म्याद नाघेको खोप र अवैध औषधि बिक्री गर्ने अनुपमा भेटलाई कारवाही गर्न सिफारिस

काठमाडौं । म्याद नाघेको खोप(भ्याक्सिन) र औषधि बिक्री गर्ने अनुपमा भेटेरिनरीकाका सञ्चालकलाई कारवाही गर्न औषधि व्यवस्था कार्यालय मोरङलाई सिफारिस गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहाका वडा अध्यक्ष मुरारीलाल विश्वासले उक्त भेटेरिनरी पसलका सञ्चालकलाई कारवाही गर्न औषधि व्यवस्था कार्यालय विराटनगर मोरङलाई सिफारिस गरेका हुन् ।

उक्त भेटेरिनरी पसलले म्याद गुज्रेको भ्याक्सिन र नेपालमा दर्ता नै नभएका औषधि वडामा सिखाबोस साहले सञ्चालन गरेको पोल्ट्री फार्मका कुखुरालाई दिइएपछि १ हजार कुखुरा मरेका थिए । भेटेरिनरी पसलबाट औषधि खोप र औषधि लिएर गई म्याद नहेरी लगाइएको र कुखुरा मर्न थालेपछि ती खोप र औषधिको लेबल हेर्दा म्याद नाघेको (डेट एक्सपायर) औषधि भएको पाइएको ती कुखुरालाई खोप लगाउने तथा औषधि दिने पशु स्वास्थय प्राविधिक सञ्जय पराजुलीले समेत स्वीकार गरिसकेका छन् ।

म्याद नाघेको खोप र नेपालमा दर्ता नै नभएको अवैध औषधि बिक्री गरेको प्रमाणित भए अनुपमा वा जुनसुकै भेटेरिनरी औषधि पसल सञ्चालकलाई कारवाही गर्ने औषधि व्यवस्था कार्यालय मोरङका प्रमुख सञ्जिव कट्टेलले बताए । ‘बुढीगंगा गाउँपालिकाको वडा ७ मा सञ्चालित उक्त फार्मका कुखुरामा म्याद नाघेको भ्याक्सिन तथा अवैध औषधि प्रयोग भएको बारे वडा नं. ७ कार्यालयमार्फत हामीले फोनबाट जानकारी पाएका छौं,’ कार्यालय प्रमुख कट्टेलले भने, ‘सम्पूर्ण प्रक्रिया पूरा गरी आवश्यक व्यहोरा खुलाएर लिखित रुपमा हामीलाई उक्त विषयमा उजुरी प्राप्त भयो र सम्बन्धित भेटेरिनरी पसलले गल्ति गरेको पाइयो भने कारवाही गर्छौं ।’

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हाल जिल्लामा निषेधाज्ञा जारी भएकोले स्थिति अलि सहज भएपछि कारवाही प्रक्रिया अघि बढाउन सहज हुने उनले बताए । ‘यस विषयमा हामीले वडा कार्यालयलाई समेत जानकारी गराइसकेका छौं,’ उनले भने ।

यसअघि नै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले म्याद नाघेको औषधि र दर्ता विनाका औषधि बिक्री गर्नेलाई जन्मकैद र ३ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेकोले गल्ति प्रमाणित भए कारवाहीका लागि तयार रहेको बताएका थिए ।

यो न्युज पनि पढ्नुहोस् :

प्रतिबन्धित र म्याद नाघेका औषधि बेच्दै अनुपमा भेटेरिनरी, महानिर्देशक ढकाल भन्छन्– यस्ता क्रियाकलाप गर्नेलाई जन्म कैद हुन्छ