बादर आतंक र समाधान:के बन्ध्याकरण गरेर बाँदर आतंक अन्त्य गर्न सकिन्छ ?

सहर र गाउँ सबै क्षेत्रमा अहिले बाँदर आतंक छ । काठमाडौंकै पशुपति, स्वयम्भू, बालाजु आसपासका क्षेत्रमा बाँदरले पैदल यात्री, तीर्थालुलाई चिथोर्नेदेखि घरमै आएर सामान लैजानेसम्मका गतिविधि गरेर हैरानी दिने गरेका छन् । गाउँमा बाँदरको साम्राज्य नै छ । लगाएका बाली बाँदरले खाइदिने भएकाले यसकै कारण बसाइँ सर्ने क्रम बढ्दो छ ।

बाँदरका लागि एकातिर बासस्थान सीमित हुँदै गएका छन् भने अर्कातिर खाने कुराको कमी भइरहेको छ । तर बाँदरको संख्या भने बढेको बढ्यै छ । काठमाडौमा बढेको सामुदायिक कुकुरको रेविज बाँदरसम्म पुग्ने जोखिम उतिकै छ र बाँदरबाट मानिसमा विभिन्न रोग (Hep b / HIV) समेत सर्दछन् । तसर्थ यस्ता सहरी इलाकामा बाँदर व्यवस्थापनको उचित उपाय भनेको ठूला प्राकृतिक केज बनाई राख्ने वा बन्ध्याकरण (Catch, neuter, release) नै हो जुन अत्यन्त प्रभावकारी हुनसक्छ।

बन्ध्याकरण गरेका बाँदरमा पहिचान चिह्न ९ःष्अचयअजष्उ० समेत हुने हुँदा यिनीहरूको निगरानीसमेत सहज हुनसक्छ । अन्य घरपालुवा पशुमा र सामुदायिक कुकुरमा समेत बन्ध्याकरण गर्ने प्रचलन छ । बाँदरमा पनि यो काम गर्न सकिन्छ । बाँदरले कृषकको बाली नोक्सान गर्ने भएपछि बाँदरलाई बन्ध्याकरण गर्ने सम्बन्धमा भारतका विभिन्न प्रान्त जस्तै उत्तर प्रदेश, हिमाञ्चललगायतमा बाँदरलाई बन्ध्याकरण गर्ने नीति अवलम्बन गरेको पाइन्छ । सन् २००६ देखि २०१८ सम्ममा हिमाञ्चल प्रदेशमा मात्रै करिब १४ लाख पोथी बाँदरलाई बन्ध्याकरण गरिएको थियो ।

केही महिनाअघि श्रीलंकाबाट १ लाख बाँदर चीन निर्यात गर्ने समाचार नेपाली मिडियामा समेत छाएको थियो । नेपालमा केही वर्ष पहिले बाँदरको प्रजनन गरी निर्यात गर्न समेत विभिन्न चरणमा काम भएको थियो, जुन पछि अदालतको आदेशबाट सफल हुन सकेन।

मानव समुदायको लागि औषधि विकासको क्रममा अन्तिम चरणमा बाँदरमा त्यसको परीक्षण गर्न लागिएको थियो भनिन्छ । गाउँमा कृषकले वर्षभरि गरेको लगानी, मिहिनेत र पसिना बाँदरले एकै दिनमा एकै छिनमा माटोमा मिलाइदिन्छ । बाँदर आतंक प्रत्येक गाउँमा छ । त्यसैले गाउँपालिका महासंघले बाँदर, बँदेल र दुम्सी नियन्त्रणको लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागमा अनुरोध गर्दै आइरहेका छन र खेत आउने ती जनावर धपाउने क्रममा मरेमा कानुनी कारबाही नगर्न अनुरोध गर्दै आइरहेका छन् । कति स्थानमा पासोमा पार्ने , विष हाल्ने, करेन्ट बिछयाउनेजस्ता पशु कल्याणविरोधी गतिविधिसमेत भएको पाइन्छ । यसरी मार्नुभन्दा त बन्ध्याकरण गरी संख्या नियन्त्रण गर्नु उचित होला ।

यसर्थ अन्य विभिन्न मुलुकमा समेत प्रचलनमा रहेकाले नेपालमा पनि विभिन्न पशुमा अपनाइएको बन्ध्याकरण विधिबाट बाँदर नियन्त्रण गर्नु उपयुक्त विकल्प हुन सक्छ । थाइल्यान्डमा समेत बाँदरको प्रकोप बढेपछि लठ्ठयाएर(anesthesia), दुवै भाले पोथीलाई बन्ध्याकरण गरेको पाइन्छ । यसको आर्थिक व्यवस्थापन महत्त्वपुर्ण हुन्छ नै ।

यसका अतिरिक्त बाँदरको स्थानान्तरण गर्ने, जंगल र बस्ती क्षेत्रको बीच भागलाई लक्षित गरी हेरालु राख्ने, बाँदरलाई मन नपर्ने वनस्पति जंगल र बस्तीबीच लगाउने, बाँदर निर्यात गर्ने आदि विषय पनि व्यापक छलफल र सहमतिमा अपनाउन सके बाँदर नियन्त्रण हुन सक्छ । होइन भने गाउँबाट मानिस बाँदर, चितुवा, दुम्सी, बँदेल आतंकका कारण पलायन हुने स्थिति अझ बढेर जानेछ । यसले बेरोजगारी, खाद्य असुरक्षा त बढाउने छ नै गाउँबाट सहर आउने प्राङ्गारिक उत्पादन घटने छ । गाउँ रित्तिने र सहर थप भरिने हुँदा मानिसको रोजीरोटी व्यवस्थापन गर्न सरकारलाई थप चुनौती हुनेछ । साथै यसले मानवहरूमा पशुजन्य रोग सर्ने जोखिम पनि बढ्ने छ ।

भ्यू टावर र अनावश्यक संरचना बनाउनभन्दा पहिले कृषकका जीविकोपार्जनसँग सम्बन्धित यस्ता समस्या निराकरण हुन अति आवश्यक छ । यसर्थ वन्यजन्तु र मानव द्वन्द्वको (human-wildlife conflict) दीर्घकालीन समाधानतर्फ सबैले सोच्नुपर्छ ।

(सुवेदी नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव हुन्)