काठमाडौं– पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको छ । केही समयअघि प्रतिकेजी २ सय २० रुपैँयासम्म मूल्य पुगेको कुखुराको मासु अहिले बढेर ३ सय ४० सम्म पुगेको छ ।
कुखुरा उत्पादनमा नै कमी आउँदा मासुको मुल्य वृद्धि भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
संघका अध्यक्ष जंगबहादुर विसीका अनुसार बजारमा मासुको माग र खपत बढेकाले मूल्यमा वृद्धि आएको होइन । उत्पादन नै कम भएकाले मासुको मूल्यमा केही वृद्धि भएको उनले बताए ।
उनले भने, ‘अहिलेको मूल्यलाई खासै बढेको भन्न मिल्दैन । किनभने मासुको मूल्य ३ सय रुपैयाँभन्दा कम भयो भने किसानहरु जहिले पनि घाटामा हुन्छन् । पहिलेको भन्दा केही बढेको हो तर धेरै बढेको भने होइन ।’
दशैँको समयमा कृषकसँग धेरै कुखुरा थिए । ह्याचरी व्यवसायीले पनि चल्लाको मूल्य पाएका थिएनन् ।
अहिले उत्पादन नै कम भएका कारण मासुको मूल्यमा केही वृद्धि भएको हो । खपत बढेकैले मूल्य बढेको नभए पनि हाल विवाहको मौसम रहेकोले खपत केही बढेको भने देखिएको उनले बताए ।
जाडो महिना सुरु भएकाले अझै कुखुराको उत्पादनमा कमी आउन सक्छ । अझ जाडो बढ्दै जाँदा कुखुराका लागि आवश्यक तापक्रम किसानले मिलाउन नसक्ने भएकाले पनि कुखुराको तौल नबढ्ने र कुखुराको उत्पादनमा कमी आउन सक्ने उनको भनाई छ ।