पोल्ट्री एक्पोको तयारी पूरा, ११ बजे रेनुबाट उद्घाटन

काठमाडौं । अन्तर्राष्ट्रिय पोल्ट्री एस्पो, २०८१ आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको संयुक्त आयोजनामा एक्स्पो हुन गइरहेको हो ।

एक्स्पोको अहिले केहीबेरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्दैछिन् ।

नेपाल पोल्टी महासंघका महासचिव दिनेशराज मिश्रले आजदेखि हुन गइरहेको एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको भेट खबर डटकमलाई बताए ।

विदेशी तथा स्वदेशी प्रविधि तथा पशुपन्छीपालनसम्बन्धी जानकारी प्रदान गर्न आयोजना गरिएको एक्स्पो जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

एक्सपोमा पोल्ट्री पाठशाला पनि आयोजना गरिने आयोजकले जनाएका छन् । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले विदेशी र स्वदेशी प्रविधि तथा पशुपन्छीपालनसम्बन्धी जानकारी दिन विषय विज्ञबाट पाठशाला सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कम लागतबाट कसरी उत्पादन बढाउने भन्नेमा पाठशाला केन्द्रित हुने जनाउँदै त्यसमा आधुनिक प्रविधिबारे छलफल हुने उनले बताए ।

पाठशालामा सहभागी हुन इच्छुकले शुल्क भने तिर्नुपर्नेछ । आयोजकका अनुसार, प्रदर्शनीको पहिलो दिन जेठ १८ गते हुने पाठशालाको शुल्क २ हजार रूपैयाँ तोकिएको छ । यो पाठशालामा पोल्ट्री क्षेत्रका विषयमा विज्ञ, भेटिनरियन, वैज्ञानिक, पशुचिकित्सकलगायतले प्रशिक्षित गर्नेछन् ।

जेठ १९ गते हुने पाठशालाको प्रवेश शुल्क ५ सय रूपैयाँ राखिएको छ । यसमा पोल्ट्री क्षेत्रका किसान, प्राविधिक, व्यवसायीका साथै भेटेरिनरी अध्ययनरत विद्यार्थीहरु सहभागि हुनेछन् ।

जेठ २० गते आयोजना हुने पाठशालाको शुल्क पनि ५ सय रूपैयाँ तोकिएको छ । भेटेरिनरी अध्ययनरत विद्यार्थीहरुका लागि यो पाठशाला लक्षित छ । यो पाठशालमा पनि पोल्ट्री क्षेत्रका किसान, प्राविधिक, व्यवसायीका साथै विद्यार्थीहरू सहभागी हुनेछन् ।

नेपाल र भारतलगायत विभिन्न देशका ८० स्टल रहने एक्स्पोको करिब १० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।