सरकारी कलेजले नै पूरा गरेन भेटेरिनरी काउन्सिलको मापदण्ड

रामपुर केन्द्रीय क्याम्पस

काठमाडौं । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय क्याम्पसले नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल)ले तोकेको मापदण्ड पूरा नगर्दा ब्याचलर इन भेटेरिनरी साइन्स (बिभिएस्सी) को नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अन्योलमा परेको छ । उक्त शैक्षिक कार्यक्रमका लागि प्रथम वर्षका लागि मंसिरमै लिनुपर्ने भर्ना कार्यक्रम रोकिएको नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएशन रामपुर चितवन क्याम्पस कमिटिका अध्यक्ष विशाल पाठकले बताए ।

‘काउन्सिलले तोकेको मापदण्ड पूरा नभएपछि मंसिरमै लिनुपर्ने भर्ना अहिलेसम्म रोकिएको छ,’ उनले भने, ‘अझै पनि भर्ना सुरु नगर्ने हो भने रामपुरमा अध्ययन गर्न चाहने विद्यार्थीले एउटा शैक्षिक सत्र नै गुमाउनु पर्ने अवस्था छ ।’ समयमै मापदण्ड पूरा गरेर नयाँ विद्यार्थी भर्ना खोल्न आफूहरुले क्याम्पस प्रमुख र डिन कार्यालयलाई पटक पटक आग्रह गर्दै आएको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

भेटेरिनरी कलेजहरुको शैक्षिक कार्यक्रमको नियामक निकायको रुपमा रहेको भेटेरिनरी काउन्सिलले गत वर्ष पहिलो वर्षका लागि आवश्यक मापदण्ड पूरा गरेपछि मात्रै कलेजलाई नयाँ विद्यार्थी भर्ना गर्न दिएको थियो । गत वर्षका लागि काउन्सिलले दिएको लक्ष्य अनुसार पहिलो वर्षका लागि मापदण्ड पूरा गर्न पनि ढिलो गरेको थियो । चालू शैक्षिक सत्र २०७६ का लागि दोस्रो र तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि मापदण्ड पूरा गरेपछि मात्रै नयाँ विद्यार्थी भर्ना गर्न दिने सूचना दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा. नारायणप्रसाद घिमिरेले

तर, कलेजले काउन्सिलको सूचनाप्रति बेवास्ता गर्दै यस वर्ष पनि मापदण्ड पूरा गर्न ढिलाइ गरेपछि हाल विद्यार्थी भर्ना रोकिएको काउन्सिलका रजिष्ट्रार डा. नारायणप्रसाद घिमिरेले बताए । ‘हामीले आजबाट होइन, झण्डै ४ वर्षअघि बाटै अब भेटेरिनरी कलेजहरुलाई मापदण्डको दायरामा लाने सूचना भेटेरिनरीसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका कलेजहरुलाई दिँदै आएका थियौं,’ उनले रामपुर केन्द्रीय क्याम्पसले मंसिरमै लिनुपर्ने बिभिएस्सीको नयाँ विद्यार्थी भर्ना अझै अन्योलमा भने, ‘तर, रामपुर क्याम्पसले अहिलेसम्म मापदण्ड पूरा नगरेपछि हामीले नयाँ विद्यार्थी भर्ना नगर्ने गोरखापत्रमा सूचना नै प्रकाशित गरेर आग्रह गरेका हौं ।’ भेटेरिनरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नेपालका ४ कलेज मध्ये अन्य कलेजले भने काउन्सिलले तोकेको मापदण्ड पूरा गरिसकेकोले नयाँ विद्यार्थी भर्ना पनि गरिसकेको उनले बताए । ‘निजी क्षेत्रबाट सञ्चालित कलेजहरुले समेत काउन्सिलले तोकेको मापदण्ड पूरा गरिसकेका छन्,’ उनले भने, ‘तर कृषि तथा वन विश्व विद्यालयको केन्द्रीय क्याम्पसको त्यतिधेरै भौतिक रुपमा सम्पन्न भएर पनि उक्त कलेजले मापदण्ड पूरा गरेको छैन ।’ मापदण्ड पूरा नगरी फेरी विद्यार्थी भर्ना गर्न दिने हो भने यसले गलत प्रथाको सुरुआत हुने र भेटेरिनरी शिक्षालाई गुणस्तरीय बनाई दक्ष पशुपन्छी स्वास्थ्य सेवा क्षेत्रका प्राविधिक तथा विज्ञ उत्पादन गर्ने लक्ष्य पूरा नहुने उनले बताए ।

५ वर्ष अध्ययन गरिसकेपछि उत्पादन हुने भेटेरिनरी चिकित्सकहरुलाई दक्ष बनाउन प्रयोगात्मक शिक्षालाई काउन्सिलले जोड दिएको छ । आफूले तोकेको मापदण्ड पूरा गरेर पठाउने कलेजबाट उत्पादन गर्ने विद्यार्थीलाई मात्रै काउन्सिलमा दर्ता हुन सक्ने व्यवस्था गरिएको छ ।त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेजमा अध्यायापन गर्ने विद्यार्थीको दर्ता रोक्ने चेतावनी काउन्सिलले दिँदै आएको छ । ‘ विगतमा एउटा कलेजमा मात्रै भेटेरिनरी पढाइ हुन्थ्यो,’ रिजिष्ट्रार घिमिरेले भने, ‘त्यसताका हामीले प्रबद्र्धनात्मक रुपमा भेटेरिनरी अध्ययन गराउने कलेजहरुको मापदण्ड बनाएका थियौं । बाहिर कसैले सञ्चालन गरेको फार्मका पशुपन्छीभएको ठाउँमा लगेर पनि विद्यार्थीलाई प्रयोगात्मक कक्षा लिन सकिन्थ्यो । शिक्षक पनि फुल टाइम नहुँदा पनि हुन्थ्यो । अहिले कलेजको संख्या बढेको छ । यो शिक्षालाई गुणस्तरीय बनाई दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिँदै जनुपर्छ भनेर मापदण्डमा केही सुधार गर्दै लगिएको हो ।’ विश्वविद्यालयको केन्द्रीय क्याम्पसले भेटेरिनरी शैक्षिक कार्यक्रमका लागि मापदण्ड पूरा गर्ने नसकेकोबारे जिज्ञासा राख्दा विश्वविद्यालयकी उपकुलपति डा. शारदा थपलियाले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै भेट टाइम्सलाई गैरजिम्मेवारपूर्ण प्रतिक्रिया दिइन् ।

भेटेरिनरीका शैक्षिक कार्यक्रम सञ्चालनका लागि ५० जना विद्यार्थी भर्ना लिने गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसले ५० जना र पूर्वाञ्चल विश्वविद्यालयकै सम्बन्धनमा सञ्चालनमा रहेका २ ओटा क्याम्पसले पनि भेटेरिनरीका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

मापदण्ड नपुयाई प्रवेश परीक्षाका लागि दरखास्त आह्वान

कृषि तथा वन विश्व विद्यालयको रामपुर केन्द्रीय क्याम्पसले विभिएस्सी शैक्षिक कार्यक्रमका लागि काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी प्रवेश परीक्षाका लागि हाल दरखास्त आह्वान गरेको छ । ‘अहिले आएर मापदण्ड पूरा नगरी प्रवेश परीक्षाका लागि दरखास्त आह्वान गरेको छ,’ भेटेरिनरी विद्यार्थी एशोसिएशनका अध्यक्ष विशाल पाठकले भने ।

आफूहरुले मापदण्ड पूरा गर्ने क्रममा रहेको र सार्वजनिक खरिद प्रक्रियाका कारण समय लाग्ने भएकोले भर्ना प्रक्रिया सुरु गर्न सहयोग गरिदिन क्याम्पसका प्रमुख तथा डिन कार्यालयका प्रमुखले काउन्सिललाई आग्रह गरिरहेको काउन्सिलका रजिष्ट्रार घिमिरेले बताए । ‘उहाँहरुले सार्वजनिक खरिद प्रक्रियाका कारण केही उपकरण तथा पूर्वाधारको व्यवस्थापनमा केही समय लाग्ने भएकोले भर्नाका लागि प्रवेश परीक्षाको दर खास्त आह्वान गरेको बताउनु भएको छ,’ उनले भने, ‘तर हामीले भेटेरिनरी पढाइ हुने चारवटै कलेजलाई समान व्यवहार गर्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन ,गरियो भने यसले गलत नजिर स्थापित हुन सक्छ । त्यसो भएकोले मापदण्ड पूरा नगरी भर्ना खोल्न मिल्दैन ।’

भर्ना नखोल्दा २०७६ को शैक्षिक सत्र नै गुम्न सक्छ भन्ने कलेज प्रशासन र विद्यार्थीको भनाइ जायज भए पनि काउन्सिलले बेलैमा क्याम्पस प्रशासनलाई खरिद प्रक्रियाले काममा ढिलो हुन सक्छ भन्दै मापदण्ड पूरा गर्न सूचित गरिरहेको पनि उनले बताए । ‘दृढ रुपमा कलेज प्रशासनले मापदण्ड पूरा गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको भए अन्य तीन कलेजले जस्तै रामपुरले पनि समयमै मापदण्ड पूरा गर्ने थियो,’ उनले भने, ‘तर यस विषयलाई त्यति गम्भीरताका साथ लिइएको देखिएन ।’

के कस्ता छन् मापदण्ड ?

रामपूर क्याम्पसले एक शैक्षिक सत्रका लागि ५० जना विद्यार्थी भर्ना लिने गरेको छ ।एउटा वर्षमा ५० जना अध्ययन गर्ने कलेजलेविद्यार्थी संख्याको करिब ३३ प्रतिशतले हुन आउने संख्यामा पशुपन्छीको व्यवस्था गर्नुपर्ने मापदण्ड छ । त्यस्ता पशुपन्छी आफ्नै फार्ममा पालिएका हुनुपर्ने मापदण्ड छ । फार्म, ल्याब,पढाउने शिक्षकहरुको मापदण्ड पूरा गर्नुपर्नेहुन्छ । त्यस्तै, प्रयोगात्मक शिक्षाका लागि ल्याबमा पर्याप्त उपकरण हुनुपर्नेमा त्यस्ता उपकरण उपलब्ध हुनुपर्छ । त्यस्तै, भेटेरिनरी अस्पतालको व्यवस्थापन पनि पर्याप्त रुपमा हुनुपर्छ ।

मावन तथा पशु चिकित्सा जस्ता प्राविधिक विषयमा प्रयोगात्मक शिक्षालाई बढी नै महत्व दिइने भएकोले प्रयोगका लागि आवश्यक ल्याब, फार्म,उपकरणजस्ता पूर्वाधारलाई महत्वका साथ हेरिने गरेको छ । पूर्वाधारको पर्याप्त उपलब्धताले नै विद्यार्थीले पर्याप्त ज्ञानसीप हासिल गर्ने र दक्ष जनशक्तिको रुपमा उत्पादन हुन सक्छन् ।रामपुर केन्द्रीय क्याम्पससँग विश्व विद्यालयको आफ्नै फार्म छ । तर, फार्ममा५० विद्यार्थीका लागि आवश्यक गाई, भैंसी,भेडा, बाख्रा, कुखुरा जस्ता पशुपन्छीको संख्या पर्याप्त छैन । विद्यार्थीको करिब ३३ प्रतिशत हुने गरी यस्ता पशुपन्छीको व्यवस्था गर्नुपर्नेमा त्यो मापदण्ड पूरा भएको छैन । भेटेरिनरी अस्पतालको व्यवस्थापन गतिलो छैन । ल्याबमा पर्याप्त सामान नभएको र शिक्षकहरुको व्यवस्थापन समेत हुन नसकेको कलेजका विद्यार्थीहरुले बताएका छन् ।