‘व्यावसायिक हकहितका लागि मेरो उम्मेदवारी’

पशुपन्छी औषधि व्यवसायी संघको समस्या के हो ?
संघको भन्दा व्यवसायीका थुप्रै समस्याहरू छन् । हुन त संघ पनि समस्यारहित छैन । तथापि, व्यवसायीका समस्या गम्भीर प्रकृतिका छन् । यी समस्याहरूको छिटो समाधान भएन भने व्यवसाय नै चौपट हुन सक्छ । एक प्रकारले भन्ने हो भने पशुपन्छीको औषधि व्यवसाय नै ध्वस्त हुने अवस्थामा पुगेको छ । व्यवसायीहरूको पुस्तान्तरण नहुँदा लाखौं, करोडौं रूपैयाँ जोखिममा पर्न सक्ने डर छ । वर्षौंदेखि व्यवसाय गर्नेहरूको फर्म दर्ता हुन सकेको छैन ।

तपाईंले संघको उपाध्यक्ष (थोकतर्फ)को उम्मेदवारी दिन तयारी पनि थाल्नुभएको छ । तपाईंको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी व्यावसायिक हकहितका लागि नै हो । औषधि व्यवसायीको उत्थान र संरक्षण मेरो पहिलो प्राथमिकता हो । सरकारको गलत नीतिका कारण अहिले पोल्ट्री र पशुपालन व्यवसाय ध्वस्त हुन लागेको छ र यसको प्रत्यक्ष प्रभाव औषधि व्यवसायीमाथि पनि परिहेको छ । त्यसैले कुखुरा, पशुपालन व्यवसायको संरक्षणतर्फ पनि हामीले आफूलाई प्रस्तुत गर्नुपर्छ ।

संघका आयातकर्ता, थोक र खुद्रा व्यवसायीको समस्या पनि विकराल छ । उनीहरूको समस्यालाई तत्काल सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन म आफूलाई केन्द्रमा राख्नेछु । यस्तै संघका व्यवसायीहरूको पुस्ता हस्तान्तरण पनि आवश्यक छ । यसका लागि मेरो संघर्ष रहने छ ।

वर्तमान कार्यसमितिको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वर्तमान कार्यसमितिमा कतव्र्यनिष्ठ साथीहरू नै छन् । उनीहरूलाई हामीले नै जिताएर पठाएका हौं । यद्यपि, भनिएका र सोचिएका धेरै काम भएनन् । तथापि, यो कार्यकाल सफल नै रहेको छ । व्यवसायीलाई तालिम दिएर थप हौसला मिलेको छ ।

संघमा अब आउने नयाँ नेतृत्व कस्तो हुनुपर्छ ?
यस महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्व व्यवसायीको हक र अधिकारका लागि कटिबद्ध हुनुपर्छ । संघको चौतर्फी विकासमा केन्द्रित हुने नेतृत्व हुनुपर्छ । हामीलाई काम गर्ने नेतृत्व चाहिन्छ ।