बागमती प्रदेशका जिल्लामा संयुक्त सेवा कार्यालय स्थापनाकाे विपक्षमा पशुपन्छी औषधि व्यवसायी संघ

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले बागमती प्रदेशका जिल्लाहरुमा कृषि, पशुपन्छी र सहकारीसम्बन्धी सेवा संयुक्त कार्यालयबाट दिने तयारीको विरोध गरेको छ । प्रदेश सरकारले यी ३ क्षेत्रको सेवा प्रवाह गर्न जिल्लाहरुमा संयुक्त कार्यालय स्थापना गर्ने तयारी थालेपछि त्यस विरोधमा पशुपन्छी औषधि व्यवसायी संघले प्रेस विज्ञप्ती जारी गरेको छ । संघका महासचिव नारायण प्रसाद खनालले एक विज्ञप्ती जारी गर्दै उक्त तयारीको विरोध गरेको हो । विगतमा पनि यस किसिमको संयुक्त कार्यालय स्थापना गरी सेवा दिँदा त्यो प्रभावकारी नभएकोले विशिष्टिकृत कार्यालयमार्फत सेवा दिँदै आएकोले यही व्यवस्था कायम राख्नुपर्ने विज्ञप्तीमार्फत संघले आग्रह गरेको छ ।

यसअघि नेपाल ह्याचरी उद्योग संघ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपाल, नेपाल भेटेरिनरी एशोसिएशन, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एशोससिएशन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर बागमती प्रदेश सरकारको यो कदमको विरोध जनाइसकेका छन् ।

यी सहित पशुपन्छी क्षेत्रका ८ ओटा संगठनले एक ठाउँमा उभिएर प्रदेश सरकारको उक्त कदमको विरोध गरेका छन् ।