चितवन राष्ट्रिय निकुञ्जमा दुई अर्ना मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा अर्ना मृत भेटिएका छन् । निकुञ्जले अर्ना राखेकाे इन्क्लोजर भित्र बाघ पसेर आक्रमण गर्दा दुई वटा वयस्क अर्ना मृत भेटिएका हुन् ।

निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

विद्युतीय तारवार (इलेक्ट्रिक फेन्स) ले खुल्ला खोर बारिएको छ । उक्त बारमा रुखको हाँगा झरेर केही दबेको ठाउँबाट उफ्रेर बाघ भित्र प्रवेश गरेको अधिकारीले बताए ।

खोरभित्रै रहेको बाघलाई निकुञ्जका प्राविधिकहरुले नियन्त्रणमा लिएर निकुञ्जको भित्री (कोर) इलाकामा छाडेका छन् । सरकारले २०७३ सालको माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा कोशी टप्पु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट १५ अर्ना चितवन ल्याएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो ।

तीमध्ये ६ वटा अर्ना यसअघि नै मरेका थिए । स्थानान्तरण गरी चितवन ल्याएपछि हालसम्म ३ भाले, दुई पोथी र एक हालै जन्मिएको लिंग पहिचान नभएको गरी ६ वटा बच्चा जन्मिएका छन् । अब निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् ।

अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । संख्या बृद्धि गरी झुण्डमा हिँड्न थालेपछि भने बाघले आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने निकुञ्जको योजना छ ।