एसकेएफ बंगलादेशको लेबल टाँसेर कोलिस्टिनको कारोबार, कारबाही गर्न उजुरी दिइसकें:गौतम

गौतम भन्छन्– बदनाम गर्न कम्पनीको नाम राखियो, कारबाही गर्न उजुरी दिइसकें

काठमाडौं । ‘मानवीय स्वास्थ्यका लागि जोगाएर राख्न आवश्यक भएको’ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि सल्लाहकार समितिको ०७६ भदौ ३ गतेको ५०औं बैठकले ‘कोलिस्टिन’को उत्पादन, पैठारी तथा बिक्री–वितरणमा रोक लगाएको थियो ।

मन्त्रालयका तत्कालीन सचिव रामप्रसाद थपलियाको अध्यक्षमा बसेको उक्त बैठकले पशुपन्छीको उपचारमा प्रयोग गर्ने कोलिस्टिनको दर्ता तथा पैठारी रोक्ने निर्णय गर्दै स्वदेशी उत्पादनको हकमा तीन महिना र बिक्री वितरणको हकमा छ महिना समय दिएको थियो । सरकारले कोलिस्टिनमाथि यसरी प्रतिबन्ध लगाएको साढे ४ वर्ष गुज्रिसके पनि बजारमा यसको बिक्री वितरण भइरहेको पाइएको छ । स्वदेशी उद्योगले यसको पालना गरे पनि विदेशी कम्पनीका कोलिस्टिन तस्करी गरेर नेपाली उपभोक्ताको पहुँचमा पु¥याइएको हो ।

बंगलादेशमा उत्पादित कोलिस्टिन बजारमा, आयातकर्ता भन्छन्– नक्कली हो

स्वास्थ्य मन्त्रालयको निर्णयपूर्व औषधि व्यवस्था विभागले कोलिस्टिन आयातका लागि अनुमति प्रदान गर्दै आएको थियो भने त्यसैका आधारमा व्यवसायीले विदेशी कम्पनीबाट आयात गरेर बजारमा पठाउने गरेका थिए । स्वास्थ्य मन्त्रालयको निर्णयपछि भने सरकारी निकायले कोलस्टिनको आयात सिफारिस पूर्णतः बन्द गरेका छन् । तथापि, भेटेरिनरी फार्मेसीमा कोलिस्टन सल्फेटको बिक्री वितरण भइरहेको भेटिएको छ ।

काठमाडौं उपत्यकासहित चितवन, विराटनगर, नेपालगञ्ज, बुटवललगायत देशका मुख्य शहरमा अनधिकृत ढंगले प्रतिबन्धित कोलस्टिनको कारोबार भइरहेको पाइएको हो । भेट खबर डटकमलाई प्राप्त सूचनाअनुसार नगदमा कारोबार हुने, बिल जारी गर्न नपर्ने र मुनाफासमेत राम्रो हुने भएकाले सीमित व्यवसायीहरू यसको कारोबारतर्फ आकर्षित भइरहेका छन् ।

पछिल्लो समय एसकेफ बंगलादेशको मिति २०२३ अगस्टमा उत्पादन भएर २०२५ जुलाईसम्म उपभोग्य मिति रहेको व्याच नं.९००४२ को २४ लाख आइयू मात्रा भएको कोलिस्टिन सल्फेट बिपी नेपाली बजारमा बिक्रीका लागि गएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

एसकेएफ बंगलादेशको प्रतिष्ठित औषधि उत्पादक कम्पनी हो । जसको नेपालको आधिकारिक बिक्रेता मेड भेट फर्मा हो । मेट भेट फर्माका सञ्चालक नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष भूपेन्द्रप्रसाद गौतम हुन् ।

फोटो सार्वजनिकपश्चात भेट खबर डटकमको सम्पर्कमा आएका गौतमले यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । उनले प्रतिबन्धित कोलिस्टिन बजारमा बिक्री वितरण हुनु गलत भएको भन्दै त्यसमा संलग्नविरुद्ध कडाभन्दा कडा कारबाहीको माग गरे । उनले यसबारे औषधि व्यवस्था विभागमा उजुरी दिएको जानकारी पनि दिए ।

‘यो उत्पादन हामीले आयात गरेका छैनौं । गैरकानूनी ढंगले व्यवसाय गर्ने हाम्रो कम्पनीको कुनै नीति छैन,’ मेड भेट फर्माले प्रतिबन्धित कोलिस्टिन आयात गरेको हो भन्नेबारे भेट खबरले राखेको जिज्ञासामा गौतमले भने ।

सम्बन्धित कम्पनीले यो उत्पादन नेपालमा नपठाएको जानकारी गराएको उल्लेख गर्दै उनले आफूहरूलाई बदनाम गराउन केही तत्वले नक्कली लेबल प्रयोग गरेको दाबी गरे । आफूहरू भ्रम फैलाउने त्यस्ता तत्वको नजिक पुगिसकेकाले कारबाहीका लागि नियमनकारी निकायमा पत्रचार गरेको बताए ।

यसैबीच, कोलिस्टिनको उत्पादक कम्पनी एसकेएफले नेपालको आफ्नो आधिकारिक बिक्रेता मेड भेटले कोलिस्टिन आयात नगरेको प्रष्ट पारेको छ । एसकेएफले बिहीबार जो जससँग सम्बन्धित छ शीर्षकमा एक पत्र प्रेषित गर्दै आफ्नो नेपालको आफ्नो आधिकारिक वितरक मेडिभेटलाई स्कोलिस २४ भेट निर्यात नगरिएको प्रष्ट पारेको छ ।

मानव स्वास्थ्यको उपचारमा अन्तिम आशा मानिएको ‘कोलिस्टिन’ पशुपन्छीलाई खुवाउन नरोकिँदा तिनको मासु, अण्डा र दूध खाएका मानिसलाई ‘एन्टिबायोटिक’ले काम नगरेर मृत्यु हुने गरेको जानकारहरू बताउँछन् ।