काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पशुपन्छीको औषधि तथा दाना उत्पादन गर्ने कम्पनीलाई पनि विद्युतकाे डिमान्ड शुल्क छुट दिने भएको छ ।
कोभिड–१९ का कारण समस्यामा परेका उद्योगलाई विद्युत्को डिमान्ड शुल्क, विद्युत् महशुल तथा खपत कम हुने समयमा भएको खपतलाई छुट दिने सरकारको नीति अनुसार प्राधिकरणले यस्तो छुट दिन लागेको हो ।
उत्पादनमूलक उद्योग वर्गमा पर्ने उद्योगले उक्त छुट पाउने सरकारको नीति अनुसार देशभरका ५८ किसिमका उत्पादन उद्योगले छुट पाउन लागेका हुन् । यस्ता उद्योग वर्गमा पशुपन्छीको औषधि तथा दाना बनाउने उद्योग समेत परेकोले यी छुट पाउने भएका हुन् ।
छुट पाउने उद्योगले २०७६ चैतदेखि २०७७ असारसम्मको डिमाण्ड शुल्क छुट पाउने भएका हुन् । त्यस्तै, विद्युत् खपत कम हुने समयमा विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगले विद्युत् महसुलमा सहुलियत पाउने प्राधिकरणले जनाएको छ ।