प्रदेश–२ की कृषि सचिव डा. काफ्लेमाथि भएकाे दुर्व्यवहारप्रति भेटेरिनरी एसोसिएशनको आपत्ति

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएकी सचिव डा. सम्झनाकुमारी काफ्लेलाई कार्यालयमा हाजिर गराउन बञ्चित गरिएको घटनाप्रति आपत्ति जनाएको छ । एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी यस्तो आपत्ति जनाएका हुन् ।

‘सरकारको निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २, जनकपुरको सचिव पदमा पदस्थापन हुनुभएका यस एशोसिएसन तथा नेपाल पशु चिकित्सा परिषद्का सदस्य डा. सम्झना कुमारी काफ्ले सम्वन्धित मन्त्रालयमा हाजिर हुन जाँदा मन्त्रालयका मन्त्रीको संलग्नतामा उहाँलाई हाजिर हुन नदिने प्रपञ्चसहित भएको अभद्र व्यवहारको यस एशोसिएसन घोर भर्त्सना गर्दछ,’ एसोसिएसनको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ– ‘सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित नेपालको संघियताकै खिलाफ हुने गरी प्रदेश सरकारको गरिमामय पद धारण गरेको व्यक्तिको निर्देशनमा भएका यस्ता अवान्छित गतिविधि प्रति प्रदेश नं. २ को सरकार र नेपाल सरकार मौन रहँदा संघीयता कार्यान्वयनमा जटिलता आउनुका साथै सबै राष्ट्रसेवक कर्मचारीको मनोवलमा नकरात्मक असर पर्ने देखिन्छ । वामे सर्दै गरेको संघीयता कार्यान्वयनमा नै चुनौती दिने यस्ता घटना प्रति मौन नवस्न र घटनाको सत्य तथ्य छानविन गरी यथाशिघ्र न्यायोचित निरुपण गर्न सम्वन्धित सरकारसँग जोडदार माग गर्दछौं ।’

जस्तोसुकै अवस्था आइपरे पनि उच्च मनोवलका साथ राष्ट्रसेवामा कटिवद्ध रहन एसोसिएशनले प्रदेश सचिव काफ्लेलाई सुझाएको छ ।