काठमाडाैं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्राडा बलराम भट्ट नियुक्त भएका हुन् ।
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनीसँगै प्राडा भूमिनन्दन देवकोटा र प्राडा केशव अधिकारीको नाम पनि उपकुलपतिले सिफारिस गरेका थिए । छनोट समितिबाट आएका नाममध्येबाट उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति भई काम गरिसकेका छन् ।
गएको माघ १२ गते प्राडा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए । रजिष्ट्रारकै अभावमा विश्वविद्यालय सभासमेत हुनसकेको छैन ।
यसैगरी विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एकजना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो । उपकुलपति रेग्मीले भट्टराई वन सङ्कायको डिनमा नियुक्त गरेका हुन् । छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो । भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए ।
सो सङ्काय हेटाैंडामा छ । यता विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको छ । यसअघि उपकुलपति रेग्मीले डिन, अनुसन्धान निर्देशकलगायतको नियुक्तीमा विधिसम्मत नगरी मनोमानी गरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले तालाबन्दी गरेका छन् । उनीहरुले उपकुलपतिको राजीनामाको माग समेत गरेका छन् ।