थोक र खुद्राको पनि समस्या उठाउन उम्मेदवार बनेको हुँ,संघलाई डिजिटलाइज्ड गर्छु

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको गत महाधिवेशनमा रितेश रिमालसँग झिनो मतान्तरले पराजित विकास शर्मा तिमिल्सिना हारको इतिहास मेट्न यस पटक पनि पुनः यही पदमा उम्मेदवार बनेका छन् । पूर्वअध्यक्षको साथसहयोग रहेको बताउने तिमिल्सिना संघलाई डिजिटाइज्ड गर्न भूमिका खेल्ने बताउँछन् । तिमिल्सिनासँग संघको महाधिवेशन, उनको उम्मेदवारी, भावी कार्ययोजनालगायत विषयमा भेट टाइम्स मासिकले गरेको कुराकानी :

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशनमा तपाईं उपाध्यक्ष थोकतर्फ उम्मेदवारी किन दिनुभएको हो ?
म विगत २५ वर्षदेखि यो पेशमा छु । मैले खुद्राबाट यो व्यवसाय सुरु गरको हुँ । थोकको व्यवसायमा चाहिँ पछि आएको हुँ । त्यसैले मैले थोक र खुद्रा व्यवसायीका सबै समस्या बुझेको छु । यो कार्यसमितिमा थोक र खुद्राका समस्या खासै सुनिएको छैन । थोक र खुद्राका उठ्न नसकेका समस्यालाई समाधान गर्न मैले उम्मेदवारी दिएको हुँ । विगतमा पनि म उम्मेदवार भएको थिएँ र झिनो मतले पराजित भएको थिएँ ।

तपाईंले उम्मेदवारी दिँदा व्यवसायीहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
व्यवसायी साथीहरूको प्रतिक्रियाभन्दा पनि उहाँहरूकै आग्रहमा मैले उम्मेदवारी दिएको हुँ । विगतमा म झिनो मतले पराजित हुँदा साथीहरूले गल्ती महसुस गर्नुभएको थियो । यो पटक आफ्नो चाहनाले भन्दा पनि उहाँहरूकै दबाबले उम्मेदवार बनेको हुँ ।

सात प्रदेश र जिल्ला शाखाहरूबाट ममाथि उम्मेदवार बन्न दबाब आएको छ । संस्थाका पूर्वअध्यक्षहरू भूपेन्द्र गौतम, कम्पोज बडाल, नवराज शर्मालगायतले पनि संघमा मजस्ता व्यक्ति आवश्यक रहेको बताउनुभएको छ ।

चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यसमा म ढुक्क छु । मलाई त चुनावै होला जस्तो पनि लाग्दैन । नेतृत्व चयन सम्भवतः सहमतिकै आधारमा हुन्छ जस्तो लाग्छ । मैले व्यवसायको एजेण्डा बोकेर हिँडेको छु । त्यो एजेण्डा स्थापित गर्न, व्यवसायीको हकहितका लागि साथीहरूले यस पटक मलाई विश्वास गर्नु हुनेछ ।

थोक व्यवयायीका मुख्य समस्याहरू के हुन् ?
अहिले संघ ३ तहमा बाँडिएको छ–थोक, खद्रा र आयातकर्ता । खुद्रा व्यवसायीका आ–आफ्नै समस्या छन् । हामीले के पनि बुझ्नु पर्छ भने यो व्यवसाय किसानसँग पनि जोडिएको छ । त्यसैले किसान रहे खुद्रा रहला, खुद्रा रहे थोक व्यापारी रहन्छन् । थोक रहे मात्रै आयातकर्ता रहने हो । तीनै तहबीच अन्योन्याश्रित सम्बन्ध छ । आयात गर्ने साथीहरूले सहकारी, डेरीलाई सिधा औषधि बेच्दा खुद्रालाई असर परिरहेको छ ।

पालिकाहरूले औषधि खरिद गर्दा दूरदराजमा रहेका खुद्रा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । किनभने, पालिकाहरूले औषधि खरिद गरी निःशुल्क बाँड्ने गरेका छन् । यसरी पालिकाले औषधि बाँड्दा किसानले आफूले चाहेको औषधि किन्नु परेन । तर यसको मार खुद्रा व्यवसायीले खेपिरहेका छन् । सरकारले निःशुल्क औषधि बाँडनु हुँदैन भनेको होइन तर सरकारको सप्लाई चेनलाई परिवर्तन गरी खुद्रा व्यवसायमार्फत् कारोबार हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

आयात, थोक र खुद्राको संरक्षण गर्ने योजना सुनाउनुभयो । तर यसको कार्यान्वयन कसरी गर्नुहुन्छ त ?
संघ कार्यान्वयन गर्ने निकाय होइन । तर, हामी सहजीकरण गर्न सक्छौं । यद्यपि, हामी व्यवसायीले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्छ । अर्थात् संघमा आबद्ध रहेका व्यवसायीहरू जस्तो ः आयातकर्ताले आफ्नो धर्म निर्वाह ग¥यो भने थोक र खुद्रालाई समस्या हुँदैन । यस्तै थोक र खुद्राले पनि आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ जसबाट अरूलाई समस्या हुनुहुँदैन । सबै व्यवसायी आफ्नो कार्यक्षेत्रभित्र रहेर व्यवसाय गर्नुपर्छ । यसका लागि तीन वटै पक्षबीच सहमति आवश्यक छ र म त्यसका लागि पहल गर्छु ।

संघलाई नै व्यवस्थित बनाउन तपाईंको योजना के छ ?
संघबाट व्यवसायीले धेरै नै आशा गरेका छन । हामीले सबै व्यवसायीको समस्या बुझेर यसको सचिवालयलाई दुरस्त बनाउनु पर्छ । संघलाई डिजिटलाइज्ड गर्नुपर्छ । औषधि व्यवस्था विभागमा दर्ता गर्नका लागि संघमार्फत व्यवस्था मिलाउनु पर्छ । यसो भयो भने व्यवसायीलाई राहत हुन्छ । कर र अडिटका विषयमा पनि संघले नै पहलकदमी गर्नुपर्छ । यसका लागि संघभित्र छुट्टै हेल्प डेस्क व्यवस्था गर्नुपर्छ । यी काम भए भने व्यवसायीलाई त राहत पुग्छ नै संघ पनि बलियो हुन्छ ।

सहमतिमा नेतृत्व चयनको विकल्प हुँदाहुँदै यसको प्रयोग भएको छैन । के भन्नुहुन्छ ?
चुनाव हुनु गलत होइन, यो प्रजातान्त्रिक प्रक्रिया नै हो । नेतृत्वका लागि हुने प्रतिस्पर्धा संघको लोकप्रियताको कारणले हो, संघप्रति माया र सद्भावले हो । प्रतिस्पर्धा भएन भने संघ बलियो हुन सक्दैन ।

महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई तपाईंको सन्देश के छ ?
महाधिवेशनमा म सबै प्रतिनिधिलाई स्वागत गर्दछु । यस पटक सायद सर्वसम्मतमा नेतृत्व चयन हुन्छ होला । कदाचित चुनाव भइहालेमा मलाई अत्यधिक मतले विजयी गराइदिनु होला भन्ने आग्रह गर्दछु ।