काठमाडौं । पशु सेवा विभागको महानिर्देशक (डिजी) को जिम्मेवारी सहसचिव डा. सम्झनाकुमारी काफ्लेले पाएकी छन् । सवारी दुर्घटना प्रकरणमा रामनन्दन तिवारी मन्त्रालय तानिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काफ्लेलाई त्यहाँको जिम्मेवारी दिएको हो ।
काफ्लेले विभागको महानिर्देशकमा सरुवा गरिएको पत्र आफूले बुझेको र आजै पदबहाली गर्ने तयारी गरेको जानकारी दिइन् ।
काफ्ले यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा थिइन् । प्रदेश २ को कृषि सचिव र पशु सेवा विभागको उपमहानिर्देशकको जिम्मेवारी उनले यसअघि नै निर्वाह गरिसकेकी छन् ।
यसअघि महानिर्देशक रहेका तिवारी विभागको सवारी दुर्घटना गराएपछि मन्त्रालय तानिएका थिए । यसबारे भेट टाइम्सले पहिलोपटक समाचार प्रकाशित गरेको थियो । तिवारी मन्त्रालय तानिएपछि केही सहसचिवले यसमा रुचि देखाएका भए पनि काफ्लेको पल्लाभारी भएको छ ।