कृषि, पशुपन्छी र सहकारीकाे संयुक्त सेवा कार्यालय स्थापनाको तयारीप्रति ३ संगठनको कडा आपत्ति

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि, पशुपन्छी र सहकारीसम्बन्धी सेवा प्रवाह गर्ने जिल्लाहरुमा एकीकृत कार्यालय स्थापना गर्ने तयारी थालेपछि त्यसको व्यापक विरोध सुरु भएको छ । प्रदेश सरकारको यस्तो तयारीप्रति खास गरी पशुपन्छी क्षेत्रका पेशागत तथा व्यवसायीक संगठनहरुले विरोध जनाइरहेका छन् । यसरी संयुक्त कार्यालय स्थापना गर्दा सेवा प्रवाह संकुचित हुने उनीहरुको भनाइ छ ।

नेपाल भेटेरिनरी एशोसिएशनले कृषि र पशुपनछीसम्बन्धी सेवा प्रवाह गर्न जिल्लामा संयुक्त कार्यालय सञ्चालनको अभ्यास असफल भइसकेकाले फेरि असफल भइसकेको व्यवस्था अवलम्बन गर्नु उचित नहुने जनाएको छ । एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै कृषि र भेटेरिनरी आफैंमा छुट्टाछुट्टै वैज्ञानिक विषय भएकोले संयुक्त कार्यालय स्थापना गर्न नहुने जनाएका छन् । संयुक्त कार्यालय स्थापनाले सरकारलाई कार्यालय सञ्चालको केही आर्थिक भार कम भए पनि सेवा प्रवाह संकुचित गराउने एशोसिएशनको भनाइ छ ।

त्यस्तै, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एशोससिएशनले पनि असफल भइसकेको व्यवस्था अवलम्बन गरेर कृषि र पशुपन्छी क्षेत्रको सेवा प्रवाहलाई संकुचित बनाउनु नहुने जनाएको छ । एशोसिएशनले एकीकृत रुपमा सञ्चालन हुन नसकेकैले छुट्टयाइको भन्दै फेरि त्यसतर्फ फर्कन नहुने जनाएको छ ।

त्यसैगरी नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले पनि एक विज्ञप्ती जारी गर्दै एकीकृत कार्यालय स्थापना हुने सेवा प्रवाह खुम्चिने भन्दै आपत्ति जनाएको छ । नेपाल पशुपन्छी पालन तथा पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएकोले र कोभिड–१९ को प्रवभामा पनि युवा रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र पशुपन्छी क्षेत्र भएकोले यसको सेवा प्रवाह खुम्च्याउनु नहुने जनाएको छ । संघका अध्यक्ष जनक रावलले एक विज्ञप्ती जारी गर्दै यो कदमबाट सरकार पछि हट्नुपर्ने जनाएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई गाभेर संयुक्त कार्यालय स्थापना गर्ने गृहकार्य प्रदेश सरकारले गरिरहेको छ । बागमती प्रदेशका १३ ओटै जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना गर्ने विषयमा हाल प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

बागमती प्रदेश सरकारका कृषि सचिव भन्छन्– ‘निर्णय भइसकेको छैन’

बागमती प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयका सचिव योगेन्द्र कार्कीले एकीकृत रुपमा सेवा प्रवाह गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई गाभेर संयुक्त कार्यलय स्थापनाको गृह कार्य थाल्न आफूहरुलाई प्रदेश सरकारबाट निर्देशन प्राप्त भएको बताए ।

‘निर्णय भइसकेको छैन,’ उनले भने, ‘विज्ञ परामर्सदाताबाट प्राप्त सुझावका अाधारमा सरकारबाट संयुक्त कार्यालय स्थापनाका लागि हामीलाई निर्देशन प्राप्त भएको छ । हामी निर्णय कार्यान्वयनको चरणमा छौं । विशिष्टिकृत रूपमा भइरहेकाे सेवा प्रवाहलार्इ एकीकृत गर्दा के घाटा वा लाभ हुन्छ भनेर हामीले जवाफ दिने हाेइन, सरकारले बनाएकाे नीति र दिएकाे निर्देशन कार्यान्वयन गर्ने हाम्राे दायित्व हाे ।’

यस्ता छन् विज्ञप्ती: