क्षेत्रपाटीमा भेटियो दुर्लभ बाज, पशु सेवा विभागका महानिर्देशक शर्माले लगाए चिडिया खानाको जिम्मा

काठमाडौं । काठमाडौं महानगरपालिकाको क्षेत्रपाटीमा एक दुर्लभ प्रजातिको बाज भेटिएको छ । पछिल्लो समय दुर्लभ मानिएको उक्त प्रजातिकाे बाज सोमबार साँझ क्षेत्रपाटीस्थिति महतो थरका एक व्यक्तिको घरमा आएर बसेको अवस्थामा फेला परेको हो । आफ्नो घरमा बाज आएर बसेपछि ती घरधनीले पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मालाई फोन गरी जानकारी गराएका थिए । सोमबार साँझ भेटिएको उक्त बाजलाई मंगलबार डा. शर्मा र ती घरधनीले सदर चिडिया खाना जावलाखेलको जिम्मा लगाएका छन् ।

‘सोमबार साँझ आफ्नो घरमा बाज भेटिएको खबर ती महतो थरका व्यक्तिले दिएपछि हामीले सदर चिडिया खानामा बुझाउने तयारी गरेका थियौं,’ डा. शर्माले भने, ‘साँझ परिसकेकोले सुरक्षित तरिकाले कार्टुनमा राख्न चिडिया खानाका अधिकारीले सुझाएपछि मंगलबार मात्रै चिडियाखानाका कर्मचारी गणेश कोइरालालाई जिम्मा लगाएका हौं ।’

उक्त बाज कसैले घरैमा पालिराखेको र फुत्केर आइपुगेको जस्तो देखिएको महानिर्देशक शर्माले बताए ।

‘यो निकै चलाख प्रजातिको पन्छी हो, विभिन्न चलचित्र र नाटकहरुमा पनि यो पन्छीलाई विभिन्न भूमिकामा देखाइने गरेको पाइन्छ,’ उनले भने, ‘भेटिएको उक्त बाजको खुट्टामा एउटा सानो ट्याग समेत रहेकोले यो घरमै पालिएको हो कि भन्ने मेरो अनुमान छ ।’