कस्तुरीको सुगन्ध र एनभिएमए

पशुपन्छी औषधिको बजारीकरण गर्न र औषधि बजार प्रतिनिधिमा आबद्ध भएर ०७३ सालमा झापाको बिर्तामोडमा नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ  गठन भएको हो । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यो संघ हाल झापासहित विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटबल, काठमाडौं गरी ८ वटा शाखामा फैलिएको छ । यस संघको मुख्य उद्देश्य भनेको भेटेरिनरी औषधिको बिशुद्ध बजारीकरण गर्ने, जुनसुकै तह र तप्कामा रहेका व्यक्तिलाई एकीकृत गरी पेशागत, सीप, दक्षता, ज्ञान र व्यवसायिकताको अभिवृद्धि गर्ने र यसमा आबद्ध सदस्यहरूको हकहितका लागि निरन्तर क्रियाशील रहने नै हो ।

भेटेरिनरी पेशाका अन्य सम्बद्ध पक्षहरू जस्तै भेटेरिनरी डाक्टर, पशु प्राविधिक व्यवसायी आदि सबैको एउटा संगठित र सुदृढ संघ भएको परिप्रेक्ष्यमा यसै पेशाको एउटा महत्वपूर्ण हिस्सा ओगट्ने र सबै सम्वद्ध पक्षहरूको सम्वद्र्धन गर्न औषधि बजार प्रतिनिधिहरूको पनि एउटा एकीकृत, सबल र सुदृढ संघकोे आवश्यकता महसुस गरी यो संस्थाको सुरुवात र विस्तार भएको हो । नेपालमा भेटेरिनरी औषधिको इतिहाससँगै जोडिएको भेटेरिनरी औषधिको मार्केटिङ पेशा वर्तमानसम्म पुग्दा पनि संस्थागत रूपमा निकै टाढा रहेको तीतो यथार्थ हामीसामु छ ।

लामो समयदेखि यस पेशामा आबद्ध भएर मार्केटिङ्ग प्रतिनिधिको काम गर्दै आफ्नो अलग्गै पहिचान बनाएता पनि संस्थागत रूपमा एनभिएमएले आफ्नो परिचय र पहिचान बनाउन सकेको छैन । यसमा सबैभन्दा बढी जिम्मेवार स्वयं हामी औषधि बजार प्रतिनिधिहरू नै हौं । भगवान् गौतम वुद्धले ‘सङ्घम् शरणम् गच्छामि’ भने जस्तै संघमा आबद्ध साथीहरूले मनन गर्ने हो भने यस संघको परिचय र अस्तित्वलाई अलग्गै स्थानमा पु¥याउन सकिन्छ ।

हामी मार्केटिङ प्रतिनिधि त हो तर हामी अन्य उपभोग्य वस्तुको मार्केटिङभन्दा नितान्त भिन्न र संवेदनशील वस्तु औषधिको मार्केटिङ गरिरहेका छौं । हेक्का राख्नु पर्ने कुरा के हो भने औषधि एउटा विज्ञान, वैज्ञानिक संसाधन हो ।

त्यस कारण हामी अत्यन्त महत्वपूर्ण जिम्मेवारीपूर्ण स्थानमा छौं । कुनै पनि औषधि पशु चिकित्सक तथा पशु प्राविधिकहरूलाई विस्तृत बताएर र सम्झाएर प्रेस्क्रिप्सन अनुसार सिफारिस भएको औषधि सरल र सहज तरिकाले किसानसम्म पु¥याउन औषधिका उत्पादनकर्ता तथा आपूतितकर्ता, थोक र खुद्रा बिक्रेतालाई जोड़ने सेतुका रूपमा पनि हामीले काम गरिरहेका छौं । कुनै पनि औषधिलाई ब्राण्डेड बनाउन पनि हाम्रो ज्ञान, सीप, दक्षता, शैली, लगनशीलता र मिहिनेत अहं छ ।

तर पनि हामी सुगन्ध बोकेर अल्मलिएका कस्तुरीजस्तै भएका छौं । केही विचलन हामीमा पनि छ । तर यो एक बहुआयामिक समस्या हो र यसको समाधान सही तरिकाले हुनुपर्छ र समाधानका उपाय बृहत् तरिकाले खोज्नुपर्छ । यसका अन्य सम्बद्ध पक्षको पनि वैयक्तिकस्तरमा दिइएको साथ सहयोग, माया, सद्भावलाई संस्थागततवरमै लगेर समग्र भेटेरिनरी पेशालाई शुुद्ध, सबल, व्यवस्थित, मर्यादित र व्यावसायिक क्षेत्रको रूपमा अगाडि लैजान जरुरी छ ।

पेशागत रूपमा जसरी हामी सबै सरोकारवाला पक्षलाई समभाव र समदूरीमा राखेर नितान्त व्यावसायिकतवरमा काम गर्छौं, संस्थागतस्तरमा पनि अन्य संघ÷संस्थाहरूसँग हातेमालो गर्दै पशु, किसान र समग्र भेटेनरी पेशाको वृद्धि, विकास र उत्थानका निमित्त विभिन्न साझा कार्य र सह–अस्तित्वमार्फत अगाडि बढ्न सधैं लालायित र तत्पर छौं ।