पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि

लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो ।

प्रदेशभित्र रहेका १०९ स्थानीय तहमध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट कार्य गरेको भन्दै गाउँपालिकाका अच्युत गौतमले आफ्नो पालिकालाई पुरस्कृत गर्न छनोट गरेको जानकारी दिए ।

उनले कृषि र पशुपालनबिना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताए ।

पाणिनि गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी वस्तु निर्यात गरिरहेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपथ्र्यो ।

यस वर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवालाई कृषिमा लगाउन झण्डै  तीन करोड रूपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष गौतमले बताए ।

यस वर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर पाँच रूपैयाँ अनुदानसमेत दिने भएको छ । गत वर्ष दूधमा प्रतिलिटर २.५५ रूपैयाँका दरले अनुदान दिएको थियो ।

गाउँपालिकामा १० डेरी र पाँच पोल्ट्रीफार्म सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा आठ लाख ६० हजार १ सय ३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रीफार्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ मा अष्ट्रेलियाबाट २५ वटा बोयर बाख्रा ल्याएको थियो । आफ्नो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लगोको गाउँपालिका अध्यक्ष गौतमले बताए ।

अहिले यहाँ २३ बोयर पाठापाठी हुर्केका छन् । पच्चीस किलोसम्मको तौल भएका पाठीको मूल्य एक लाख २० हजार र पाठाको मूल्य  एक लाख ५० हजार रूपैयाँ तथा २५ केजीभन्दा बढी तौल भएमा प्रतिकेजी थप तीन हजार रूपैयाँका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ ।

उत्पादन भएका बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको बीमा, दाना, औषधोपचार र खोर निर्माण खर्चसमेत शुरुका वर्ष पालिकाले दिँदै आएको छ ।