कुखुरा पालक किसानको हित रक्षार्थ आधा दशकदेखि तैनाथ एक सिपाहीको कथा

व्यक्तिगत स्वार्थ त्यागेर सामाजिक वा सामूहिक अधिकारका आवाज बोल्ने मानिस समाजमा भेट्टाउनै मुस्किल छ । व्यक्ति यति स्वार्थी भएको छ कि ‘म’ र ‘मेरो’ बाहेक ‘हाम्रो’ भन्ने सामूहिक भावना नै बिर्सिसकेको छ । तर, यति विध्न स्वार्थी बन्दै गएको हाम्रो समाजमा पनि अपवाद जस्ता लाग्ने केही व्यक्ति अझै भेटिँदारहेछन्, जो सामूहिक अधिकार प्राप्तिका कुरा बोल्छन् । समाजको अधिकार रक्षाका लागि ‘एक्लो सिपाही’ जस्तो निरन्तर अविराम लागिरहेका हुँदारहेछन् । वर्तमान समाजका असाध्यै दुर्लभ यस्तै पात्र मध्येका एक हुन्– विराटनगर–४ खार्जी ज्वाला टोलका बलराम थापा (५० प्लस) ।

कथामा पछि जाउँला पहिला उनको कुखुरा पालन व्यवसाय हेरौं–

२०७२ सालमा पोल्ट्री व्यवसायमा लाग्ने योजनाका साथ फार्म निर्माण गरे । ५ सय कुखुराका चल्ला किनेर हाले । दाना किनेर खुवाए । औषधि खुवाए । कुखुरा उत्पादन भयो । र बिक्री पनि गरे ।

उनले आफ्नो व्यवसायको लेखा यसरी तयार गरेका रहेछन्–

  • चल्ला– ३७,५००
  • दाना– १,२०,९७५
  • कामदारको पारिश्रमिक– १५,०००
  • औषधि– ३,८४५
  • भूसा–३,८८०
  • विजुली – १,७००
  • कुल लागत– १,८२,९००
  • ४५ दिन पालेपछि कुखुरा बेच्दाको आय– १,८४,३१०
  • मुनाफा= आय–कुल लागत (१,८४,३१०–१,८२,९००)=१,४१०

यसरी थापाको झण्डै ३ महिनाको मेहनत बालुवामा पानी जस्तै भयो । कुखुराबाट मुस्किलले लागत मात्रै उठ्यो । कानुनअनुसार २० प्रतिशतसम्म मुनाफा त आकाशको फल जस्तै, लगानी नै उठाउन मुस्किल भयो ।

थापाले नेपाल प्रहरीको जवानमा २०४४ सालमा जागिर सुरु गरेर असिस्टेन्ट सब इन्सपेक्टर पदमा पुगेपछि २०५९ सालमा स्वैच्छिक अवकाश लिएका थिए । जीवन निर्वाहका लागि वैदेशिक रोजगारीका लागि मलेसिया गए । फर्किएपछि फेरी साउदी अरब गए । ५० डिग्रीको चर्को गर्मीमा आउटडोर गार्डमा जागिर गरे । चरम दुःखपछि उनी देशमै केही व्यवसाय गर्ने र स्वराेजगार बन्ने साेचले फर्किए, कुखुरा पालन गर्न थाले ।

थापाकै शब्दमा पढौं उनको संघर्षको कथा – 

२०७२ सालबाट कुखुरा पालन सुरु गरेको हुँ । ३/४ लट चल्ला हुकाएर कुखुरा बेचेपछि म चल्ला तथा दाना डिलर मैले पाउनु पर्ने हिसाब माग्न गएँ । डिलरले नगद पैसा नदिएर मलाई चल्ला र दाना नै दिने कुरा गर्यो । पैसा दिन्न भन्यो । कुखुराको साटो फेरी कुखुरा र दाना नै लिनका लागि मैले कुखुरा पालन गरेको होइन भनेँ । मेरो परिबार चलाउन नगद पैसा चाहिन्छ भनेँ । तर, ऊ मान्न तयार भएन । त्यसपछि मैले किसान अधिकारका कुरा उठाउन र आफ्नो पैसा जसरी पनि लिने बताएँ । बल्ल तल्ल उसले मेरो ८६ हजार रुपैयाँजति बक्यौता नगद दियो । त्यहाँबाट मलाई थाहा भयो यो व्यवसायमा घाटा मात्रै होइन, यो त पूरै चल्ला, दाना उद्योगी व्यवसायी तथा सप्लायर्स, मासु व्यवसायीको एकाधिकारमा चलेको व्यवसाय रहेछ । यहाँ त ठूलो कार्टेलिङ रहेछ । उद्योगी तथा डिलरको शोषण मौलाएको व्यवसाय रहेछ । किसान त फगत आफ्नो हाड घोटिरहेका रहेछन् । यी सबै विषय मलाई जानकारी भएपछि त्यसै दिनदेखि म कुखुरा पालक किसानमाथि भइरहेको अन्याय र शोषणविरुद्ध बोलिरहेको छु ।

नेपालको मासु बजारलाई आत्मनिर्भर बनाउन, परनिर्भरता घटाउन, मुलुकको अर्थतन्त्रलाई सबल बनाउन, सरकारले ल्याएका नीति कार्यक्रमको लक्ष्य हासिल गर्न र अझ भन्ने हो भने निर्यातमुखि अर्थतन्त्र निर्माणका लागि सरकाराक सैद्धान्तिक भाषण र नीतिलाई कार्यान्वयन गर्न व्यवहारमा उतार्न हामी कुखुरा पालन व्यवसाय गरिरहेका छौं ।

विदेशबाट फर्किएका, देशभित्रै रहेका, अवसर नपाएका, जागिर खाएर अवकाश भएका र स्वरोजगार हुन चाहने युवा तथा प्रौढवजख हरु यसमा आफ्ना सुनचाँदी, जग्गा जमिन, घर धितोमा राखेर ऋण लिएर यो व्यवसायमा लागेका छन् ।
किसानलाई एकतावद्ध गर्न किसानको विचमा गएँ । धेरै किसान कुरा बुझ्नु हुन्न । बुझेकालाई संगठीत हुने फुर्सद छैन । मैले एक्लो प्रयासमा नेपालको सबैजसो राष्ट्रिय स्तर, क्षेत्रीय र स्थानीय स्तरका सञ्चार माध्यममा बोलेको छु । रेडियो, टेलिभिजन, पत्रिपत्रिका सबैजसो सञ्चार माध्यममा मैले आफ्ना विषयहरु राखेको छु । सबैजसो सञ्चार माध्यमका कृषि तथा पशुपन्छी बिटमा कलम चलाउनुहुने पत्रकार साथीहरुले मरो आवाज किसानसम्म पुर्याउन सहयोग गर्न भयो । सरकारले नियामकको भूमिका निर्वाह गर्न पुरै चुक्दा, किसान सचेत र संगठित नभइदिँदा पोल्ट्रीमा ह्याचरी, दाना, सप्लायर्स, मासु व्यापारी जस्ता ठूला उद्योगी व्यवसायीको एकाधिकार र कार्टेलिङ रोकिन सकेको छैन । वास्तविक, सोझा र साना अधिकांश किसान ठगिने क्रम रोकिएको छैन ।

साविकको (अहिले खारेजीमा परेको) पूर्वाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका प्रमुखलाई पूवाञ्चलका भारतसँग सीमा क्षेत्रमा प्रहरीसहित अनुगमनमा जाऊँ भनेको थिएँ । किनभने, सीमा क्षेत्रमा खोलिएका कुखुरा फारमले बदमासी गरिरहेका छन् भन्ने मलाई थाहा थियो । हुन्छ के भने सीमा क्षेत्रका कुखुरा फारम दिनभर खाली हुन्छ । तर, राती पारीका कुखुरा ल्याएर भरिन्छ । उज्यालो नहुँदा सीमा क्षेत्रका पोल्ट्री फार्महरु भारतीय कुखुरा ल्याएर भरिसक्ने र अँध्यारैमा ती फार्ममार्फत नेपालका सप्लायर्स वा ढुवानीकर्ताको गाडीमा हालेर नेपालका विभिन्न भागमा कुखुरा सप्लाई गर्ने गरिन्छ । भारतका कुखुरा नेपालको बजारमा बिहान नहुँदै छ्याप्छ्यापी भइसक्छ । यसको विरोध किसानले गर्न सक्दैनन, रोक्न पनि सक्दैनन् । किनभने, कुखुराका यी तस्करहरुले कटुवा पेस्तोलसमेत बोकेर हिँड्छन् र अनगमन गर्नेलाई वा उनीहरुको व्यवसायमा निगरानी गर्नेलाई हत्या नै पनि गर्न पछि पर्दैनन् भनेर डराउने गरेका छन् ।

यस्तो तस्करीमा नेपालका कुखुरा पालक, दाना व्यवसायी, मासु व्यवसायी, सप्लायर्स, डिलरजस्ता पक्षको मिलेमतो छ । तयारी कुखुरा मात्रै होइन, कुखुराको तयारी मासु, मरेका कुखुरा पनि ल्याउने गरिन्छ । यसरी भारतबाट तस्करी गरी ल्याएका कुखुरा फार्ममा मात्रै होइन, नेपालका कोल्ड स्टोरहरुमा पनि भरिन्छ । आफ्नो कोल्ड स्टोरमा जब ६ महिना धान्ने कुखुरा कोल्ड स्टोरहरुले संकलन गरिसक्छन् । अनि उत्पादन बढी भएको र कुखुरा बिक्री हुन नसकेको हल्ला चलाई नेपाली बजारको कुखरा समेत सस्तोमा किनिसक्छन् । यसरी कोल्डस्टोरहरुले किसानको खोर रित्ताइसकेपछि र आफूले स्टोर गरिसकेपछि फेरी आफ्ना चम्चाहरुलाई फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्चालमा कुखुराको मूल्य बढेको हल्ला चलाउन लगाइन्छ । त्यसपछि ठूला उद्योगी, कोल्डस्टोर दाना व्यवसायीले कुखुराको मासु महँगोमा बेच्छन् । महँगो मुल्य पाइने भयो भनेर किसानले खोर भाडामा लिएर समेत कुखुरा हाल्न थाल्छन् । फेरी बढी उत्पादन भएको हल्ला चलाएर ठूला उद्योले किसानको उत्पादनको कुखुराको मूल्य घटाउँछन् । बजारमा माग भन्दा बढी आपूर्ति हुन नदिन त माग कति हो र कति उत्पादन गर्नुपर्ने हो भनेर ह्याचरी, दाना उद्योगी, किसानका संगठनले बसेर निश्चित मापदण्ड बनाउन सकिन्छ । त्यसो गर्न कोही चाहँदैन ।

भारतबाट चल्ला, अण्डा, कुखुरा, कुखुराको मासु जस्ता उत्पादन ल्याउन कानुनले नै बन्देज गरेको छ भने किन आउँछ त भारतबाट यी सबै उत्पादन ? ठूला उद्योगी व्यापारीको कारणले यस्तो तस्करी मौलाएको छ । सरकारले तस्करीलाई संरचण गरेको छ । व्यवसायमा छिरेका साना किसान भने कुखुराको खोरमै आगो लगाएर आत्महत्या गर्ने अवस्थामा पुर्याइएको छ ।

साना चल्लाको एमआरपी, भारतबाट चोरी पैठारी, कोल्डस्टोरको अत्याचार, किसान विस्थापित हुने र फेरी कुखुरा पालन सुरु गर्ने चक्रबारे मन्त्रालयमा आएको केही समय भए पनि कृषि मन्त्री घनश्याम भूसाललाई पनि थाहा छ । उहाँले यी सबै विषयलाई निराकरण गर्ने गरी नयाँ नीति ल्याउने कुरा मन्त्री भएको केही समयपछि एउटा टेलिभिजनमा बोल्नु भएको थियो । तर, उहाँले पनि यो अवस्थामा परिवर्तन ल्याउन सक्नु भएको छैन ।

दाना र चल्लामा अनिवार्य एमआरपी हुनुपर्छ । चल्लाको वजट कार्टुनमा, दानाको तौल बोरामा प्रिन्ट हुनुपर्छ । उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति (एक्सपायरि डेट) उल्लेख हुनुपर्छ । दानामा मिसाइएका तत्व सबै उल्लेख भएको हुनुपर्छ । अहिले नेपालका कुनै एउटा किसानलाई कुखुराको दाना के के मिसाएर बनाइन्छ भनेर सोध्नुहोस् कसैले बताउन सक्दैनन् । यस्तो किसानले कुखुरा पालेर देशको अर्थतन्त्रलाई टेवा हुन अब गाह्रो छ ।

पशुपन्छीका प्राविधिक विज्ञहरुलाई सोध्दा ३० ग्राम भन्दा कम वजनको चल्ला छ भने त्यो लिएर पाल्नका लागि खोरमा नहाल्नु भन्ने सल्लाह दिनुहुन्छ । तर, आजसम्म नेपालका कोही किसानले ३० ग्रामसम्मका एउटा चल्ला पनि पाएका छैनन् । कहिलो कुरा कमजोर चल्ला, कमजोर दाना हुना साथ थोरै मात्र तलमाथि हुनासाथ कुखुरा मर्ने तौल नबढ्ने अवस्था आउँछ । यस्तो अवस्थामा किसानलाई लाभ कसरी हुन्छ ? ५ रुपैयाँको सामानमा ५० पैसा खर्च गरेर लेबल टाँस्न बाध्य पार्न सक्ने सरकारले ५० किलोको दानाको बोरामा ५० पैसाको लेबल बनाएर टाँस्न किन बाध्य पार्दैन जवाफ दिनुपर्छ ।

२०७२ सालमा एक केजी कुखुरा उत्पादन गर्न १ सय ९५ रुपैयाँ लागत परेको थियो । अहिले सबै कुराको मूल्य बढेकोले एक केजी मासु उत्पादन गर्न अहिले २ सय २० रुपैयाँ परिरहेको किसानको नै । तर, अहिले तयारी कुखुराको मूल्य सप्लायर्स तथा डिलरले किसानलाई प्रतिकिलो १४० देखि १७० रुपैयाँसम्म दिइरहेको छन् । यस्तो अवस्थाले किसान कसरी माथि उठ्न सक्छ ? यो सबैले बुझ्न सक्छन् । मूल्य तोक्ने पहिलो अधिकारी उत्पादकको हुनुपर्छ । त्यसको नियमन वा सन्तुलन गरिदिने काम सरकारको हुनुपर्छ । अनिमात्रै किसानलाई लाभ हुन सक्ला ।

पशुपन्छी बीमाअन्तर्गत गाइँको विमा हुन्छ, कुखुराको बीमा किन हुँदैन ? दाना र चल्लाको गुणस्तर राम्रो हुने हो भने बीमा पोलिसि जारी गर्न कम्पनीहरु डराउने थिएनन् । बीमा गरेपछि दाबी भुक्तानी दिन हिचकिचाउँदैन थे । सरकारले यसलाई नियन्त्रण गर्न सक्दैन । गुणस्तरहीन दाना, गुणस्तरहीन चल्ला, दर्ता नभएको औषधि बिक्री गरेको खुलेआम हामीले भेटे पनि प्रशासन नियामक निकायले कारवाही गनगरेको डामेर छोडेको साँढेलाई जस्तो छोडेको उदाहरण छन् मसँग ।

किसानलाई सुलीसँग रमाउने मात्रै होइन, आफ्नो अधिकार र कर्तव्यसमेत बुझ्न सक्ने बनाउनु राज्य, उद्योगी र व्यवसायीको पनि दायित्व हुनुपर्छ । यसका लागि मैले सरकारका धेरै कार्यालय र चेम्बरहरु, धेरै अधिकारी र मन्त्रीहरु, धेरै सञ्चार माध्यम र किसानको पुगेको छु । धेरैलाई ज्युहजुर गरेको छु । धेरैलाई नमस्कार टक्र्याएको छु । धेरैलाई ज्ञापन पत्र बुझाएको छु । राम्रा राम्रा मिठा मिठा आश्वासन पाएको छु । साहानुभूति पाएको छु । तर, व्यवहारमा कसैबाट कुनै सुधार पाएको छैन । किसानका हक अधिकारका लागि मैले गरेका यी सारा कामहरुलाई मैले सूचिबद्ध गरेको पनि छु ।

किसानलाई सचेत हुन पर्चा बनाएर सार्वजनिक यनातायात मार्फत मेचिदेखि महाकालीसम्म छरेको छु । सामाजिक सञ्जालमा फेसबुकमा लेखेको छु । किसानलाई सचेत हुन आग्रह गरेको छु । मेरो स्टाटर पढेर किसानहरु रुने गर्नुभएको छ । भक्तपुरका एक किसान ४० वर्षदेखि कुखुरा व्यवसायमै छन् । झन्पछि झन् दायित्वहरु सिर्जना हुँदै जाने डिलरले शोधभर्नामा चल्ला र दाना मात्रै दिइरहने गरेर ती किसन न कुखुरा पालन व्यवसायबाट उम्किन सक्नुभएको रहेछ, न त यो व्यवसायले आर्थिक रुपमा सम्पन्न नै बनाएको छ ।

अब कुखुरा पालक किसानहरुले उखु किसानको जस्तै काठमाडौंको माइतिघर मण्डला, खुलामञ्च टुँडिखेलमा भेला भएर प्रदर्शनमा नउत्रिएसम्म किसानको आवाज सुनुवाई हुने अवस्था रहेन । राजनीतिक डमिहरु खडा गरेर तस्कर र माफियाले सरकार चलाउँछन् भने यो अवस्थामा सुधार आउँदैन । त्यसो हुँदा कुखुरा पालक साना किसानसँग आन्दोलनको विकल्प नै रहेन । त्यसका लागि दह्रो तयारी पनि भइरहेको छ ।

यस्ताे छ थापाले हालसम्म गरेका कामकाे फेहरिस्त