अनलाइनमा कुकुर बेच्नेले ग्राहकलाई धोका दिए

बनेपाका सुमन चौ प्रधानले दुई दशकअघि नै व्यावसायिक यात्रा थालेका थिए । सुरुमा उनले क्याटल, पोल्ट्री, पेट, कृषि फार्म सबै हेर्थेँ । तर एक दशक गुजारेपछि उनलाई लाग्यो, सबैतिर छरिनुभन्दा एउटै काम गरौं । त्यसपछि उनले निधो गरे पेट क्षेत्रमा मात्र केन्द्रित हुने । ०७० मा सञ्चालनमा आएको बनेपा पेट केयर एण्ड क्यानल होम त्यही सोचको उपज थियो । सुरुमा उनले यो पेशा अगाल्दा धेरै मजाकमा उडाउने गरेका थिए । तर अहिले समाज बदलिएको उनको अनुभव छ ।
‘पहिले त कुकुर व्यवसाय गरेको सुनेर मान्छे अचम्मित हुन्थे । हाँस्ने, गिज्याउने, मजाकमा उठाउने गर्थे । जस्तोः कुकुरको पनि पसल हुन्छ ? भनेर हतोत्साहित गर्थे । वितृष्ण जगाउन खोज्थे । अहिले परिस्थिति फेरिएको छ । समाज धेरै बुझ्ने भइसकेको छ,’ उनले भेट टाइम्स मासिकसँग आफ्नो अनुभव साझा गरे । काठमाडौं उपत्यकाबाहिर पेट व्यवसाय सञ्चालन गरेर सफलता हासिल गर्ने व्यवसायीमध्ये एकमा गनिने प्रधानसँग केनल व्यवसाय थालनी, संघर्ष र उपलब्धिलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकले गरेको सवाल :

केनल क्लबको व्यवसायिक यात्रा कहिलेदेखि सुरु गर्नुभयो ?
आफ्ना भनाइ राख्ने अवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम म भेट टाइम्स मासिकलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मैले भेटेरिनरीको व्यावसायिक यात्रा ०६० सालदेखि थालेको हुँ । सुरुमा म क्याटल, पोल्ट्री, पेट, कृषि फार्म सबै हेर्थेँ । एक दशकपछि लाग्यो, सबैतिर छरिनुभन्दा एउटै काम गरौं । ०७० मा पेट क्षेत्रमा मात्र केन्द्रित हुने निधो यही सोचको उपज थियो ।

यो पेशामा लाग्दाको सुरुवाती अनुभव कस्तो रह्यो ?
पहिले त कुकुर व्यवसाय गरेको सुनेर मान्छे अचम्मित हुन्थे । हाँस्ने, गिज्याउने, मजाकमा उठाउने गर्थे । जस्तोः कुकुरको पनि पसल हुन्छ ? भनेर हतोत्साहित गर्थे । वितृष्णा जगाउन खोज्थे । अहिले परिस्थिति फेरिएको छ । समाज धेरै बुझ्ने भइसकेको छ ।

मानिसहरूलाई पेशा तथा व्यवसायमा लाग्न विभिन्न कुराले प्रेरित गरेको हुन्छ । तपाईंको हकमा त्यस्तो उल्लेख्य केही छ कि ?
मेरो व्यवसाय गर्ने स्थल, क्षेत्र भनेको काभ्रे र यस आसपासका जिल्ला हुन् । यी त्यस्ता क्षेत्र हुन् जुन अहिले द्रुत गतिमा शहरीकरण र बजारीकरण हुँदै गएका छन् । यी क्षेत्रमा पेट व्यवसाय कसैले नगरेको भएर नै मैले पाइला हालेको हुँ । सुरुवाती दिनमा धेरै नै कठिनाइ थिएँ । तथापि, बनेपा भेटेरिनरी सेन्टरका डा. हरिप्रसाद मानन्धरज्यूबाट सल्लाह तथा सुझाव र परिवारका तर्फबाट साथ सहयोग पाइरहेँ । मेरो यो यात्राका सारथि भनौ या प्रेरक उहाँहरू नै हो ।

केनल व्यवसायको अहिलेको अवस्था कस्तो छ ?
अहिले पूरै देश आर्थिक मन्दीको चपेटामा छ । यसले सबै व्यापार व्यवसाय सुस्ताएका छन् । त्यसैले केनल व्यवसायमा पनि यसको असर परेको छ । विगतको भन्दा करिब आधाले व्यापार घटेको छ । घरपालुवा जनावर अति आवश्यक नभएकाले पनि व्यापार घटेको मेरो विश्लेषण छ ।

यस क्षेत्रमा हाल के, कस्ता समस्याहरू छन् ?
अहिले केनल व्यवसायमा थुप्रै चुनौतीहरू देखिएको छ । जमाना नेटवर्किङको छ । अनलाइन व्यापार गर्नेहरूले जस्तो पायो त्यस्तै कुकुरका बच्चा बिक्री गरिरहेका छन् । गुणस्तर नभएका कुकुरका बच्चाहरू सस्तो मूल्यमा बेच्ने, कोहीले झुक्याएर बढी मूल्यमा कुकुरका छाउरा छाउरीहरू बेच्ने र प्रलोभन देखाई झुक्याउने र आफ्नो आइडी नै ब्लक गर्नेजस्ता गतिविधि गर्ने गरेका छन् । यो प्रवृत्तिले धेरै सेवाग्राही मारमा परेको सुन्न तथा देख्न पाइन्छ । त्यसैले म आम ग्राहक वर्गमा सरकारी निकायमा दर्ता आधिकारिक केनल वा पसलबाट कुकुरका बच्चा लिन अनुरोध गर्न चाहन्छु ।

अर्को जटिल समस्या भनेको यो व्यवसायमा नेपाल सरकारले खासै ध्यान दिएको देखिँदैन । व्यवसाय दर्ता नभएका पसलहरूलाई आधिकारिक रूपमा दक्ष र सक्षम भएकाहरूलाई नियममा राखी दर्ता गराउने र ज्ञान नै नभएका केही महिना केनलमा काम गर्ने व्यक्तिहरूले यस विषयगत ज्ञान र शिक्षा नै नलिई व्यवसाय सञ्चालन गर्नेहरूले राम्रोसंग उपचार नगर्ने, भ्याक्सिन कसरी स्टोरेज गर्ने कोल्ड चेन कति ह्ु्न्छ भन्ने सामान्य ज्ञानसमेत नभएका व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्नेहरूको तुरुन्तै सरोकारवालाहरूले अनुगमन गरी यो व्यवसायलाई नीति नियमको दायरामा ल्याउनु अति आवश्यक देखिएको छ ।

बजारमा अहिले कस्ता खालका कुकुरको माग बढी छ ?
कुकुरको मागको कुरा गर्दा ग्राहकहरूले स्थान, क्षेत्रफल हेरेर खरिद गर्छन् । सानो ठाउँ, कोठा मात्र भएका व्यक्तिहरू सानो जातको कुकुर पाल्न रुचाउँछन् भने क्षेत्रफल ठूलो, बगैंचा भएका घरहरूका ग्राहकहरू ठूलो जातका कुकुर पाल्न रुचाउँछन् । प्रायः जसो नेपालमा अहिले सोखका रूपमा पालिने कुकुरमा जापानिज स्पिज, जर्मन सेर्फड, ल्याबरोडर, गोल्डेन रिटिभर, साइबरियन हस्की, पग, म्यास्टिभ, स्पेनियल, बक्सर, भोटे आदि छन् । मानिसभन्दा कुकुर धेरै नै आज्ञाकारी र बफादार हुने भएकाले सुरक्षाको दृष्टिकोणले सुरक्षा गार्ड राख्नुभन्दा कुकुर नै पाल्ने गरेको पाइन्छ ।

कुकुर उपचारमा दक्ष जनशक्तिको अभावले सहज रूपमा औषधि उपचार नपाएको गुनासा सुनिन्छन् । तपाईंले यसलाई कसरी हेर्नु भएको छ ?
मेरो विचारमा कुकुरपालकलाई कुकुर बिरामी भयो भन्ने तब मात्र थाहा हु्न्छ जब उसले खाना नखाने र मालिक सामु नदेखिने गर्छ । मैले अघि नै भनिसकेँ कि कुकुर अत्यन्तै आज्ञाकारी र बफादार हुन्छ । यही स्वभावका कारण अलि–अलि बिरामी भएको पनि हामीलाई थाहा हुँदैन । सकी नसकी पनि उसले मालिकले भनेको कुरा मानिरहेको हुन्छ । जब अति नै गाह्रो हुन्छ, त्यसपछि बल्ल बिरामी भएको थाहा हुन्छ । त्यसैले यस्तो स्थितिमा उपचारका लागि कुकुरसम्बन्धी दक्ष जनशक्ति विशेषज्ञ डाक्टर, पशु प्राविधिक र नेपाल सरकारबाट स्वीकृतप्राप्त स्थानहरूमा लगेर उपचार गर्नुपर्छ । जो पायो त्यसलाई देखाउँदा ठूलो समस्या आउने भएकाले सचेत रहनु पर्छ ।

उपचारका लागि आवश्यक दक्ष जनशक्ति काठमाडौं उपत्यकामा बढी छन् । त्रिपुरेश्वरमा ठूलो भेटेरिनरी हस्पिटल छ । सन् १९९० मा स्थापना भएको यो अस्पतालबाट पशुसम्बन्धी विभिन्न सेवा लिन सकिन्छ । त्यसो त अहिले भेटेरिनरीसम्बन्धी निजी अस्पताल पनि खुलेका छन् । मेरो जानकारीमा यस्ता अस्पताल २० देखि २५ को हाराहारीमा छन् । काभ्रे जिल्लामा पनि सुविधासम्पन्न बनेपा पेट केयर अस्पताल छ ।

कुकुर पाल्ने मानिसलाई के सुझाव दिन चाहनुहुन्छ ?
परिवारका सबै सदस्य मञ्जुर भएको अवस्थामा मात्र कुकुर पाल्नुपर्छ । एक जनाले कुकुर पाल्ने चाहने र अरूले नचाहने हो भने यो राम्रो हुँदैन । परिवारका सदस्य मञ्जुर नहुँदा कुकुरले राम्रो स्याहार त पाउँदैन नै व्यवहारमा पनि समस्या हुन्छ ।

यो त भयो कुकुरपालनको प्रारम्भिक कुरा । औषधि उपचारमा पनि उत्तिकै चनाखो हुनुपर्छ । वार्षिक रूपमा विभिन्न खोप कुकुरलाई दिनुपर्ने हुन्छ । यस्ता खोप नबिराई दिनुपर्छ । त्यसैगरी, जुकाको औषधीहरू, आवश्यक सामानहरू उपलब्ध गराउनु पर्छ । आज्ञाकारी बनाउन तालिम दिनुपर्छ । आफ्नो बासस्थानको क्षेत्रफल हेरी कुन जातको मन पर्छ हेरेर तथा बुझेर सम्बन्धित ठाउँ मै गएर चेकजाँच गरी प्रमाणित गरेर कुकुर लिनु बुद्धिमानी हुन्छ ।

त्यसैगरी समय समयमा अथवा आवश्यकता अनुसार कम्तीमा पनि ६ महिनाको अन्तरालमा भेट टेक्निसियन वा भेट डाक्टरकोमा चेकजाँच गराउन लानु पर्छ । यसो गर्दा कुकुर पनि स्वस्थ्य रहन्छ र घरायसी समस्या पनि न्यून हुन्छ । यसो नगरेमा घरायसी समस्याहरू आउन सक्छ । जस्तै ः कपाल धेरै झरेर तनाव हुने, शरीर गन्हाउने, मुख गन्हाउने, कुकुरसँग खेल्दा जिस्किँदा दाँत वा नङले चोट पटक लागेमा तनाव हुने, बिरामी भइराख्ने हुन्छ । तपाईंको कुकुरप्रतिको माया, चासो कम हुदै जाने भएकोले नियमित चेकअप अति नै आवश्यक हुन्छ ।

यस व्यवसायलाई थप व्यवस्थित बनाउन राज्यले के के गर्नुपर्ने देख्नु हुन्छ ?
व्यवसायलाई थप व्यवस्थित गर्न पहिले त व्यवसायरत व्यक्ति दक्ष भए÷नभएको राज्यले हेर्नुपर्छ । तिनले सरकारको मापदण्ड अनुसार व्यवसाय गरेका छन् कि छैनन्, त्यो पनि हेर्न अपरिहार्य छ । तर यो क्षेत्रमा कतिपय ज्ञान, सीप र शिक्षाबिनै हचुवाका भरमा प्रवेश गरेका छन् । त्यस्ता व्यक्तिको अल्पज्ञानले बिना कारण कुकुर मर्ने गरेका छन् ।

त्यसैगरी, सडकका छाडा कुकुर पनि ठूलो समस्याका रूपमा रहेका छन् । यसको व्यवस्थापनका लागि स्थानीय तहले डग सेल्टर स्थापना गर्नु आवश्यक छ । सँगै बन्ध्याकरण र स्पेइगंको पनि व्यवस्थापन हुनुपर्छ ।

सरकारले व्यवसाय गरिरहेका व्यक्तिहरूलाई आवश्यक पर्ने कागजातहरू प्रमाणित गरी दर्ता गराउन सहज गराउने र बेला–बेलामा पुनर्ताजगी गर्नुपर्छ । देखापरेका समस्या र तिनको समाधानका लागि गोष्ठी, तालिम दिनु पनि आवश्यक छ । नेपालमा अहिले केनल व्यवसाय राम्रो छ । लाखौं रूपैया पर्ने कुकुर ठूलो संख्यामा पालन गरी फार्म सञ्चालन गर्न चाहनेको सुरक्षा तथा आत्मविश्वास वृद्धिका लागि बीमाको प्रबन्ध गर्न अति आवश्यक छ ।