जाँड खाएर कार्यालयमै नाच्ने कर्मचारीलाई स्पष्टिकरण सोधिसकेँ : मन्त्री लामा

काठमाडौं । मदिरा सेवन गरेर कार्यालयभित्रै नाचेर होहल्ला गरी अर्मादित क्रियाकलाप गर्ने ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीसँग बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लिखित स्पष्टिकरण माग गरेको छ । कार्यालयभित्रै मदिरा सेवन गरी अमर्यादित तरिकारले नाचेको भिडियो सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको भोलिपल्टै उक्त कार्यमा संलग्न कर्मचारीसँग लिखित स्पष्टिकरण माग गरिएको मन्त्री दावा दोर्जे लामाले भेटखबरसँग बताएका छन् ।

‘जाँड खाएर कार्यालयभित्रै नाचेर होहल्ला गर्ने कर्मचारीलाई यो के गतिविधि हो भनेर लिखित रुपमा स्पष्टिकरण माग गर्नु भनेर मैले सचिवलाई निर्देशन दिएको थिएँ,’ उनले भने, ‘सचिवले पनि स्पष्टिकरण मागिसकेका छन्, लिखित जवाफ पनि आइसकेको छ । त्यो हेर्न बाँकी छ ।’ भिडियोमा उक्त कार्यालयका कर्मचारीको गतिविधि मर्यादित नदेखिएको उनले बताए ।

मन्त्रालयका सचिव याेगेन्द्र कार्कीले पनि उक्त क्रियाकलापमा संलग्न कर्मचारीहरूकाे लिखित स्पष्टिकरण अाइसकेकाे बताए । ‘स्पष्टिकरण चित्त बुभ्दाे नभए निजामती सेवा एेनअनुसार कारवाही अगाडि बढ्छ,’ उनले भने ।

कोरोना कहरले देशको अर्थतन्त्र नै थलिएको बेला सरकारले घोषितरूपमै अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको छ । तर, उक्त केन्द्रका कर्मचारीले भने आर्थिक वर्ष सकिने केही दिन बाँकी रहेको अवसरमै असार २७ गते शनिबार कार्यालयमै मदिरासहितको विशेष भोज आयोजना गरी नाचगानमा मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

कार्यालयका प्रमुख डा. नारायण बहादुर श्रेष्ठले आयोजना गरेको उक्त भोजमा बुढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजी बहादुर श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. अर्जुन पण्डित समेतलाई भिडियोमा देख्न सकिन्छ । केन्द्रकै एक कर्मचारीका अनुसार उनीहरुले सिसाको गिलासमा बियर भरेर पिएका थिए । केही समयको मदिरापानपछि कार्यालय प्रमुख श्रेष्ठकै आग्रहमा नाच्नको लागि डा. रामप्रसाद प्रधानको टोली तयार भएका थिए । विज्ञ केन्द्रको हलमा मदिरा सहित दिउसै नाचगानमा कर्मचारी मस्त भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत सेयर गरिएको छ ।

थप समाचार र भिडियाे हेर्नुहाेस् :

असार मसान्तमा कर्मचारीको कार्यलयमै मदिरा भोज (भिडियो सहित)