पशुपन्छी औषधि व्यवसायी संघको ३० औं साधारणसभा सम्पन्न, भण्डारी र सापकाेटाले गरे आगामी केन्द्रीय अध्यक्षकाे उम्मेद्वारी घाेषणा

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार चितवनमा भएको संघका ३० औं वार्षिक साधारणसभा संघका सल्लाहाकार पूर्णचन्द्र सापकोटा र नवराज भण्डारीले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

सल्लाहाकार पूर्णचन्द्र सापकोटा यसअघि दुई पटक संघको अध्यक्ष पदमा पराजित भइसकेका छन् । धुलिखेल अधिवेशनमा उनि पूर्व अध्यक्ष हेमराज बडाल (ऋषि)सँग पराजित भएका हुन् भने विराटनगर अधिवेशनमा वर्तमान अध्यक्ष भूपेन्द्र गौतमसँग पराजित भएका हुन् । त्यस्तै, नवराज भण्डारी पनि  चित्रबहादुर गुरुङसँग पराजित भएका हुन् ।

पूर्णचन्द्र सापकाेटा र नवराज भण्डारी

अधिवेशनमा संघका अध्यक्ष भूपेन्द्र गौतमले पशुपन्छी औषधि व्यवसायी संघलाई महासंघ बनाउने तयारी भइरहेको बताए । पशुपन्छी औषधि व्यवसायीको संख्या र समस्या बढ्दै गएकोले त्यसको समाधानका लागि महासंघ बनाएर अघि बढ्न चाहेको उनले बताए ।

उनले नेपालमा १ हजार ९ सय ३७ पशुपन्छी औषधि व्यवसायी दर्ता भएको बताए । त्यस्तै, नेपालमा पशुपन्छी औषधि उत्पादन गर्ने कम्पनी १९ ओटा, आयात कर्ता १३५ ओटा रहेको र पशुपन्छी औषधिको वार्षिक बजार १० अर्बको हाराहारी रहेको जानकारी गराए । यो व्यवसायले २ लाख मानिसलाई प्रत्यक्ष परोक्ष रोजगारी दिएको पनि उनले जानकारी दिए ।

‘सरकारले यो व्यवसायमैत्री नीति ल्याउने र यो क्षेत्रको बजेट बढाएर अझ रोजगारीको संख्यामा वृद्धि हुने देखिएको छ,’ उनले भने, ‘यस वर्ष कोभिड–१९ महामारीका कारण कृषि तथा पशुपन्छी पालन क्षेत्रले क्षेत्र व्यहोरेसँग पशुपन्छी औषधि व्यवसायीलाई पनि धेरै घाटा भयो । धेरै औषधि डेट एक्सपायर भयो । समयमा उधारो नउठ्ने समस्या पनि भयो । पशुपन्छी व्यवसायसँय प्रत्यक्ष सरोकार राख्ने पोल्ट्री क्षेत्र धराशयी भएसँग पशुपन्छी औषधि व्यवसायमा घाटा लाग्यो । दुई जना पशुपन्छी औषधि व्यवसायी साथीहरुलाई गुमाउनु पर्याे ।’

संघमा आफू निर्वाचित भएर आएपछि औषधि व्यवस्था विभागसँग आग्रह गरी विलम्ब शुल्क छुट गराउन सकिएको बताए ।

‘तालिम, पसल दर्ता तथा नविकरणमा देखिएका समस्या समधान गर्न पशु सेवा विभागसँग र औषधि व्यवस्था विभागसँग पहल गरी सफल भएको छ,’ उनले भने, ‘आयात सिफारिस पत्रको म्याद कम्तीमा २ वर्ष बनाउन पशु सेवा विभागमार्फत कानुनी सुधारका लागि अघि बढाइएको छ । पशुपन्छी औषधिको अभाव पूरा गर्न औषधि व्यवस्था विभागसँग माग गरिएको छ । हेमराज बडाल नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य समितिको सदस्य भएकोमा बधाई दिन चाहन्छु ।’

कोभिड–१९ को महामारीपछि व्यवसायमा फर्किएका पशुपन्छी औषधि व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्नसमेत उनले आग्रह गरे ।

पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रीय समितिका सल्लाहाकार गोविन्द प्रसाद बस्यालले किराना तथा मदिरा पसलमा पनि पशुपन्छी औषधि पाइने अहिलेको व्यवस्था खारेज गरेर पशुपन्छी औषधि व्यवसायीले दर्ता गरेर चलाएको पसलमा मात्रै पशुपन्छी औषधि पाउने व्यवस्था गर्नुपर्ने बताए । ‘गरिब, किसान, निुमखा जनतासम्म हामी पुग्ने व्यवसायी हौं,’ उनले भने, ‘तर, यहाँ तालमेल नमिलेको देखिएको छ ।’

संघका पूर्व अध्यक्ष हेमराज बडाल (ऋषि)ले संघले व्यवसायलाई मर्यादित बनाउन काम गरिरहेको भन्दै अझ सक्रिय हुन आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष कम्पोज बडालले व्यवसायीको समस्या समाधान गर्न संघ लागिपरेको बताए । ‘संघ विशाल भएको छ । प्रदेश कार्यसमिति, शाखाहरु विस्तार भएका छन्, यो संख्याको सदस्य भएको संस्था नेपालमा ठूलै संगठन हो,’ उनले भने, ‘उद्योग वाणिज्य महासंघ, पोल्ट्री महासंघमार्फत हामीले आफ्ना आवाज देशभर पुर्याउन सकिन्छ । पसल दर्ता, नविकरणमा समस्या, तालिमको समस्या छ । वैकल्पिक व्यवसायीको समस्या समाधान गर्नुपर्छ । अत्यावश्यक औषधि दर्ता गर्ने, आयात सिफारिसको अवधि बढाउन पहल केन्द्रीय कार्यसमितिले गरिरहेको छ ।’

क्वारेन्टाइन सरकारले जारी गरेपछि फेरि २५ प्रतिशत औषधिलाई ल्याब टेष्ट गर्नै पर्ने व्यवस्था त्यति व्यवहारिक नभएकाे बताए । त्यस्तै वैदेशिक लगानी कृषि तथा पशुपन्छी क्षेत्रमा खोलेको विषयमा कार्यसमितिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले अहिले धेरै मानिस जम्मा हुन गाह्रो हुने भएकोले प्रतिनिधि साथीलाई बोलाएर प्रधिनिधिमार्फत यो साधारणसभा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

२०४७ साल पौषमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ विधिवत रुपमा दर्ता भएको हो ।