काठमाडौं । देश कोरोना कहरमा थिलथिलिएको विषम परिस्थितिमा सरकारले घोषितरूपमै अनावश्यक खर्च कटौती गर्न निर्देशन दिएको समयमानै सरकारी कर्मचारी भने कार्यालयमै मदिरा सहित नाचगानमा मस्ती गरिरहेको पाइएको छ ।
आर्थिक वर्ष सकिन केहिदिनमा मात्र बाँकी रहेको अवसरमा आज ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभाहलमा मदिरा सहितको विषेश भोज आयोजना गरिएको भिडियो भेट खबरलाई प्राप्त भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा असार मसान्तको समापन भोज आयोजना गरिएको हो । कार्यालयका प्रमुख डा. नारायण बहादुर श्रेष्ठले आयोजना गरेको भोजमा बुढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजी बहादुर श्रेष्ठ ,कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. अर्जुन पण्डित समेतलाई भिडियोमा देख्न सकिन्छ ।विज्ञ केन्द्रका कार्यलयका सहयोगीले भेट खबरलाई नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार सिसाको गिलासमा बियर भरेर पिएका थिए । केही समयको मदिरापान पछि कार्यालय प्रमुख श्रेष्ठकै आग्रहमा नाच्नको लागी डा. राम प्रसाद प्रधानको टोली तयार भएका थिए ।
विज्ञ केन्द्रको हलमा मदिरा सहित दिउसै नाचगानमा कर्मचारी मस्त भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत सेयर गरिएको छ ।
सरकारी कार्यलयमै कर्मचारी मदिरामा नाँचगान गरिरहेको प्रत्क्ष्य हेरिरहेका कार्यालय प्रमुख डा. नारायण बहादुर श्रेष्ठ सँग भेट खबरले सम्पर्क गर्दा उनले कार्यक्रम भएको र साथीहरुले मदिरा सेवन गरेको सत्य भएपनि आफुले भने नपिएको बताएका छन् ।
सोही भोजमा सहभागी बुढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजी बहादुर श्रेष्ठ संग भेट खबरले टेलिफोन गर्दा नसाकै सुरमा कार्यक्रम भएको र उक्त कार्यक्रममा कार्यालय प्रमुख डा.नारायण बहादुर श्रेष्ठ लगाएत आफुहरुले वियर र ह्स्किी सेवन गरेको स्वीकारेका छन् ।
हेर्नुहोस् भिडिओ