नेपालका कुखुरा पालक व्यवसायी (किसान) हरुले उत्पादन गरेको कुखुराको उचित मूल्य नपाएको बताइरहेका छन् । चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगहरुले चल्लाको मूल्य बढाएको उनीहरुको भनाइ छ । अण्डा र चल्ला समेत नष्ट गरेर ह्याचरी उद्योग सञ्चालकहरुले चल्लाको कृत्रिम अभाव खडा गरी कार्टेलिङमार्फत मूल्य बढाएको उनीहरुको भनाइ छ । त्यस्तै, दाना उद्योगीहरुले पनि कुखुरा पालक किसानलाई घाटा हुने गरी मूल्य बढाएको उनीहरुको भनाइ छ । आफूहरुले उत्पादन गरेको जिउँदो कुखुराको मूल्यसमेत मासु व्यवसायीहरुले तोक्ने गरेकोले आफूले आफ्नो उत्पादनको मूल्यसमेत र ाख्न नपाई लागत मूल्यसमेत नउठ्ने अवस्थामा घाटा सहेर कुखुरा बेच्नु परिरहेको उनीहरुले बताएका छन् । अर्कातर्फ कुखुराको मासु सेवन गर्ने आम उपभोक्ताले समेत ह्याचरी उद्योगहरुले अण्डा तथा चल्ला नष्ट गरेर कुखुराको मूल्य बढाएकोले मासुको मूल्य महँगिएर मारमा परेको बताएका छन् । तर, यस्तो समस्या आफ्नो कारणले भएको भनेर स्वीकार्न कुनै पक्ष पनि तयार छैनन् । यस्तो अवस्था किन सिर्जना भयो ? खासमा के हो कुखुराको मासुको मूल्य बढ्नुको कारण ? के कुखुरा पालक किसान व्यवसायी साँच्चै मार्कामै परेका हुन् त ? यिनै जिज्ञासाबारे जान्न भेटटाइम्सले सरोकारवाला तीन ओटै पक्षको धारणा मागेको थियो । प्रस्तुत छ सरोकारवाला पक्षको विचार :
निरन्तरको घाटाले घरायशी भएर ३०० मध्ये १०० ह्याचरी उद्योग बन्द भइसके
टीकाराम पोखरेल
अध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ
ह्याचरी उद्योग संघले चल्लाको मूल्य राख्दैन । संघलाई मूल्य तोक्ने अधिकार नै छैन । त्यसो हुँदा मूल्यमा कार्टेलिङ भयो भनेर भन्ने मिल्ने आधार छैन । कार्टेलिङको कुरै आएन । गत वर्षसम्म ३ सय ८ ओटा ह्याचरी उद्योग सञ्चालनमा थिए । तर, निरन्तर घाटा खानुपरेपछि ती मध्ये एक सय उद्योग बन्द भएका छन् । दुई सय उद्योग मात्रै अहिले सञ्चालनमा छन् । अहिले एउटा चल्ला उत्पादनका लागि ह्याचरी उद्योगको लागत ५५ रुपैयाँभन्दा बढी पर्छ । यो लागत मूल्य जसले पनि हिसाब गरेर निकाल्न सक्नुहुन्छ । नभए हामीले सहयोग गर्न सक्छौं । अहिले चल्लाको प्रतिगोटा मूल्य ५५ रुपैयाँदेखि ६० रुपैयाँ पर्छ । त्यही पनि मूल्य सबैको एकै किसिमको छैन । उद्योगहरु नै एक अर्काका प्रतिस्पर्धी भएकाले मूल्य फरक छ । काठमाडौंमा डिलरलाई १० रुपैयाँ कमिसन दिने गरिएको छ । त्यसो हुँदा काठमाडौंमा ६० मा बेच्यो भने ५० रुपैयाँ हामीले पाउने हो । चितवनमा भने कमिशनको व्यवस्था छैन । पोखरा, चितवन, काठमाडौं सबै आफैं मूल्य राख्न स्वतन्त्र छन् । यो सागको मूल्य जस्तो टिपेर बारीमा लानेबित्तिकै ५० रुपैयाँ मुठामा बिक्छ । ओइलाउँदै गएपछि मूल्य घट्छ अनि २० रुपैयाँमा पनि बेचिन्छ । कुखुराको मासुको भाउ त उहाँहरुले नै राखेर बेच्न सक्नुहुन्छ । कुखुराको मूल्य नआउनुको मूख्य कारण त भारतीय कुखुरा, कुखुराको मासु, अण्डा जस्ता उत्पादन हुन् । भारतीय कुखुरा हामीले
५ गाडी गाड्यौं । सिराहामा पनि आजै हामीले कुखुरा समात्यौं । पथलैयामा समातेका छौं । तर, किसानलाई मार परेको र आफूलाई किसान भन्दै वाणिज्य विभागमा ज्ञापन पत्र बुझाउन गएकाहरु दलाल हुन् । ज्ञापन पत्र बुझाउन जाने मध्येका केही कोल्डस्टोर सञ्चालन गर्नेहरु छन् । सस्तोमा चल्ला लिएर महँगोमा बेच्नुहुन्छ । त्यसकारण यो सबै नेपाली व्यवसायीलाई ध्वस्त बनाएर भारतीय कुखुरा र चल्ला ल्याउने खेल हो । हो, हामीले अण्डा नष्ट गरेका हौं । गएको एक वर्षदेखि बिक्री नभएको अण्डा र चल्ला ७२ घण्टाभन्दा बढी समय बिक्री भएन भने गाड्ने गर्दै आएका छौं । यस पटक भने हामीले मिडियालाई बोलाएर हामी समस्यामा छौं भनेर बुझाउन अण्डा चल्ला गाडेका हौं । यसपटक घोषणा नै गरेर नष्ट गर्नुको कारण भनेको पत्रकारहरुले लेखुन्, सरकारले देखोस्, समस्याबारे सरकारको कानमा बतास लागोस् भनेर हो । हामीले घोषणा नै गरेर चल्लाअण्डा नष्ट गरेका हौं ।
अहिले कच्चा पदार्थको मूल्य घटेकोले दानाको मूल्य प्रतिबोरा १०० रुपैयाँ घटिसक्यो
रविन पुरी
अध्यक्ष, नेपाल दाना उद्योग संघ
आफूहरुलाई मर्का प¥यो भन्दै विष्णु खड्का जीहरु आफूलाई किसान भनेर वाणिज्य विभागमा जानु भएको छ । हामी पनि वाणिज्य विभागमा गएका थियौं । दानाको भाउ हाम्रो संघले तोकेको छैन । किनभने हरेक कम्पनीले उत्पादन गर्ने दानाको मूल्य
फरक फरक छ । एउटै ठाउँमा चितवनमै सञ्चालनमा रहेका उद्योगहरुले पनि दानाको भाउ फरक फरक तोकेका छन् । कच्चा पदार्थको खरिद मूल्य वा लागतका आधारमा आआफ्नो मूल्य आफैले राखेका हुन्छन् । कच्चा पदार्थको मूल्य बढ्दा दानाको पनि
मूल्य बढ्छ र घट्दा घट्छ । त्यसो हुँदा संघले मूल्य तोकेर कार्टेलिङ गर्यो भन्ने गलत आरोप मात्रै हो । ह्याचरी संघले पनि चल्लाको मूल्य सबैतिर एउटै हुने गरी तोकेको छैन । सबै व्यवसायी एकअर्काका प्रतिपर्धी भएकोले सकेसम्म कम मूल्यमा आफ्नो उत्पादन
बजार पु¥याउँदा नै ह्याचरी वा दाना व्यवसायीलाई फाइदा हुने हो । दाना बनाउन आवश्यक मकै मध्ये ७० प्रतिशत मकै विदेशबाट नै आयात गर्नुपरेको अवस्था छ । त्यस्तै भटमासको पिना शतप्रतिशत नै विदेशबाट ल्याइने गरिएको छ । भारतबाट मकै र अमेरिकाबाट भटमासको पिना ल्याउने गरिएको छ । यी कच्चा पदार्थको मूल्य कति पर्छ भन्ने कुखुरा पालक किसानले पनि बझ्न सक्नुहुन्छ । उत्पादन भएको कुखुराको मूल्य भने बजारले निर्धारण गर्छ । किनभने कुखुराको माग र आपूर्तिबीचको सन्तुलन वा असन्तुलनले मूल्य बढ्न र घट्न सहयोग गरेको हुन्छ । जस्तो कुखुरा पालेको ४०/४२ दिनपछि बजारमा उपभोगका लागि पठाउनु पर्ने बाध्यता हुन्छ । किनभने त्यसभन्दा पछिसम्म कुखुरा पाले त्यसले बढी दाना खाने, मर्ने जस्ता समस्या देखिन्छ । त्यस्तो
जोखिमलाई कम गर्न बेचिहाल्नु पर्ने हुन्छ । यसरी कुखुरा बेच्नुपर्दा बजारमा कुखुराको आपूर्ति बढी भएको बेला प¥यो वा माग कम भएको बेला पर्यो भने मूल्य कम हुन्छ । कुखुराको आपूर्ति कम भएको बेला भयो भने मूल्य बढ्छ । दाल चामल जस्तो भए
पो स्टोर गरेर राख्न मिल्छ । गोलभेडा जस्तै उत्पादन हो । यो त बजारमा पठाइहाल्नु पर्ने हुन्छ ।
विगत १४ महिनादेखि चल्लाको लागत मूल्य पनि नउठेपछि ह्याचरी उद्योगहरुले १० दिन भित्र सेटर को अण्डा निकालेर फालेर चिकेन होलिडे गरेका हुन् उद्योगहरुले पहिला पनि चल्ला नबिकेपछि फाल्ने नै गरिएको थियो । तर, २ सय ७० रुपैयाँ कुखुराको मासुको भाउ रहेकोबेला अण्डा फालेर सबैलाई जानकारी दिएर होलिडे गर्दा १० दिनपछि कुखुराको मासुको भाउ बढेकोले सबैलाई थाहा भएको मात्रै हो । दानाकै कुरा गर्नुपर्दा अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य घटिरहेको छ । कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण दाना बनाउने यी कच्चा सामग्रीको मूल्य घटेको हो । १० दिन अघिदेखि प्रतिबोरा एक सय रुपैयाँका दरले दानाको मूल्य घटिसकेको छ । अब अझै घट्दै जान्छ । यसले कुखुरा पालक किसानलाई राहत दिन सक्छ ।
कार्टेलिङमा संलग्न ह्याचरी उद्योग संघ, पोल्ट्री महासंघलगायतलाई कारवाही गर्नुपर्छ
माधव तिमल्सिना
अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मञ्च
ह्याच होलिडेको नाममा ह्याचरी उद्योग संघ, पोल्ट्री व्यवसायी महासंघले चल्ला र अण्डा नष्ट गरे । यसरी उनीहरुले क्रमबद्ध रुपमा मासुको मूल्य बढाउँदै लगे । यसबाट किसान सन्तुष्ट छैनन् । उपभोक्ताले पनि कुखुराको मासुको मूल्य बढी तिर्नुपरिरहेको छ ।
यो कार्टेलिङ हो । ह्याचरी उद्योग संघ र पोल्ट्री व्यवसायी महासंघले कार्टेलिङ गरे । यस्तो कार्टेलिङ गर्न नेपालको कानुनले निषेध गरेकोले कार्टेलिङमा संलग्न व्यवसायीक सँगठनका पदाधिकारीलाई कारवाही गरियोस् भनेर मैले चाहिँ संस्थागत रुपमा वाणिज्य, आपूर्ति, उपभोक्ता हित संरक्षण विभागसँग माग गरेको छु । संघले मूल्य तोक्नु भनेकै कार्टेलिङ हो । संयुक्त बजार अनुगमन निर्देशिका २०६९ र उपभोक्ता संरक्षण ऐन २०७५ ले मूल्यको अनुगमन गर्ने, नियमन गर्ने, विश्लेषण गर्ने र निर्धारण गर्ने संयन्त्र सरकारसँग हुनुपर्छ भन्ने व्यवस्था गरेको छ । तर, यस्तो विषयलाई नियमन गर्न सरकारसँग अहिले कुनै संयन्त्र नै छैन । खास गरी व्यवसायीको लागत मूल्य कति हो र कति मूल्यमा बेच्दा उनीहरुलाई मुनाफा पनि बस्छ भन्ने वा मूल्य तोक्ने निकाय नै छैन । यसको फाइदा अमुक व्यवसायीले उठाइरहेका छन् । यस विषयमा हाल विशेषगरी पशु सेवा विभाग, वाणिज्य, आपूर्ति, उपभोक्ता हित संरक्षण विभागलगायतका निकायहरुले अनुगमन गर्नुपर्ने हो । दिएको अधिकार प्रयोग गरी नियमन र कारवाही गर्नुपर्ने हो । तर, विडम्बना पशु सेवा विभागका विभागीय प्रमुख नै अहिले व्यवसायीको पक्षपोषण गर्दै हिँड्नु भएको छ । त्यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि दानाको गुणस्तर कस्तो छ । दानाको कच्चा पदार्थको मूल्यको आधारमा तयारी दानाको मूल्य तोकिएको छ कि छैन । अस्वभाविक मूल्य पो लिएको छ कि भनेर अनुगमन र नियमन गर्नुपर्ने हो । अन्तर्राष्ट्रिय बजारमा दानाको कच्चा पदार्थको मूल्य घटिरहेको अवस्थामा दानाको मूल्य घटाउन व्सायीहरु किन हिचकिचाइरहेका छन् भन्ने विषयमा निगरानी हो । त्यसमा सरकारी निकाय चुकिरहेका छन् । नियमनकारी निकायहरुले आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोले कुखुरा पालक किसानले मूल्य प्राप्त गर्न नसकी आफ्नो पेशा र व्यवसायबाट हात धुनुपर्ने अवस्था छ । उपभोक्ताले पनि उचित मूल्यमा गुणस्तरीय स्वस्थ मासु सेवन गर्न पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपरिरहेको अवस्था छ । त्यसो हुँदा पोल्ट्री व्यवसायी महासंघ, ह्याचरी संघलगायत कार्टेलिङमा संलग्न संघ संस्था र तिनका पदाधिकारीलाई कारवाही गर्नुपर्ने हाम्रो माग छ ।