भेटखबर ब्युराे
काठमाडौं । मानव स्वास्थ्यलाई नै असर गर्ने एन्टिबायोटिक औषधी मिसाएर कुखुराको दाना उत्पादन गर्न उद्योगीले प्रतिबन्धित एन्टिबायोटिक औषधी आयात गरेको पाइएको छ । भारतको रभिओजा बायोटेक कम्पनीले उत्पादन गरेको अत्यधिक महँगो भिमोलिन ८० प्रतिशत जिएम (टाइमोलिन) औषधी आयात गरेको पाइएको हो ।
काठमाडौंको तीनकुनेमा सञ्चालित आफूलाई प्रतिष्ठित कम्पनी बताउने सिद्धार्थ पेलेट फिड प्रालिले फिडसप्लिमेन्टको प्रज्ञापन पत्र बनाएर उक्त औषधी विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराई आयात गरेको पाइएको हो । भेट खबरलाई प्राप्त मिति २०७६ मंसिर १३ गतेको ६४९५६ नम्बरको प्रज्ञापनपत्र मार्फत उक्त औषधी सिद्धार्थले अवैध रुपमा आयात गरेको पाइएको छ । (हेर्नुहोस् तस्बिरमा)
विराटनगर भन्सार कार्यालय स्रोतका अनुसार सामानको डिब्बामा एण्टिबायोटिक्स औषधीको नाम लेखेको हुनाले आयात सिफारिस नभई उक्त औषधी छोड्न नमानेका जाँचकी कर्मचारीलाई श्याम क्लियरिङ एजेन्सीका प्रोपोराइटर राजेशकुमार गुप्ता (एजेन्ट नम्बर २३७) ले आर्थिक प्रलोभन देखाएर दबाब सिर्जना गरी औषधीको नाम नै परिवर्तन गरी एन्टिबायोटिक औषधी जाँचपास गराएको पाइएको छ ।
यससम्बन्धी भन्सार एजेन्ट गुप्तासँग भेट खबरले जिज्ञासा राख्दा उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै अबदेखि सिफारिसबीना सामान नछुटाउने बताएका छन् ।
आफूले उत्पादन गर्ने कुखुराको दाना उत्कृष्ठ र गुणस्तरीय भएको दाबी गर्ने सिद्धार्थ पेलेट कम्पनीले सरकारले नै प्रतिबन्ध गरेको उक्त एन्टिबायोटिक औषधी ल्याई कुखुराको दानामा मिसाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ । कुखुराको दानामा यस्तो एन्टिबायोटिक औषधी मिसाउँदा कुखुरामा अल्पकालिन रुपमा रोग नियन्त्रण भए पनि यसले मावन स्वास्थ्यमा गम्भीर असर पर्ने भेटेरिनरी चिकित्सकहरु बताउँछन् । भेटेरिनरी एशोसिएनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले भने, ‘कसले आयात गर्यो/गरेन भन्ने कुरातिर म जाँदिँन तर यो औषधी पूर्णतया प्रतिबन्धित हो, यसले मानव शरीरलाई असर गर्छ ।’
आर्थिक ऐनको ३३५ नम्बर दफाले फिडसप्लिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ ल्याउन औषधी व्यवस्था विभाग वा पशुसेवा विभागको सिफारिस चाहिने व्यवस्था गरेको छ । तर, दुबै विभागबाट कुनै सिफारिस नै नलिई एन्टिबायोटिक औषधीलाई दाना बनाउने मकै भमटमास भनी झुटो विवरणसहितको प्रज्ञापन पत्र बनाएर उक्त औषधि आयात गरिएको पाइएकाे हो ।
पशु सेवा विभागले समेत उक्त औषधी प्रतिबन्धित भएकाले दानामा मिसाउन नपाइने पुष्टि गरेको छ । विभागका महानिर्देशक डा. वंशी शर्माले भेट खबरसँग भने, ‘विश्व पशु स्वास्थ्य संगठनको नेपाल सदस्य भएकोले कुनै पनि पशुपन्छीको आहार वा दानामा एन्टिबायोटिक औषधि मिसाउन पाइँदैन तर व्यवसायीले भन्सारमा झुटो विवरण पेशगरी राज्यलाई झुक्याएर एन्डिबायोटिक औषधि ल्याउने गरेको पाइएको छ ।’ यस्तो अवैध कार्य गर्ने दाना व्यवसायी वा जोकोहीलाई पशु सेवा विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग वा सम्बन्धित निकायले कारवाही गर्ने महानिर्देशक शर्माले बताए ।
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले पनि पशु एन्टिबायाेटिक आयात गर्न सिफारिस आवश्यक पर्ने बताए । भेट खबरको जिज्ञासामा उनले भने, ‘यसबारे के भएको रहेछ, अध्ययन गरेर भन्ने छौं ।’
विराटनगर भन्सार कार्यालयले जाँचपास गरी जारी गरेको प्रज्ञापन पत्रमा सिद्धार्थ पेलेट फिड प्रालि काठमाडौंका डाइरेक्टर नारायणहरि खत्रीको नाम उल्लेख रहेको देखेपछि उनीसँग भेट खबरले राखेको जिज्ञासामा उनले भने, ‘यो औषधी पानीमा मिसाउने हो दानामा मिसाउने होइन, तर यो औषधि हाम्रो ग्रुपले नभई ग्रुपकै कुनै सदस्यले आफ्नो व्यक्तिगत प्रयोजनका लागि आयात गरेको देखिएको छ ।’ उनले सिद्धार्थ ग्रुपलाई थाहै नदिर्इ उक्त एन्टिबायोटिक औषधि आफ्नो नाममा आयात गरिएको भन्दै आपत्ति व्यक्त गरे । खत्री नेपाल दाना उद्योग संघका पूर्व अध्यक्षसमेत हुन् ।
भारतबाट अवैध रुपमा अण्डा, चल्ला, कुखरा, कुखुराको मासु, मरेका कुखुरा आयात भएको विरोधमा अभियानकै रुपमा नाकाहरुमा कडाई गर्दै हिँडेका दाना उद्योग संघका पदाधिकारी उद्याेगीबाट नै आवैध काम भएको पाइएको हो ।
नेपाल दाना उद्योग संघका अध्यक्षसमेत रहेका सिद्धार्थ ग्रुपका शेयर सदस्य रविन पुरीले आयात भएको वस्तु फिड सप्लिमेनट नभई एन्टिबायोटिक औषधी भएको स्वीकार गर्दै भेट खबरसँग भने, ‘यो औषधी दानामा मिसाउन राज्यले प्रतिबन्ध लगाएको छ तर संस्थाको नाममा व्यक्तिगत लाभका लागि कसैले आयात गरेको हुन सक्छ । हामीले यो औषधि आयात गर्न सिफारिसका लागि औषधि व्यवस्था विभाग वा पशु सेवा विभाग कसैसँग पनि सिफारिस समेत मागेका छैनौं ।’
भन्सार ऐनले भने गलत विवरण पेश गरी सामान आयात गर्ने आयातकर्तालाई कडा कारवाही हुने व्यावस्था गरेकाे छ ।