काठमाडौं । बागमती प्रदेश सरकारले कृषि, पशुपन्छी र सहकारीसम्बन्धी सेवा एकीकृत रुपमा प्रवाह गर्न जिल्लाहरुमा संयुक्त कार्यालय स्थापना गर्ने तयारी थालेपछि त्यसको व्यापक विरोध भइरहेको छ । प्रदेश सरकारको यस्तो तयारीप्रति खास गरी पशुपन्छी क्षेत्रका पेशागत तथा व्यवसायीक संगठनहरुले विरोध जनाइरहेका छन् । यसरी संयुक्त कार्यालय स्थापना गर्दा सेवा प्रवाह संकुचित हुने उनीहरुको भनाइ छ । नेपालको पशुपन्छी क्षेत्रमा लगानी विस्तार हुँदै गइरहेको, पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको, रोजगारी सिर्जना र समग्रतामा देशकै कुल गार्हस्थ्य उत्पादमा यो क्षेत्रको महत्वपूर्ण योगदान दिँदै आएकोले यस क्षेत्रको सेवा प्रवाहलाई खुम्च्याउनु नहुने उनीहरुको भनाइ छ । विगतमा कृषि र पशुपन्छी क्षेत्रको संयुक्त कार्यालयबाटै सेवा प्रवाह भएको तर प्रभावकारी हुन नसकेपछि विशिष्टीकृत रुपमा सेवा प्रवाह थालिएकोले विगतकै गलत अभ्यासमा नजान उनीहरुले बागमती प्रदेश सरकारलाई सचेत समेत गराएका छन् । कृषि र पशुपन्छी क्षेत्र दुबै फरक र प्राविधिक क्षेत्र भएकोले संयुक्त कार्यालयबाट सेवा प्रवाह हुँदा अझ जटिता थपिने उनीहरुको भनाई छ । नेपाल ह्याचरी उद्योग संघ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी प्रदेश सरकारको उक्त कदमको विरोध गरेका हुन् । यसअघि नै नेपाल भेटेरिनरी एशोसिएशन, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एशोससिएशन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) विज्ञप्ती जारी गरेर बागमती प्रदेश सरकारको यस कदमको विरोध जनाइसकेका छन् ।
यो पनि पढ्नुहोस्
कृषि, पशुपन्छी र सहकारीकाे संयुक्त सेवा कार्यालय स्थापनाको तयारीप्रति ३ संगठनको कडा आपत्ति