केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको पृष्ठभूमिबारे केही बताइदिनुहोस् न ?
यस केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सरुवा रोग तथा परजीवी नियन्त्रण शाखा, पशु स्वास्थ्य महाशाखाअन्तर्गत प्रयोगशालाको रूपमा छ । यसको स्थापना वि.सं. ०५२ सालमा भएको हो । सुरुमा यो केन्द्रीय पशु रोग निदान प्रयोगशाला तथा पशुरोग नियन्त्रण शाखाको रूपमा स्थापना गरिएको थियो ।
२०७५ सालमा यसको नाम परिवर्तन गरियो । अहिले यो केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको नामबाट सेवा प्रवाह गरिरहेको छ ।
सुरुका दिनहरूमा नियमित दूध र गोबरको जाँच गथ्र्यो यो प्रयोगशालाले । ०६० सालबाट यसको क्षेत्र केही विस्तार भयो र मोलिकुलर (पि. सि. आर) विधिबाट पशुपन्छीका विभिन्न रोगहरूको परीक्षण थालियो । यसबाट विभिन्न रोगहरूको पहिचान भई उपचारमा सहयोग पुग्न गयो ।
यो प्रयोगशालाको क्षमता विस्तार गर्ने क्रम अझै पनि जारी छ । निकट भविष्यमा नै बर्डफ्लू र पिपिआर रोगको परीक्षणका लागि एक्रिडिटेसन विधि भित्राउने तयारी भइरेको छ ।
पशुपन्छीमा समय-समयमा देखिने विभिन्न किसिमका रोगहरूको परीक्षण कसरी गरिन्छ ? प्रयोगशालाको स्तर र क्षमता कस्तो छ ?
यो देशकै एक मात्र रिफरेन्स प्रयोगशाला हो । यसले अहिले विश्व पशु स्वास्थ्य संगठनले तोकेका मापदण्डका आधारमा Standard Operating Procedure, test protocols, Quality Guideline manual, Good Laboratory Practices जस्ता विधिहरू अपनाएर परीक्षण गरिरहेको छ । अर्थात् यसले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त गर्न लागेको छ ।
यस प्रयोगशालाले नियमित रूपमा गरिरहेका कामहरू विश्वसनीय र गुणस्तरयुक्त छ/छैन भनेर पहिचान गर्न विश्व पशु स्वास्थ्य संगठनले मान्यता दिएका जस्तै Australian Animal Health Laboratory, AAHL, International Automic Energy Agency, IAEA, Mahidol University, Thailand, Animal Health Laboratory, Thailand जस्ता प्रयोगशालाहरूसंग समन्वयगरीProficiency testing अर्थात् Test Verification गरिरहेको छ । जसमा यस प्रयोगशालाको परीक्षण अन्तर्राष्ट्रियस्तर बराबर पाइएको छ । त्यसैका आधारमा हामीलाई प्रमाणपत्रसमेत प्राप्त भएको छ ।
क्षमताको विषयमा भन्नुपर्दा नियमित पोष्टमार्टम, दूध तथा मासुको जाँच, विभिन्न रोगहरूको Rapid Test देखि मलेकुलर ( पिसिआर) विधिबाट विभिन्न रोगहरूको परीक्षण गरिरहेको छ ।
Pathology Section :
- Post-mortem Examination
- Routine blood test, Blood protozoa identification/Biochemical Test
- Parasitological Examination (Direct smear/EPG Count/Larvae culture)
- Skin Scraping
Microbiology Section
- Bacteria isolation and identification by Vitek MS/BD Phoenix
- Drug sensitivity test
- Fungus isolation and identification
- AMR Surveillance
- Rabies Test (FAT)
- HA/HI Test (AI, ND)Molecular Section ( Real Time and Conventional PCR ) Avian Diseases
- AI (Subtype Mgene, H5, H7, H9, N1, N2, N6, N8, N9)
- ND
- IBD
- Swine Diseases :PRRS- NA/EU, ASF, CSF , Salmonella , Erysipelas Small Ruminant Diseases
- PPR, CCPP, Pasteurella, Capripox, Enterotoxaemia,
- Equnie Disease : Glanders,
- Large Ruminant : LSD
- Others: Rabies , Anthrax, Brucella Serology Unit
- ELISA : Swine Disease (PRRS, Brucella), Small Ruminant (CCPP, PPR, Enterotoxaemia) and Large Ruminant (M.bovis, CCHF, Bovine Viral Diarrhea)
PAT : Brucellosis, Salmonellosis, Mycoplasmosis
Post Vaccination Surveillance: PPR, ND
काठमाडौंमा मात्र नभएर उपत्यकाबाहिर पनि तपाईंहरूले प्रयोगशाला सञ्चालन गरिरहनु भएको छ । उपत्यकाबाहिर खासमा कति वटा प्रयोगशालाबाट सेवा दिइरहनु भएको छ ?
उपत्यकाबाहिर ५ वटा भेटेरिनरी प्रयोगशालाहरू अहिले सञ्चालनमा छन् । जसमा प्रदेश नं. १ को विराटनगर, मधेस प्रदेशको जनकपुर, गण्डकी प्रदेशको पोखरा, कणर्ाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी रहेका छन् । बागमती प्रदेश र लुम्बिनी प्रदेशमा भने हाम्रो प्रयोगशाला छैन ।
पशुपन्छीको सन्दर्भमा त्यस प्रयोगशालाबाट दैनिक कति नमुना परीक्षण हुने गरेका छन् ?
प्रयोगशालामा दैनिक यति नै नमुना परीक्षण हुने निश्चित संख्या हुँदैन । रोगको आउटव्रेकको अवस्था हेरेर यो कहिले धेरै हुन्छ त कहिले थोरै । बर्डफ्लु, अफ्रिकन स्वाइन फिभरजस्ता रोगहरू देखापरेको अवस्थामा अत्यधिक नमुना प्राप्त हुन्छन् । यस्ता कुनै पनि रोगको प्रकोप नरहेको अवस्थामा भने कम नमुना प्राप्त हुन्छ ।
उपत्यकालगायत देशभरिकै नमुना परीक्षणको नतिजालाई हेर्ने हो भने कुन-कुन रोगको प्रकोप सम्भावना बढी देख्नुहुन्छ ?
देशभरिकै नमुना परीक्षणको नतिजालाई हेर्दा यस आर्थिक वर्षमा बर्डफ्लु, अफ्रिकन स्वाइन फिभर रोग बढी देखिएका छन् । त्यसैगरी, पिपिआर क्लासिकल स्वाइन फिभर, रेबिजजस्ता रोगहरू पनि उत्तिकै मात्रामा देखिएका छन ।
बर्डफ्लूको महामारीले पनि किसान आक्रान्त छन् । खासगरी, काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसँगै चितवन, मकवानपुर, मोरङ्ग ,सुनसरी, सुर्खेतमा यो रोगबाट धेरै कुखुरा संक्रमित भएका छन् ।
स्वाइन फिभर सुरुमा काठमाडौं उपत्यकामा देखिएको थियो । अहिले झापाको मेचीनगर-६ र सुनसरीको धरान-५ मा पनि पुष्टि भएको छ ।
नेपालमा अहिले बर्डफ्लू, अफ्रिकन स्वाइन फिबरको प्रकोप नै देखिएको पाइन्छ । यो अवस्थालाई यहाँले कसरी विश्लेषण गर्नु भएको छ ?
नेपालमा बर्डफ्लू, अफ्रिकन स्वाइन फिभरको प्रकोप देखिएको छ, यतिबेला । बर्डफ्लूका कारण कुखुरा र स्वाइन फिभरका कारण सुँगुर, बंगुर संक्रमित भइरहेका छन् । अवस्था निकै गम्भीर छ । यसले दीर्घकालीन असर गर्ने देखिन्छ । किनभने, पोल्ट्री व्यवसाय राम्रोसँग स्थापित भई नेपाल अण्डा र मासुमा आत्मनिर्भरउन्मुख भएको थियो । तर गत माघको दोस्रो हप्ता मोरङ्गमा देखापरेको बर्डफ्लू देशव्यापी फैलँदा यो क्षेत्र थिलोथिलो भएको छ ।
अफ्रिकन स्वाइन फिभर सुरुमा अफ्रिका महादेशमा भेटिएको हो । भियतनाम, चीन, भारत हुँदै भुटानसम्म आइपुगे पनि नेपाल चोखो रहन सक्यो लामो समय । अहिले यो रोग नेपालमा पनि भित्रिएको छ । सुरुमा काठमाडौं उपत्यकामा यसको संक्रमण देखिएको थियो । देशव्यापी हुने चिन्ता व्याप्त भइरहेका बेला झापा, सुनसरीमासमेत देखापर्न थालेको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट किसानहरूले सहज सेवा नपाएको, पाए पनि नतिजाका लागि भुक्तमान खेप्न परेको गुनासो सुनिन्छ । सेवाग्राहीले यसरी दुःखेसो गर्नुपर्ने अवस्था किन बनेको होला ?
किसानहरूले समयमा नै नतिजा नपाएको गुनासाको आधारमा सहज ढङ्गले सेवा नपाएको भन्न मिल्दैन होला । किनकि, ५-१० रूपैया तिरेर ५०० देखि २५०० सम्मका टेष्ट निःशुल्क भइरहेको छ । पोष्टमार्टम पनि बिनाशुल्क गरिरहेका छौं । रह्यो कुरा नतिजाको । यसलाई पनि जति सक्दो छिटो गर्न प्रयास गरिरहेका छौं । तर कतिपय नतिजा परीक्षण गरेलगत्तै आउँदैन । समय लाग्छ । हामीले परीक्षणको प्रकृति हेरेर १ देखि ३ दिनसम्ममा नतिजा उपलब्ध गराउने गरेका छौं ।
पहिलोपटक नेपालमा रोग देखापरेको अवस्था छ भने त्यसमा विश्व पशु स्वास्थ्य संगठनको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । उसको रिफरेन्स प्रयोगशालाबाट परीक्षणको नतिजा नआएसम्म हामीले रिपोर्ट दिन मिल्दैन । यस्तो अवस्थामा सेवाग्राहीलाई नतिजा उपलब्ध गराउन केही ढिलाइ हुन्छ । यो प्राविधिक समस्या हो । यसरी हुने ढिलाइलाई अन्यथा भन्न मिल्दैन ।
कतिपय रोगहरू आमनागरिकलाई सुसूचित गर्नुपर्ने किसिमका हुन्छन् । जस्तो, बर्डफ्लू । यो रोगको रिर्पोट हामीले सिधै किसानहरूलाई दिन मिल्दैन । पशु सेवा विभाग पठाउनु पर्छ । यसरी प्रक्रिया पूरा गर्न लाग्दा किसानलाई रिपोर्ट उपलब्ध गराउन केही ढिलाइ हुन्छ । यो पनि माथि उल्लेख गरेजस्तै प्राविधिक समस्या हो ।
यस प्रयोगशालाको विश्वसनीयता ह्वात्तै बढेको छ । अब तपाईंहरूसमक्ष सेवालाई थप सरल र सहज बनाउने चुनौती थपिएको छ । भावी योजनाहरू के-के छन् ?
देशभर स्थापना गरिएका हाम्रो प्रयोगशालाको संख्या मात्रै ५ छ । प्रदेश १, मधेस प्रदेश, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खडा गरिसकिएको भए पनि लुम्बिनी र वाग्मती प्रदेशमा अझै हुन सकेको छैन । यो रिक्तता परिपूर्तिका लागि प्रदेश ३ र ५ मा एक/एक वटा भेटेरिनरी प्रयोगशाला स्थापना गर्ने र सेवा विस्तार गर्ने हाम्रो सोच छ ।
प्रयोगशालाको क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने खाँचो छ । यसका निम्ति आगामी आर्थिक वर्ष ०७९/८० मा बर्डफ्लू र पिपिआर रोगको निदान कार्यका लागि Accreditation गर्ने योजना छ ।
Laboratory Information Management System (LIMS) हाल यस प्रयोगशालामा मात्र सीमित छ । तर यसको आवश्यकता भने देशव्यापी छ । त्यसैले आगामी वर्षमा Web Based बनाएर सबै भेटेरिनरी प्रयोगशालाहरूमा विस्तार गर्ने सोच बनाएका छौं ।
यसका अतिरिक्त अनलाइन प्रणालीबाट नै परीक्षण रिपोर्ट उपलब्ध गराउने Re–emerging Zoonotic रोगहरू जस्तै निफाजस्ता रोगहरूको मलेकुलर परीक्षण स्थापना गर्ने तयारी पनि छ ।
नेपालमा फैलिएका विभिन्न रोगहरूको नतिजा निक्र्योल (डिक्लियर) गर्न नमुनाहरू विदेशमा पनि पठाउने गरेको सुनिन्छ । यसो गर्नुको कारण हाम्रो क्षमता नभएर हो या अन्तर्राष्ट्रिय प्रणाली नै त्यस्तै भएर हो ?
नेपालमा पहिलोपटक कुनै रोग पुष्टि भएमा नतिजा निक्योल गर्न नमुना संकलन गरेर विदेश पठाउने गरेका छौं । यो प्रयोगशालाको परीक्षण क्षमता नभएको कारणले नभई विश्व पशु स्वास्थ्य संगठनको मान्यतानुसार गरिएको हो । विश्व पशु स्वास्थ्य संगनको मापदण्डअनुसार पहिलो पटक कुनै रोग देशभित्र देखापरेमा उसले तोकेको Reference Laboratory बाट test verification गर्नैपर्छ । त्यही भएर पहिलोपटक कुनै रोग नेपालभित्र पुष्टि भएको छ भने त्यसको परीक्षण गर्न विदेशमा लैजान्छौं । यसबाहेकको परस्थितिमा देशभित्र नै परीक्षण हुन्छ ।