सय वर्षपछि पत्ता लाग्यो अफ्रिकन स्वाइन फिभरको खोप

काठमाडौं । बंगुर तथा सुंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरको खोप पहिलोपटक पत्ता लागेको छ ।

अफ्रिकन स्वाइन फिभरसँग लामो समयदेखि जुध्दै आइरहेको भियतनामले यो खोप विकास गरेको हो ।

सन् १९२१ मा पहिलोपटक अफ्रिकाको केन्यामा यो रोग देखापरेको थियो । त्यसको ठ्याक्कै १०१ वर्षपछि खोप पत्ता लागेको हो ।

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयले अफ्रिकन स्वाइन फिभरको खोप विकास गरेको दाबी गरेको छ ।

सो मन्त्रालयले जनाएअनुसार, नयाँ खोपले प्राविधिक आवश्यकताहरू पूरा गर्नुका साथै छ महिनासम्म यो प्रभावकारी हुने जनाएको छ ।

पशुपन्छी रोग विशेषज्ञ डा. मुकुल उपाध्यायले पहिलो पटक भियतनामले अफ्रिकन स्वाइन फिभरको खोप पत्ता लगाएको र यसले किसानमा नयाँ आशाको सञ्चार गराएको भेट खबर डटकमलाई जानकारी दिए ।

उनका अनुसार, भियतनामले यो खोपको आफ्नो आवश्यकता पूरा भएपछि अन्य देशमा वितरण गर्नेछ ।

खोपको विकास भएकाले अब अन्य कम्पनीले पनि यसको उत्पादन गर्न सक्ने बाटो खुलेको छ । उपाध्यायका अनुसार, नेपालमा पनि यो खोप छिट्टै आउने सम्भावना छ ।

अफ्रिकन स्वाइन फिभर सुंगुर र बंगुरमा लाग्ने एक किसिमको टाइफाइड हो । यो पहिलोपटक अफ्रिका महादेशमा फेला परेको थियो । लामो समय यो महादेशमा मात्र सीमित यो रोग सन् २०१८ मा चीन र त्यसपछि आसियान क्षेत्रका मुलुक हुँदै छिमेकी देश चीन, भारत र भुटानमा देखिएको थियो । नेपालमा भने गत महिना मात्रै यो रोग पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा मात्र देखिएको यो रोगबाट हालसम्म १०१९ सुंगुर तथा बंगुर मरेको पशु सेवा विभागले जनाएको छ ।

यो रोगबाट बंगुरपालन क्षेत्र प्रभावित बनिरहेका बेला खोप विकास भएपछि नयाँ आशाको सञ्चार गराएको छ ।