राष्ट्रिय कीर्तिमानसहित हाफ म्यारथन सम्पन्न

उपराष्ट्रपतिद्धारा म्याराथन धावक पुरस्कृत
हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रोटिनको महत्त्व उजागर गर्न नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा पुस ३ गते म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको कार्यक्रमको शुभारम्भ  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गरे ।

प्रोटिनजन्य पदार्थबारे जनचेतना फैलाउन आयोजित कार्यक्रममा हाफम्याराथनसहित विभिन्न ७ विधाका दौड प्रतियोगितामा प्रतिस्पर्धा चलेको थियो । जसमा करिब २१०० सहभागी भए ।

हाफ म्याराथन महिलातर्फ भक्तपुरकी सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान सुरक्षित गरिन् । यो उनको नयाँ कीर्तिमानसमेत हो ।

हाफ म्याराथनकै पुरुषतर्फ बागलुङका तीर्थ पुनले प्रथम स्थान सुरक्षित गरे । आयोजकका अनुसार उनले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरे ।

१० किमी खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट ५९ सकेन्डमा दौड पूरा गरे भने  ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपूरा पछाईले २२ मिनेट ४१ सेकेन्डमा निर्धारत दूरी पार गर्दै प्रतिस्पर्धीलाई चक्मा दिइन् ।

पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायतले २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन् । ह्विल चेयरतर्फ प्रेमबहादुर विकले प्रथम स्थान सुरक्षित गरे ।

हाफ म्याराथन, १० किमि खुल्ला, ५ किमि महिला, ५ किमि पुरुष स्कुल विद्यार्थी, ३ किमि महिला स्कुल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमशः एक लाख पचास हजार र तीस÷तीस हजार प्राप्त गरे ।

प्रत्येक विधाका उत्कृष्ट ५ जना गरी ३५ जना विजेता धावकलाई कूल करबाहेक दश लाख पचास हजार रूपैयाँबराबरको नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

नेपाल एथलेटिक्स एशोसिएसनको अनुमतिमा सम्पन्न प्रतियोगितामा उसैले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले गरे ।