अनि जन्मियो संघ,स्थापनाको पृष्ठभूमि र आगामी कार्यभार

समितिको संस्थापक अध्यक्षमा भेटेरिनरी मेडिकल सप्लायर्सका सञ्चालक गोविन्दराम श्रेष्ठ, उपाध्यक्षमा सन्तबहादुर भरतबहादुरका सञ्चालक नरेन्द्रबहादुर श्रेष्ठ, महासचिवमा सेन्ट्रल एग्रोभेट सप्लायर्सबाट सञ्चालक यो पंक्तिकार, कोषाध्यक्षमा पोलभेट ड्रग हाउसका सञ्चालक कमल शाक्य रह्यौं । निर्देशक (कार्यसमिति सदस्य)हरूमा भेटेरिनरी कन्सर्नका सञ्चालक तप्तराज वन्त, शर्ण एग्री सेन्टरका सञ्चालक प्रदीपकुमार श्रेष्ठ र एभरेष्ट एग्रोभेट सेन्टरका लक्ष्मी भण्डारीलाई चयन  ग¥यौं ।

माथि भनेझैं भन्सार महसुलको ‘इस्यू’ तत्कालका लागि भए पनि कालान्तरमा पर्न सक्ने अन्य समस्याहरूमा समेत सबै व्यवसायी एकजुट हुनु पर्ने आवश्यकता महसुस ग¥यौं । ०२९ सालमै स्थापना भएको नेपाल औषधि  व्यवसायी संघले सरकारी नीतिले उनीहरूको व्यवसायलाई असर गर्दा छलफल चलाएको, व्यवसायीहरूको हकहितमा राम्रोसँग पैरवी गरेको देखेका थियौं । उनीहरूसँग तत्कालीन समयमा केही सहयोग पनि लिइयो । तर उनीहरूको र हामीहरूको व्यवसायको प्रकृति फरक भएको र कतिपय कुराहरूमा बुझाइ फरक भएकाले हामीले पशुपन्छी औषधिका लागि अलग्गै संस्थाको आवश्यकता बोध ग¥यौं । हामीहरूको व्यवसायमा पनि क्रमशः समस्याहरू आउन थालेका थिए । स्वच्छ प्रतिस्पर्धात्मक रूपमा व्यवसाय अघि बढाउनु पर्ने जस्ता अनेकन चुनौतीहरू थिए । यी सबै चुनौती सामनाका लागि एउटा साझा संस्थाको आवश्यकता थियो । त्यही आवश्यकताबीच उब्जिएको सोचको उपज हो, आजको विशाल ‘नेपाल पशुपन्छी औषधि  व्यवसायी संघ’ ।

संघले औषधिको उचित प्रयोग हुन दिन, औषधि  व्यापारको उत्पादन एवं विकास गर्न, बिक्रेताहरूबीच परस्पर हित हुने विषयहरूमा मैत्री भावना र सम्बन्ध अभिवृद्धि गर्न, बिक्री, व्यापार, आयात–निर्यातसम्बन्धमा ऐन कानून तथा नियमावली तर्जुमा गर्नका लागि नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव पेश गर्नका साथै नेपाल सरकार र व्यवसायीहरूबीच सहयोग लिन÷दिन, क्रय, बिक्रय, आयात र निर्यातलगायतको व्यवस्था गर्दै पशुपन्छी औषधि  व्यापारमा सन्तुलन राख्न र बिक्रीवितरणसम्बन्धी नियमहरू बनाइ बिक्रेताहरूमा एकरूपता ल्याउने प्रस्तावना बनाएको थियो । यसै प्रस्तावनालाई पूरा गराउनका लागि आवश्यक विभिन्न उद्देश्यहरू राखिएका थिए ।

प्रथमतः संघको माध्यमबाट पशुपन्छी औषधि  व्यवसायीहरूलाई एउटै सूत्रमा बाँध्न सकिएको छ । समस्याहरू पर्दा एउटै थलोमा बसेर समाधान गर्न सकिएको छ । पशुपन्छी औषधि  उद्योगहरूको अलग्गै संस्था नेपाल औषधि उत्पादक संघ (एप्पोन) रहेको हुँदा उनीहरूका समस्यामा सोही संघले मद्दत गर्दै आएको छ । हाम्रा संघमा आबद्ध व्यवसायीहरूले स्वदेशी पशुपन्छी औषधि  उद्योगका उत्पादनहरू बिक्रीवितरण र प्रवद्र्धन गरिरहेको अवस्था छ । मानव र पशुपन्छीलाई आवश्यक पर्ने औषधि संवेदनशील भएकाले यसको बिक्रीवितरण तथा परामर्शका लागि तोकिएको दक्ष जनशक्ति आवश्यक हुन्छ । संघको निरन्तरको अथक मिहिनेत र प्रयासपछि औषधि  व्यवस्था विभाग र पशु सेवा विभाले संयुक्त रूपमा व्यवसायी तालिम सञ्चालन गर्न थालेका हुन् । फर्म नै बन्द गर्नु पर्ने अवस्थाका व्यवसायीहरूलाई यसले ठूलो राहत मिलेको छ ।

२०६४ सालदेखि सुरू भएको व्यवसायी तालिमको पाठ्यक्रम तथा सहभागितासम्बन्धी कार्यविधिहरूमा समयसापेक्ष परिमार्जन जरूरी छ । व्यवसायीहरूलाई विपतमा राहत, सन्तति छात्रवृत्ति, व्यवसायीबीचको विवादमा मध्यस्थतालगायतका अनेकन राम्रा कामहरू पनि भएका छन् । यी सबैको प्रतिफल पाउने भनेका व्यवसायीहरू नै हुन् । रह्यो कुरा, राष्ट्रलाई दिएको योगदान, पशुपन्छी औषधिसम्बन्धी नीति–नियम, कर, भन्सारलगायत आर्थिक नियमहरू । व्यवसायलाई आवश्यक पर्ने नीति तर्जुमाका लागि सरोकारवाला निकायले अहिले संघलाई सम्पर्क राख्न थालेका छन् । संघले हासिलक गरेका उपलब्धिमध्ये यो प्रमुख हो । पशुपन्छी औषधि  व्यवसायीहरूको हकहित कायम राख्दै तथा स्वच्छ प्रतिस्पर्धात्मक व्यवसायका लागि संघले उत्प्रेरणा जगाउने हो । यो नियमक निकाय नभएकाले सहजीकरण गर्ने अभिन्न संस्था हो । पदाधिकारीलगायत सबै सदस्यहरू आ–आफ्नो व्यवसाय पहिले, अनि संघ पछि भनेर लागेका हुन्छन् । यो स्वाभाविक पनि हो । हालसम्मका गतिविधिहरू हेर्दा कुनै अध्यक्षको कार्यकालमा संघ अल्लि सुस्ताएको अनि कुनैको पालामा अल्लि फस्टाएको जस्तो देखिन्छ । तर तोकिएको अवधिसम्म राम्ररी संघ हाँक्छु भनेर निर्वाचित हुने व्यवसायीहरूले आफ्नो व्यवसायलाई व्यवस्थित गरेर साह्रा ध्यान संघमै केन्द्रित गर्न जरूरी हुन्छ ।

भुलेको बाटो र अबको कार्यदिशा

मेरो विचार र अनुभवमा विधानले निर्दिष्ट गरेका आधारमा संघ चलिरहेको देखिन्छ र यसलाई निरन्तर डो¥याउने काम कार्यसमितिका पदाधिकारीको मात्रै नभई आबद्ध सबै सदस्यहरूको समेत हो । यदाकदा व्यक्तिभन्दा पनि संघको गरिमालाई सरोकारवाला निकायहरूबीच अल्लि बढी उजागर गर्नुपर्ने आवश्यकता देखिएको छ । यस्तै, छिमेकी मुलुक र विश्वमा रहेका हाम्रैजस्तो समान उद्देश्य भएका संघसंस्थाहरूको सदस्यता लिने या सम्बन्ध विस्तार गरी अनुभव आदानप्रदानका लागि जरूरी भइसकेको छ । यसबाट हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय जगतमासमेत हुनेछ र उनीहरूको सिकाइबाट हामीले भरपुर लाभ लिन सक्नेछौं ।

पशुपन्छी औषधिका उपभोक्ता पशुपन्छी नै हुन् । कोभिड–१९ पछि सिर्जित आर्थिक मन्दीका कारण पशुपन्छीमा आधारित व्यावसायिक फार्महरू क्रमशः बन्द हुँदै गएका छन् । भएकाहरूले पनि कारोबार कम गर्दै जेनतेन धानिरहेका छन् । यस्तो अवस्थामा औषधि  व्यवसाय पनि क्रमशः घट्दो छ । यो व्यवसाय चक्र हो, आगामी दिनमा पशुपन्छी औषधिका सबै सरोकारवालाहरूसँग घनीभूत छलफल चलाउँदै सबैको व्यवसाय बचाउनका लागि संघले पहलकदमी लिनु पर्छ । पशुपन्छीपालनका क्षेत्रमा खुलेका महासंघलगायत उच्च सरकारी संयन्त्रमा अन्य क्षेत्रको प्रतिनिधित्व देखिन्छ तर संघको प्रतिनिधित्व नहुँदा नीति निर्माणमा हामीहरूले गर्नुपर्ने बहस, पैरवी र वकालतहरूमा कमी आएको देखिन्छ, यसलाई बढाउन जरूरी छ । संघीय संरचना अनुसार संघ र प्रदेश दुवैको अधिकार क्षेत्रमा औषधि  रहेको अवस्था छ । प्रदेश सरकारका नीति निर्माणमा हाम्रो संघले खासै समन्वय गर्न सकेको देखिन्न । पसल दर्ताको सम्बन्धमा प्रदेश सरकारले कानून बनाउन सक्ने अवस्था छ । त्यसतर्फ पहल गर्न सकेका छैनौं । यस व्यवसायको अन्तिम कडी भनेकै मुलुकभर छरिएका खुद्रा औषधि  व्यवसायीहरू भएकाले बढी ध्यान उनीहरूको समस्या समाधानतर्फ हुनुपर्छ ।

आयातकर्ता, वितरक, होलसेलर र रिटेलरहरूका आ–आफ्नै खाले समस्या छन् । यी समस्याहरूलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा समाधानको योजना बनाउन सक्नु प¥यो । यसका लागि पशुपन्छी औषधि  व्यवसायका चार वटै आयामका समस्याहरू एउटै बास्केटमा नहाली क्षेत्रगत आधारमा संकलन गर्दै संघको रणनीतिक योजना बनाउन ढिलो भइसक्यो । जसबाट हाम्रो संघको सबल दुर्बल पक्षसँगै अवसर तथा चुनौतीहरूको पहिचान र अध्ययन हुँदा आगामी कार्यदिशा तय गर्न सहज हुन्छ ।  नेपालमै पशुपन्छीका औषधि  उत्पादनमा पनि व्यापकता आइरहेको अवस्था छ । उनीहरू नेपाल औषधि  उत्पादक संघ (एप्पोन) मा आबद्ध हुने हुँदा हाम्रो संघले कसरी पशुपन्छीका औषधि  उद्योगसँग सहकार्य गर्न सकिन्छ भनेर छलफल आरम्भ गर्नुपर्छ । ‘स्वच्छ प्रतिस्पर्धायुक्त व्यवसाय’लाई नारा मात्रै नभई सबै तहका व्यवसायमा लागू गर्न सकेमा संघको मर्यादा र गरिमा दुवै बढ्छ ।