बाँदर आतंक र यसको समाधान सूत्र

डा. मुक्ति नारायण श्रेष्ठ

खासगरी रातो बगाले बाँदर (रेसस मकाक) ले नेपालको सुदूरपूर्वदेखि तराई र पश्चिमका पहाडी जिल्लाहरूमा बितण्डा मच्चाउँदै आएको । यो एक राष्ट्रिय समस्या हुन गएको छ । किसानका सबै किसिमका खेती मात्र बाँदरले उजाड पारेको छैन, तिनको सपनासमेत धूलीसात पारेको छ । बाँदरको बढ्दो आतंकका कारण खेतबारी बाँझो छाड्नेदेखि बसाइँ सर्नेसम्मका प्रवृत्ति बढ्न थालेका छन् । बैंकबाट ऋण लिएर खेतीपाती गर्दा ऋणको भार बढ्दै आफ्नो हातमुख जोड्न, परिवार पाल्न, बच्चाहरूलाई स्कुलमा पढाउन, बाँदर उत्पातबाट खेती बचाउन सकेका छैनन् । बाँदर खेद्ने क्रममा किसानको ज्यान पनि गएको छ ।

बाँदरको जताततै बिध्वंशबाट बाली संरक्षण र खाद्य सुरक्षा हुन नसकी राष्ट्रिय कृषि अर्थतन्त्रमा व्यवधान खडा गरेको छ । बाँदरको उपद्रोबाट खेती बचाउन किसानले के मात्र गरेनन्– थाल ठटाएर, होहल्ला गरेर, कुकुर लगाएर, बुख्याचा राखेर, हेरालुबाट कुरुवा चौकिदारी गराएर, बन्दुक र पटाखा पड्काएर, ठूलो चर्को आवाज निकाल्ने मंकी गन प्रयोग गरेर बाँदरका हुललाई भगाउने कोसिस गरे । तर यी उपाय क्षणिक र आंशिक सफल भए पनि दिगो हुन सकेका छैनन् ।

बाँदर चलाख हुनुका साथै बेतोड दौडने, उफ्रिन सक्ने, चढ्न सक्ने, पौडी खेल्न सक्ने, लामा लामा केनाइन दाँतले टोक्न सक्ने, नङ्राले चिथोर्न सक्ने स्वभावका हुन्छन् । यी क्षमताले सुसज्जित बाँदरका हुल मानिससँग लड्नसमेत डराउँदैनन् ।

माकाफुँइ  (नेवारीमा प्रचलित भाष्य बाँदरको उदाहरणीय स्वभावलाई दर्शाउने यो एक बाँदरको तर्साउने रणनीति मानिसले सिकेका र व्यवहारमा पनि ल्याउने गरेका) ले तर्साउने सक्ने, त्यसमा पनि मानव अंगमा दाँत मात्र लगाइदियो भने रेबिज रोग लाग्ला भन्ने डर । यसरी किसानलगायत हामी सबै बाँदरबाट त्राहीत्राही हुनु परेको छ । उनीहरूलाई विभिन्न तरिकाबाट मार्न नसकिने होइन । आफ्नो खेती बिवंस पार्ने ढेडुलाई रिसको झोकमा केहीले मारेका पनि छन् । बाँदर मार्नेहरूको वंश नाश भएका दुर्भाग्यका घटनाहरु गाँउ घरमा कुरा चल्ने गर्छन्, मानौं वा नमानौं । यसबाट पनि गोप्य तरिकाले बाँदर मार्न हच्किने र यसले हतोत्साह पार्दै आएको छ । ढेडुलाई बन्दुक तन्काउने बित्तिकै भगवान् रामभक्त हनुमानको रूप देखिने,  मारिहाल्यो भने पनि दशा प्रचलित अन्धविश्वासले मानिस यसविरुद्ध गतिविधि गर्न झस्किन्छन् ।

वन्यजन्तुको कानून पनि कडा भएकाले कानूनी रूपमा पनि वर्जित छ ।  यसरी धर्म, संस्कार परम्परा एवं कानूनले हाम्रा हात र दिमाग बाँधिएका छन् । जंगली अवस्थामा बाँदरको संख्या मांसाहार हिंसक पशु–बाघ, चितुवाले मारेर खाएमा संख्या नियन्त्रण हुने हो तर बाघको संख्या दुईगुना बढे पनि बाँदरह– आक्कलझुक्कल मात्र बाघको शिकार हुन्छन् । तर बढ्दो बाघको संख्या बाँदरभन्दा मानिसको मृत्युका कारण बनेका छन् ।

वन विनाश र गाउँ घरमा विषको प्रयोगबाट चितुवा संख्या घट्दो छ, बाँदरको संख्या अत्यधिक बढ्दो छ । यसको समाधान के हुन सक्छ ? मानिसहरूबाट यससम्बन्धमा विभिन्न धारणा व्यक्त हुने गरेका छन् । केही समयअघि एक व्यक्तिले बाँदर मारेर मासु खाने, जंगलमा बस्ने, आदिवासी जनजातिका घुमन्ते, प्रकृतिका पुजारी राउटेलाई बाँदरले आंतक मच्चाएको ठाउँमा स्थान्तरण गर्दै बाँदरको संख्या नियन्त्रण हुने सुझाव दिए ।

बाँदर र राउटे दुवै जंगलमा बस्ने, मानिस बस्तीबाट टाढा वनजंगलमा रमाउने राउटेहरूको लगभग संख्या ८६ हजार होला । एक दिन मानौं वन्यजन्तुको कानूनले उनीहरूलाई बाँदर मार्ने छुट दिएमा पनि राउटेको घट्दो जनसंख्या बाँदरको दिनानुदिन बढ्दो हजारौंको संख्यालाई संख्या नियन्त्रण गर्न सम्भव होला ?

राउटे नेपालको नागरिक, उनीहरूलाई कानून संशोधन गदैै विशेष छुट दिएमा पनि भिन्न वर्गहरूको भिन्न भागमा छुट दिँदै गएमा पार लाग्ने कुरो भएन । हालसम्म बाँदर मारेर खाएकोमा कुनै एउटा राउटे कानूनको सिकन्जामा परेको थाहा छैन । घना जंगलको बीचमा वस्ने राउटेलाई रंगेहात पक्रिन सक्ने कुरो पनि भएन ।

अब के गर्ने त बाँदरको नियन्त्रण गर्न ?

यसमा पर्न आउने वस्तु हो – पहिलो आवश्यकता बाँदरको आहार । यसमा अल्पकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नु पर्ने हुन्छ ?

  •  वनका बाँदरलाई वनमै राख्ने ।

  •  किसानको खेतबारीमा बाँदरले नखाने खेती लगाउने ।

  •  अल्पकालीन उपायमा किसानको खतेबारीबाट भगाउन विभिन्न तरिका अपनाउने र वनमा फिडिङ्ग स्टेसनहरू बनाउने ।

  •  बाँदर पार्क, बाँदर द्वीप (आइलैण्ड), सैङचुरी वा बाँदर फार्मको स्थापना कुनै एक समस्याग्रस्त जिल्लामा सुरु गर्ने ।

  •  वन्यजन्तु कानूनमा हेरफेर गर्ने ।

  •  बाँदरबारे सचेतता ।

बाँदर समस्याको मूल जरो बाँदरले वनमा प्राकृतिक आहार नपाउनु हो । आहारको लागि वनसँगै जोडिएका गाउँवस्तीमा लगाइएका खेतीबाट आकर्षित हुने नै भो । भोको पेटले त जो कोही जहाँ पनि धाउन सक्ने हुन्छ ? हरेक जीवलाई बाँच्नको लागि पहिलो आवश्यकता आहार नै हो । बाँदरले खाने फलाहार बोटबिरुवा जंगलमा लगाउने र बाँदरले नखाने खेती किसानले आफ्नो खेतबारीमा लगाउने यी दुवै दीर्घकालीन उपायहरू हुन् ।

अल्पकालीन उपायहरूमा जंगलमा फलहरू नफलेसम्म र खेतबारीमा बाँदरले नखाने खेतीमा विविधीकरण नगरेसम्म बाँदरलाई जंगलभित्र बाँदरहरू आहार उपलब्ध गराउनु प¥यो जसबाट बाँदर आहारको लागि जंगलबाट बाहिर धाउने जरुरत नपरोस् । तर वन्यजन्तु विज्ञ र पशु अधिकारवादीहरू जंगलमा फिडिङ स्टेशनहरू बनाइ आहार खुवाउँदा बाँदरको प्राकृतिक स्वभावमा परिवर्तन आउने र त्यसैमा अभ्यस्त भई मन्दिरमा रहेका बाँदरजस्तै माग्ने हुन जाने भएकाले यो उपायको पक्षमा छैनन् । जुन वन्यजन्तुको हकमा वान्छनीय देखिन्छ नै । यसबाट आहार, ढुवानी खर्च, लेबर खर्च बढ्ने, थप आर्थिक जटिलता आइलाग्छ ।

अर्को अल्पकालीन उपाय हुन सक्तछ, खेती जोगाउन सम्भव हुन सके आधुनिक यन्त्र ड्रोनबाट पटाखा पड्काएर बाँदरलाई खेद्ने । यसको प्रविधि र व्ययभारले निरन्तरता नहुन सक्छ । खेतबारी वरिपरि किसानले बिजुलीबाट चल्ने तारवार (फेन्सिङ) ज्यानको खतरा हुन सक्ने भएकोले सोलरबाट चल्ने, फेन्सिङ चढ्दा हल्का झट्का मात्र दिने वा तारनजिकै जाँदा पटाखाको जस्तो पटपट आवाज आउने बिजुली तारबारभन्दा सुरक्षित हुन सक्छ ।

वर्षायाममा पानी परेको बेला सोलार तारबाट नचल्न सक्छ । यही बेला बाँदरले मौका खोजी खेती भुसुक्क पार्न सक्छ । यसबेला अन्य उपाय र हेरालुको आवश्यकता पर्न सक्छ । सुरक्षा गार्डका कम्पनी खोलेझै हेरालु चौकीदारको पनि संगठित कम्पनी किन नखोल्ने ?

यसरी खेतबारीबाट बाँदर भगाउने र वनमा आहार अभावबाट बाँदरले पोषक तत्व, नपाउँदा प्रजननमा असर पर्ने र भोकरोगले  बाँदरहरूको मृत्युबाट संख्या घट्ने । यो प्राकृतिक नियमको चक्र (साइकल), अरू कारक तत्वलाई छोडेर, आहार पर्याप्त भए संख्या बढ्ने, आहारको अभावमा संख्या घट्ने हुन्छ । जब जंगलमा पर्याप्त आहार नपाउने, खेतीमा पनि बाँदरले मुख लगाउन पाएन भने किसानलाई बाली जोगाउनु पर्ने चुनौतीले तनाव झन् बढ्न सक्छ । यस किसिमबाट मानव–बाँदर र अन्य वन्यजन्तु द्वन्द्व बढ्न सक्छ । यो द्वन्द्वमा किसानले हार माने खेतबारी बाँझो हुने र बसाइँ सर्ने क्रम बढ्न जान्छ ।

अर्को उपाय हुन सक्तछ, कुनै एक बाँदर समस्याग्रस्त जिल्लामा बाँदर पार्क सफारी पार्क वा सैङचूरी, वा बाँदरद्वीप (आइलैण्ड) वा बाँदर फार्ममध्ये कुनै एक वा दुई आयोजना बनाइ उचित ठाँउ रोज्ने, कानूनमा सुधार गरी बाँदर संख्या अनुसार आहार व्यवस्था, बाँदर पक्रिन र पक्रेकालाई बाँदर पार्क वा द्वीपमा राखी सञ्चालन गर्न दक्ष जनशक्ति र उनका लागि तलब भत्ताको सुविधा, भौतिक पूर्वाधार–बाटो, खोर, इन्क्लोजर आदि निर्माण गर्न बजेटको आवश्यकता पर्दछ । यो एक महँगो आयोजना हुन सक्छ ।

बाँदरको आइलैण्ड बनाउन मोटेड इन्क्लोजर–जहाँ द्वीपको वरिपरि पानीले घेर्नु पर्ने हुन्छ । यस किसिमबाट बाँदर द्वीप पर्यटकीय स्थल र बाँदर संख्या नियन्त्रण, संख्या घटाउने बढाउने आवश्यकता अनुसार हारमोनको प्रयोग वा शल्यक्रियाबाट व्यवस्थापन गर्न सकिने छ । यस किसिमका आयोजनाको लागि पालिकाहरूबाट पर्याप्त बजेट व्यवस्था हुनु पर्ने वा सम्भव भए वैदेशिक लगानी भित्राउने ।

स्थानीय जनशक्तिको श्रमदान र गैह्र सरकारी संस्थाहरू लगायतको संयुक्त सहयोगमा बाँदर आतंकको न्यूनीकरण गरेर बाली संरक्षण एवं खाद्य सुरक्षामा सहयोग हुन जानेछ । वन जंगलमा स्वछन्द कुनै एक वन्यजन्तु सीमित घेराभित्र राख्ने बित्तिकै उसको उचित सन्तुलित आहार, मौसमी असरबाट बचाउन घरसेल्टर, त्यसको हाइजिन, सेनिटेसन, हजवैन्डी (पालन पोषण), रोगको रोकथाम, निदान एवं उपचार र व्यवस्थापनको जिम्मेवारी आइलाग्छ ।

यसमध्ये कुनै एक आवश्यकतामा कमीकमजोरी हुने बित्तिकै त्यस जन्तुको बाँच्ने अस्तित्वको पहिलो प्रश्न आउँछ । जन्तुलाई बचाउन सकिएन भने आयोजनाको लक्षणहरू हासिल गर्न सकिँदैन र निष्फल हुन जान्छ । त्यसमा समय, धन र ऊर्जा सबै खेर जान्छ ।

बाँदरको समस्या समाधान र आयोजना सफल बनाउन वन मन्त्रालय, राष्ट्रिय निकुन्ज विभाग–वन्य जन्तु विशेषज्ञ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सम्बन्धित अधिकृत, स्थानीय सरकारका महानगरपालिका एवं पालिकाका पदाधिकारी, पशु अधिकारवादी संस्थाका पदाधिकारी, पीडित किसानहरू लगायत सबैको अन्र्तक्रियाबाट अल्पकालीन, दीर्घकालीन योजना बनाउन एक निचोडमा पुग्न सकिन्छ । निचोड मात्र निकालेर मात्र पनि हुँदैन, तदनुसार योजना बनाएर कार्यान्वयन गर्न पनि अपरिहार्य छ ।

बाँदरको नियन्त्रण, बाँदर सफारी पार्क वा बाँदर द्वीपको निर्माण गर्दा पर्यटकीय स्थल जहाँ सर्वसाधारण मनोरञ्जन पाउने, रोजगारी दिन सकिने र यसको सफल अनुभवबाट अन्य समस्याग्रस्त जिल्लाहरुमा बढाउँदै खाद्य सुरक्षा गर्न सकिने अर्को सम्भावना पनि छ ।