सहरमा अहिले दर्जनौं केलन क्लब छन् । उनीहरूले अनलाइनलगायत विविध माध्यम प्रयोग गरेर सेवा प्रवाह गरिरहेका छन् । दर्जनौं केनल व्यवसायीमध्ये एक, हुन् राजेश पोखरेल । विगत १० वर्षदेखि उनी स्वामित्वको भिमेश्वर भेट एण्ड पेट सप सञ्चालनमा छ । पोखरेल यो व्यवसायबाट खुसी छन् तर व्यवसायीबीच मिलाप नहुँदा भने खिन्न छन् । व्यवसायीबीच एकता नहुँदा यो व्यवसायले अपेक्षित लय लिन नसकेको उनको अनुभव छ । आधारभूत जानकारी लिएर मात्र कुकुरपालन गर्नुपर्ने सुझाव दिने पोखरेलले यसक्रममा ध्यानदिनुपर्ने विभिन्न टिप्स भेट टाइम्समार्फत दिएका छन् । केनव व्यवसायका पायोनियर सुरेश शाहको प्रेरणाबाट यो क्षेत्रमा सक्रिय पोखरेलसँग भेट टाइम्सले कुकुरपालन व्यवसाय, यसका चुनौती, अवसरलगायत विषयमा गरेको केही सवाल :
- केनल क्लबको व्यावसायिक यात्रा कहिलेदेखि सुरु गर्नुभयो ?
केनल क्लबको कर्मचारीको रूपमा ०५८ सालमा म यो क्षेत्रमा प्रवेश गरेको हुँ । झण्डै १०-१२ वर्ष जागिरेका रूपमा विभिन्न केनल क्लबमा काम गरेँ । आफ्नै स्वामित्वको व्यवसाय सञ्चालन गरेको भने ९ वर्ष पुगेको छ ।
- यो पेशामा कसरी प्रवेश गर्नुभयो ?
खासमा मलाई यो क्षेत्रमा प्रवेश गराउने प्रेरणा केनल क्लबका पायोनियर व्यवसायी सुरेश शाहले गर्नु भएको हो । म उहाँको संस्थाको मार्केटिङमा काम गर्थेँ । त्यस क्रममा उहाँको लगनशीलता र इमान्दारिता देखेर म प्रभावित भएँ । म यो क्षेत्रमा आउनुमा मुख्यतः उहाँकै प्रभाव र देन छ ।
- समग्रमा केनव व्यवसायको अहिलको अवस्था कस्तो छ ?
विगतमा यो पेशामा अहिलेजस्तो प्रतिस्पर्धा थिएन । यो व्यवसाय गर्ने मान्छे औंलामा गन्न सकिने २/४ जना मान्छे मात्र थिए । संख्या थोरै थियो अनि प्रतिस्पर्धा पनि स्वस्थ हुन्थ्यो । तर अहिले यो व्यवसाय पहिलेजस्तो व्यवस्थित छैन । जसले पायो त्यसले केनल क्लब चलाउने र अनलाइनमार्फत व्यापार गर्ने होड छ । यसले कारोबारसमेत खस्किएको छ । कुनै पनि पेशा राम्रो हुन त्यसलाई बुझेका मान्छेको प्रवेश हुनुपर्छ । तर यो व्यवसायमा त्यस्तो भएन । ग्राहकको आवश्यकतासमेत नबुझने व्यक्तिहरू केनल व्यवसायी भएका छन् । जसका कारण यो व्यवसायको आकर्षण अपेक्षित रूपमा बढ्न सकेको छैन ।
- यस क्षेत्रमा हाल के-कस्ता समस्याहरू छन्, बनाइदिनुहोस् न ?
फरक-फरक किसिमका होलान् तर सबै व्यवसायमा समस्या हुन्छन् । अन्य व्यवसायमा जस्तै हाम्रो केनल व्यवसायमा पनि समस्या छन् । यो पेशाको मुख्य समस्या सडकका छाडा कुकुर हुन् । घरमा पालेका कुकुरको उचित व्यवस्थापन गर्नु पर्नेमा सडकमा लगेर छाडिदिने प्रवृत्ति छ । व्यवस्थित कुकुरपालनका लागि जति मात्रामा व्यावसायिक दक्षता हुनुपर्ने हो, त्यो पनि छैन । अर्थात् व्यावसायिक अनभिज्ञता छ । मेलमिलाप हरक्षेत्रमा आवश्यक छ । एकताबिना हामी बलियो हुन सक्दैनौं । तर केनल व्यवसायीमा एकता, मेलमिलाप, अपनत्वको अभाव छ । यी व्यवसायीबीच जुन तहमा भावनात्मक सम्बन्ध हुनुपर्ने हो, त्यो छैन ।
- बजारमा अहिले कस्ता खालका कुकुरको माग बढी छ ?
जापनिज स्पिच, जर्मन सेफर्ड, ल्यावरोडर, ककर स्पाइनल, गोलडेन रिटिभर, डोवरमेन प्रजातिको माग नेपाली बजारमा अलि बढी छ । त्यसो त यी प्रजातिको माग अहिले मात्र नभएर पहिलेदेखि नै थियो । पछिल्लो समय हस्की जातको कुकुरको माग पनि बढेको छ ।
- कुकुर उपचारमा दक्ष जनशक्तिको अभाव रहेकाले सहज रूपमा औषधि-उपचार नपाएको गुनासा पनि सुनिन्छन् । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
तपाईंले उठाएको यो प्रश्न वास्तवमा सही र समयसान्दर्भिक छ । बजारमा कुकुरको उपचार गर्ने दक्ष जनशक्ति नै नभएका होइनन् । छन् । तर पहिचानको समस्या बढी छ । अनलाइनलगायत माध्यममा जथाभावी विज्ञापन गर्ने चलनका कारण कुकुरपालक दिग्भ्रमित छन् ।समस्याहरू आउँछन् । सबै समस्याको समाधान तुरुन्त हुँदैन, समय लाग्छ । यसमा हामी जानकार छौं । जमाना प्रविधिको छ । जहाँबाट छिटो जानकारी र सेवा पाउँछ ग्राहक त्यतैतिर आकर्षित हुन्छ । यसलाई नराम्रो भन्न पनि सकिन्न । यद्यपि, प्रविधिको उपलब्धता छ भन्दैमा सही ठाँउ छनोट गर्न आनाकानी गर्न हुँदैन । यदि हामीले यसमा उदासीनता देखायौं भने त्यसको दीर्घकालीन समस्या ग्राहकलाई पर्नेछ । जस्तै, कसैले घरमा कुकुर पालेको छ । कुकुर पालिसकेपछि त्यसलाई उपयुक्त खानासँगै उपयुक्त वातावरण हुनुपर्छ । सँगै उचित उपचारको प्रबन्ध पनि आवश्यक हुन्छ । यो कुकुरपालकको जिम्मेवारी हो । यसप्रति जोकोही गम्भीर हुन जरुरी छ ।
- कुकुरपालन गर्दा ध्यान दिनुपर्ने कुरा के-के होलान्, सल्लाह दिनुहोस् न ।
कुकुर शुरुमा खरिद गर्दा त्यसको जति महत्व हुन्छ, पछि हुँदैन । तर कुकुरमा मानसिमा जस्तो स्वभाव हुँदैन । कुकुर एउटा यस्तो असल सदस्य हो जसले सुरुवातदेखि बाँचुन्जेलसम्म माया खोज्दछ । त्यसैले कुकुरलाई माया र ममता उत्तिकै आवश्यक हुन्छ । यदि यो कुरा नबुझेर कुकुरलाई माया गरेनौं भने ऊसँगको दूरी बढ्दै जान्छ ।हामी बाहिर कतैबाट घर जाँदा बच्चा छ भने उसले केही आश गरेको हुन्छ । उसको भावना बुझेर केही कुरा लगिदिन्छौं । केटाकेटीको यो स्वभाव कुकुरमा पनि ठ्याक्कै हुन्छ । उसले पनि घरको मालिक बाहिर कतैबाट घरमा आउँदा केही खानेकुराको अपेक्षा राखेको हुन्छ । कुकुरले आफूलाई पालित घरको सदस्यकै रूपमा हेर्ने गर्दछ । त्यसमा पनि आफूलाई सिनियर ठान्छ, कुकुरले । त्यसैले कुकुरपालन गर्ने व्यक्तिमा कुकुर पनि मेरो परिवारको एउटा सदस्य हो भन्ने बुझाइ विकास हुन जरुरी छ ।कुकुरपालनमा अर्को महत्वपूणर् पाटो हो, नाम । लाग्न सक्छ, नाममा के नै होला र । तर त्यस्तो होइन । कुकुरको नाम राख्दा हामीले जहिले पनि २ शब्दको राख्नु पर्छ । यसरी दुई शब्दको नाम राख्नुका अनेक फाइदा छन् । पहिलो त जसले पनि सजिलै नाम उच्चारण गर्न सक्छ । अर्को कुरा, दुई शब्दको मात्र नाम हुँदा स्वर र सांकेततिक भाषासमेत कुकुरले सहज रूपमा बुझ्न सक्छ ।कुकुरपालनमा शौचको पाटो पनि उत्तिकै महत्वपूणर् हुन्छ । कुकुरलाई व्यवस्थित ढंगले दिसा-पिसाब किन पनि गराउनुपर्छ भने यसले उसलाई अनुशासित हुन सिकाउँछ । सही काम गर्दा इनामको रूपमा कुकुरलाई मिठो खानेकुरा दिने गर्नु पनि राम्रो हुन्छ । यसो गर्दा कुकुरमा असल चालचलनको विकास भइरहन्छ ।खाना दिँदा पनि उत्तिकै चनाखो हुनुपर्ने हुन्छ । जसरी मानिसले तालिका बनाएर आफ्नो खानपान गर्छन् त्यसैगरी कुकुरलाई पनि दिनुपर्छ । यदि तोकिएको समयमा उपलब्ध खाना कुकुरले खाएन र खान पाएन भने त्यसलाई भिकेर राखी दिनुपर्ने हुन्छ । एउटै भाडामा धेरै समय खानेकुरा राख्नु पनि हुँदैन । यसो गर्दा खाना बिग्रिन खतरा हुन्छ ।कुकुरलाई माया र ममता दिनुपर्छ । मैले माथि नै भनेँ नि यसले जीवनको सुरुवातदेखि अन्त्यसम्म मानिसबाट मायाको अपेक्षा गरेको हुन्छ । यसो भन्दैमा कुकुरलाई अनावश्यक ठाउँ दिनु हुँदैन । काखमा राख्ने, सुताउने काम कुकुरलाई नगर्नु राम्रो हुन्छ । गाली गर्दा ठूलो स्वर र जिम्मेवारी पूरा गर्दा धन्यवाद भन्ने बानीको विकास गर्नुपर्छ । उसलाई समयअनुसारको अथवा मौसम अनुसारको खानपिन बसोवास तथा औषधिको पनि व्यवस्था मिलाउनुपर्छ ।
- यस व्यवसायलाई थप व्यवस्थित बनाउन राज्यले के-के गर्नुपर्ने देख्नुहुन्छ ?
जन्मिँदै कुनै पनि कुकुर छाडा भएका हुँदैनन् । तसर्थ, छाडा कुकुर नियन्त्रण अहिलेको मुख्य गरिहाल्नुपर्ने काम हो । व्यवस्थित कुकुरपालन अभियान सञ्चालन गरेको खण्डमा कुकुरमा नराम्रो बानी व्योहोरको विकास हुन पाउँदैन । अर्को कुरा, औषधि उपचारमा सहजीकरण गरी व्यवस्थित कुकुरपालनमा लाग्न जरुरी छ । खासमा कुकुरको जात राम्रो, नराम्रो भन्दा पनि बानी व्योहोरा राम्रो बनाउनेतर्फ लागेमा भलो हुने देख्छु ।
Language »