो ।