तनहुँ । छाडा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको हो । नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल १३० भन्दा बढी गाई र तीनवटा गोरु छन् । नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि विसं २०७५ वैशाखदेखि गौ संरक्षण केन्द्र सञ्चालन भइरहेको छ ।
केन्द्रमा पशुचौपायको हेरचाहका लागि नगरपालिकाले दुई सहयोगी कर्मचारी राखेको छ । केन्द्रमा रहेका धेरैजसो गाई अशक्त अवस्थाका छन् । अति कमजोर अवस्थाका गाईलाई जिउँदै गिद्धले ठुँगेर मारिदिने गरेको केन्द्रका कोषाध्यक्ष भीष्म पौडेलले बताए । वर्षौंदेखि स्याहार नपाएका, दूध दिन छाडी थारा भएका, बूढा भएका गाई नै संरक्षण केन्द्रमा ल्याइने गरेकाले गाईहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको पौडेलले जानकारी दिए ।
“मर्नै लागेका गाई गाडीमा ल्याएर छाड्छन्, कतिले घिच्याउँदै ल्याएर छाड्छन्, त्यस्ता गाई गिद्धको नजरमा पर्छन्”, पौडेलले भने । कमजोर गाईलाई गिद्धले जिउँदै सताउने गरेको भए पनि मरेका गाईको व्यवस्थापनमा समेत गिद्ध सहयोगी बनिरहेको पौडेलको भनाइ छ । मरेका गाई घिसार्दै केही पर सेती नदीको भिरमा फालिदिने र गिद्धले खाने गरेको उहाँले बताए ।
“शुरु–शुरुमा खाल्डा खनेर गाड्ने गरेका थियौँ, ढुङ्गैढुङ्गा भएको जमिन भएकाले कर्मचारीले खाल्डो खन्न नसक्ने, डोजर भनेको समयमा नपाइने भएकाले गाईको शव गिद्धकै आहारा हुने गरेका छन्”, उनले भने । समय–समयमा समितिको बैठक नबस्दा केन्द्रलाई थप व्यवस्थित बनाउन नसकिएको कोषाध्यक्ष पौडेलले गुनासो गरे ।
छाडा गाईगोरुले बारम्बार खेती खाइदिँदा हैरान परेका स्थानीयवासी भने संरक्षण केन्द्र बनेपछि खुशी भएका छन् । गौ संरक्षण केन्द्र बनेपछि छाडा चौपायका कारण नगर क्षेत्रमा हुने सडक दुर्घटना घटेको केन्द्रका संयोजक गीता महतले जानकारी दिए ।