‘लकडाउन सुरु भएदेखि दैनिक १०० सामुदायिक कुकुरलाई खाना खुवाइरहेको छु’

–अनुपा कटवाल, पशु स्वास्थ्य सेवा प्राविधिक (पशु कल्याणवादी)

विगतदेखि नै म पशु स्वास्थ्य सेवामा क्रियाशील रहँदै आएको छु । पशु स्वास्थ्य सेवा प्राविधिक भएको नाताले यो मेरो पेशागत कर्म हो र धर्म पनि हो । विभिन्न संस्थामा कर्मचारीको रुपमा पनि मैले पशु स्वास्थ्य सेवा प्रवाहको काम पनि गरिरहेको थिएँ । पछिल्लो पटक एक वर्षअघि पशु कल्याणकारी संस्था स्नेहाज केयरमा पनि २ महिना काम गरेकाे थिएँ । कुनै न कुनै तरिकाले म पशु कल्याणकाे क्षेत्रमा म निरन्तर अाएकाे थिएँ ।

विश्वव्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा पर्यो । कोरोना भाइरस संक्रमण निण्न्त्रणका लागि सरकारले लकडाउन गर्ने घोषणा गर्यो । २०७७ चैत ११ बाट देशैभर कडा लकडाउन सुरु भयो । होटल, रेष्टुरेन्ट, भोजभतेर(पार्टी), सामुहिक खानाका ठूला मेसहरु, होस्टेल, विद्यालय, यातायात सबै सबै क्षेत्र ठप्प भए । मानवीय गतिविधि बन्द भए ।

यसले सबै क्षेत्र आक्रान्त भयो । विहानबेलुका मजुदरी गरेर हातमुख जोर्ने श्रमजीविहरु असाध्यै प्रभावित भए । यति हुँदा हुँदै पनि अशक्तबाहेकका मानिसले त कुनै उपाय अपनाएर आफ्ना खानाको जोहो गर्न सक्छ भन्ने लाग्छ । तर, होटल, रेष्टुरेन्ट, उद्योग, ठूलो पाटी, भोजभतेर जस्ता मानवीय गतिविधिबाट उत्पादन हुने खेर गएका खानाबाट आफ्नो ज्यान पालेका सामुदायिक कुकुरहरुको अवस्था साह्रै टीठ लाग्दो देखियो । सबै बन्द भएपछि खाना दिने मानिस समेत भएनन् । सामुदायिक कुकुरहरु खानापानी नपाएर यताउता छटपटाइरहेका थिए ।

सामुदायिक कुकुरको यस्तो दयनीय अवस्था देखेपछि मैले खाना खुवाउने निर्णय गरेँ । त्यसपछि २०७६ चैत २० गतेदेखि कुकुरलाई खाना खुवाउन थालेँ । त्यसो त पहिला पनि घर वरपरिका कुकुरलाई बिस्कुटलगायत खाना खुवाउने गरेको थिएँ । तर, लकडाउन सुरु भएपछि चाहिँ म बस्ने गरेको चोभार वरपरका सामुदायिक कुकुरलाई खाना खुवाउन थालेको थिएँ । दैनिक १ सय भन्दा बढी कुकुरलाई एक पटक खाना र पानी खुवाउने गरेको थिएँ । यस अवधिमा मैले चोभार, कीर्तिपुर, ट्याङ्लाफाँटलगायतका क्षेत्रका ५० भन्दा बढी कुकुरलाई रेविजविरुद्धको खोप (भ्याक्सिन) पनि लगाएको थिएँ ।

सामुदायिक कुकुरलाई खाना खुवाउने कार्यमा मलाई मेरा परिवार, आमा, बुबा, दाई, बहिनी र साथीहरुले पनि सहयोग गरेका थिए । दैनिक २० देखि २५ केजी चामल र ४ देखि ५ केजी कुखुराको मासु पकाएर खुवाउने गरेको थिएँ । मलाई ७ हजार रुपैयाँ डिसि नेपाल डट कम अनलाइनले दिएको थिए । साथीहरुबाट १ हजार गरी ८ हजार रुपैयाँ नगद प्राप्त भएको थियो । त्यसबाहेक कर्तीपुर नगरपालिकाले ३ बोरा चामल र व्यक्तिगत रुपमा एक जना दाइले ३ बोरा चामल सहयोग गर्नुभएको थियो । स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठ दिदिले सुरूमा एक बोरा चामल र १० किलो जति मासु सहयोग दिनु भएको थियो । त्यहीबाट मैले कुकुरलाई खाना खुवाउन सुरु गरेको थिएँ । चैत २० गतेदेखि खाना खुवाउन सुरु गरेकोमा साउन ६ गतेबाट लकडाउन खुले पनि मैले खाना खुवाइरहेको थिएँ । लकडाउन खुलेपछि कुकुरहरुका लागि केही सहज देखिए पनि खानाकाे साटाे बिस्कुट भने खुवाउँदै अाएकाे छु । मलाई यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी कल्याणकारी महानुभावहरुप्रति हृदयदेखि नै नमन छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले अहिले फेरी कडा लकडाउन गरेको छ । त्यसैले कुकुरलाई खाना खुवाउन पर्ने भएको छ । तर, अहिले कुखुराको मासुनै अभाव भएकोले कुकुरलाई खाना खुवाउन गाह्रो परिरहेको छ ।

पिपिआर प्राविधिक तालिम लिएर म यो क्षेत्रमा प्रवेश गरेको थिएँ । अहिले सामुदायिक तथा सहाराविहीन बनेका कुकुरलगायत पशुको कल्याणमा समर्पित छु । अर्काेतर्फ, चाेभार र भत्केपाटी २ ठाउँमा सञ्चालित बाल गृहका झण्डै ७० जना बालबालिकालार्इ मैले बेला बेला विभन्न सहयाेग गर्दै अाएकाे छु । यसरी म मानव कल्याणकाे भावले पनि लागिपरेकाे छु ।

तर, एक्लो प्रयासले लामो समयसम्म मानव तथा पशुकाे कल्याणमा पर्याप्त रूपमा सहयाेग नपुग्न सक्छ । त्यसो हुँदा दुःख पीडा र कष्टमा परेका आवाजविहीन निमुखा पशुपन्छी तथा सहाराविहीन बालबालिकाको सेवामा मैले संस्थागत रुपमै लाग्ने अठोट गरेकी छु । अर्थात् संस्था नै स्थापना गरेर अघि बढ्ने मेरो चाहना छ । तर, दया, माया गरी कसैको कल्याणका लागि पनि आर्थिक स्रोत महत्वपूर्ण हुँदो रहेछ । त्यसो हुँदा असहाय बालबालिका तथा निमुखा आवाजविहीन पशुपन्छीको कल्याण गर्न चाहनुहुने मनकारी, दानवीर महानुभावहरुको सहयोगको अपेक्षा छ । सहयाेग गर्न वा कुनै जिज्ञासा राख्न चाहनु हुने महानुभावले मेराे माेबाइल नम्बर ९८४९९३९९३३ वा ९८६०४६२३७८ मा सम्पर्क गर्न सक्नुहुने छ । मैले आफू एक्लैले गर्न सक्ने जति आर्थिक स्रोत मानव तथा पशुकल्याणमै लगाउने निधो गरेको छु ।