१२ औँ महाधिवेसन र कुशल नेतृत्व चयनको अपेक्षा

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको आसन्न १२ औँ केन्द्रीय महाधिवेसन तथा २९ औँ वार्षिक साधारणसभा प्रदेश १ को केन्द्र तथा आर्थिक नगरी विराटनगरमा हुँदैछ । पेशागत तथा व्यवसायिक हकहितको रक्षार्थ तथा आपसी सहयोग र सद्भावको अभिवृद्धिका लागि नेपालका हरेकजसो पेशा र व्यवसाय गर्नेहरू संगठित भएका छन् । हुँदै छन् । ‘एकता नै बल हो’ भनिएजस्तै एकतामा निहित शक्तिलाई बुझेर नै संगठन खोल्ने र संगठित हुने क्रम बढेको हो । सायद यही मूल मर्मलाई बुझेर नै आजभन्दा झण्डै ३० वर्षअघि नेपालका पशुपन्छी औषधी व्यवसायीहरूको यो संगठन बनेको हो । तर, यदाकदा कतिपय पेशागत तथा व्यवसायिक संगठनहरूमा व्यवसायिक हितभन्दा पनि पदकै लागि मरिमेट्ने र अधिवेशन, महाधिवेसन वा निर्वाचनमा मात्रै केन्द्रित भएर अघि बढ्ने, संगठनको कार्यसमितिका पदमा हुने हार–जितमा आत्तिने र मात्तिने, असहिष्णु बन्ने जस्ता खराब प्रवृत्तिको विकास भएको पनि देखिएको छ । अझ त्यसभन्दा पनि बढी राजनीतिक दलहरूको कित्ता-कित्तामा आबद्ध भएर यो पार्टी र त्यो पार्टीको भन्ने ‘बिल्ला’ भिरेर/भिराएर चुनाव लड्ने जस्ता प्रवृत्ति पनि कतिपय पेशागत तथा व्यवसायिक संगठनमा देखिन्छ । सुन्दा तीतो लागे पनि यो यथार्थ हो । यस्तो खराब आचरण वा प्रवृत्तिले कुनै पनि व्यावसायीक वा पेशागत संगठनलाई आफ्नो लक्ष्यमा केन्द्रित भएर अघि बढ्न सक्ने बनाउँदैन । राजनीतिक पार्टीका संगठनभन्दा बिल्कुलै फरक हुनुपर्छ हाम्रा संगठनको नेतृत्वकर्ताका आनीबानी, व्यवहार र आचरण ।

हो, संगठनको नेतृत्व गर्नु पनि नेताकै काम हो । तर, यो पेशागत र व्यवसायिक हकहित रक्षार्थ उभिएको नेताले गर्ने काम हो । सदैब, व्यवसायीको हकहितका विषयलाई शीरोधार्य गरेर व्यक्तिगत लोभ र लाभ त्यागेर सामूहिक व्यावसायिक हितका लागि मरिमेट्नुपर्ने नेतृत्वदायी काम हो संगठनको नेता हुनु । उपर्युक्त यथार्थ सबैलाई थाहा भएकै विषय भए पनि महाधिवेसनको पूर्वसन्ध्यामा स्मरण मात्र गराउन खोजिएको हो । माथिका यथार्थलाई सँधै ताजा स्मरणमा राखेर हामी संगठनमा आबद्ध भए वा नेतृत्व लिए अहिले देखिएका व्यवसायिक समस्या र चुनौतीहरूलाई हामी सजिलै पार लगाउन सक्ने छौँ । आसन्न महाधिवेसनमा अध्यक्ष पदका लागि ४ जना उम्मेदवारले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै, अन्य पदहरूमा समेत उम्मेदवारी घोषणा भएका भएका छन् । प्रजातन्त्रको उत्कृष्ट अभ्यास मानिएको निर्वाचन प्रणालीमा उम्मेदवारहरूले आफ्नो पक्षमा चुनावी माहा ेल बनाउन गर्ने स्वच्छ गतिविधि गर्नुलाई चुनावी चरित्रकै रूपमा लिनुपर्छ । प्रधिनिधिहरूले सुझबुझपूर्ण तरिकाले गोप्य मतदानमार्फत् २ वर्षका लागि आफ्नो नेतृत्व चयन गर्नुहुने छ । यस क्रममा उम्मेदवारहरूले भने स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्नु आवश्यक छ । एकजनाको जितपछि हार व्यहोर्ने बाँकी आकांक्षीले अत्तालिनुपर्ने छैन ।

यो वार्षिक साधारण सभा पनि हो । त्यसो हुँदा वर्तमान कार्यकालको लागि कार्यसमितिका पदाधिकारीले गरेका काम कारबाहीको हिसाब, किताब कस्तो छ वा संगठनको आर्थिक स्वास्थ्य कत्तिको बलियो छ भन्नेमा पनि प्रतिनिधिहरूले ध्यानु दिनुपर्ने छ । देशभरका ३ हजारभन्दा बढी व्यवसायीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिधिनिधहरूले व्यावसायिक नेटवर्क स्थापना गर्ने, भेटघाट गर्ने, आपसी हितका विषयमा कुरा गर्ने फोरम पनि हो । त्यसो हुँदा यो
फोरमलाई सकेसम्म उपयोग गर्नु आवश्यक छ । पशुपन्छी व्यवसायीहरूले एउटा पर्वकै रूपमा आयोजना गरी सहभागी हुँदै आएको यो महाधिवेसनले सबल, सक्षम र कुशल नेतृत्व चयन गर्न सकोस् । व्यवसाय र व्यावसायिक हित रक्षाका लागि आगामी दिनमा अघि बढाउनुपर्ने योजनाहरूको खाका कोर्न सकोस् । र, अर्को २ वर्षपछि आउने अर्को अधिवेशनमा व्यवसायिक हितका लागि प्राप्त ठोस उपलब्धिहरूको सूचि सगर्व प्रस्तुत गर्न सकोस् । १२ औँ महाधिवेसन तथा २९ औँ साधारणसभाको सफलताको शुभकामना !