आसाममा बाढीमा डुबेर ८ एकसिङ्गे गैँडाको मृत्यु

आसाम । उत्तरपूर्वी भारतमा रहेको एक राष्ट्रिय निकुञ्जमा बाढीका कारण दुर्लभ ८ एकसिङ्गे गैँडासहित १०० भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ ।

आसामको काजिरङ्गा निकुञ्जको बाढीका कारण ८५ प्रतिशत भूभाग पानीमा डुबेको अधिकारीहरुले जानकारी दिएका छन् ।

द हिन्दुस्तान टाइम्सका अनुसार यो मनसुनमा आठवटा गैँडा पानीमा डुबेर मरेका र गत महिना प्राकृतिक कारणले एउटा गैँडा मरेको छ ।

त्यहाँ हरिण, अर्ना, दुम्सीजस्ता दर्जनौँ अन्य जनावरहरू पनि पानीमा डुबेका र पानीबाट बच्न सुरक्षित स्थानतर्फ जानलाग्दा गाडीको ठक्करबाट मरेका बताइएको छ ।

कम्तीमा २ हजार ४ सय एकसिङ्गे गैँडा रहेको काजिरङ्गा निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । बीबीसी