कुनै बेला अखबारका पानामा बाइलाइनसहित समाचार लेख्ने बस्ताकोटी हिजोआज कुकुरपालनमा रुचि भएकाको इच्छा पूरा गराउँदै मनग्य आम्दानी गरिरहेका छन्
साउनको एक साँझ । अन्नपूर्ण केनल क्लब, चाबहिलका गोविन्द बस्ताकोटीेको मोबाइलमा मैले घण्टी बजाएँ । फोन गर्नुको प्रयोजन थियो- उनको व्यावसायिक उडानबारे सामग्री तयार पारेर पाठकसामु पस्किनु ।
‘हेलो’ फोनको केही घण्टी जानेबित्तिकै उताबाट गोविन्द बोले ।
मैले परिचयसहित फोन गर्नुको प्रयोजनबारे सुनाएँ । तर गोविन्दको ‘फ्यामिली टाइम’ सुरु भइसकेको रहेछ । उनी भलाकुसारीका निम्ति तयार भएनन् ।
‘यो फ्यामिली टाइम हो । भोलि बिहान ९ बजेदेखि साँझ सात बजेसम्म अफिस टाइममा कल गर्नुस् न ल,’ उनले आफ्नो अप्ठ्यारोबारे जानकारी गराउँदै भने ।
बस्ताकोटीले आजभन्दा झण्डै २० वर्षअघि अन्नपूणर् केनल क्लब जन्माएका हुन् । जसले उनको दैनिकीलाई यति व्यस्त बनाइदिएको छ कि हरेक काम गर्ने सेड्युल नै बनाएका छन् ।
पत्रकारिता छाडेर केनलतिर
४२ वर्षअघि काठमाडौंको लप्सीफेदीमा जन्मिएका हुन्, गोविन्द । उनको स्कुलिङ जोरपाटीबाट सुरु भयो । त्यहीबाट सकाए विद्यालय शिक्षा पनि ।
विद्यालय तह पार गरेपछि उच्च शिक्षा लिए । उच्च शिक्षा अध्ययनपछि धेरैमा स्वभाविक अलमल र अन्योल हुन्छ- करिअर कसरी, कहाँबाट सुरु गर्ने ? गोविन्दलाई पनि यो सकस पर्यो ।
संयोगले गोविन्द वरिष्ठ पत्रकार गोपाल बुढाथोकीको सम्पर्कमा पुगे । बुढाथोकीले चर्चित साँघु साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक । गोविन्द उनै बुढाथोकीको पत्रिकामा जोडिन पुगेँ ।
अहिले साप्ताहिक पत्रिकाको बजार खुम्चिएको छ । प्रविधिले समग्रमा अखबारकै क्रेज घटेको छ । त्यतिबेला पत्रिकामा पनि साप्ताहिकको क्रेज अझ बढी थियो । त्यसमा ब्रेकिङ र स्कुप मारिएका सामग्री हुन्थे । अर्थात् त्यो जमाना नै साप्ताहिक अखबारको थियो ।गोविन्दले केही समय गोपाल बुढाथोकीको सामिप्यतामा रहेर पत्रकारिता गरे ।
पत्रकारिता यात्रा चलिरहेकै थियो । यादगर पनि उत्तिकै ।उतिबेला मिडिया पनि सीमित । पैसा पनि सीमित । इच्छा, आकांक्षा भने धेरै । गोविन्दले ती इच्छा र आकांक्षा पत्रकारिताबाट पार लाग्ने देखेनन् ।गोविन्द पत्रकारितासँगै पार्टटाइम भेटेरिनरी क्षेत्रमा पनि काम गर्थे ।
जतिबेला काठमाडौंमा केनल क्लबहरू औंलामा गन्न सकिने थिए । तिनको काम मानिसका घरका ढोका ढक्ढकाएर ‘कुकुरलाई सुई लगाउनु भयो ?’ भनेर सोध्नु, सुई लगाउन सचेतना जागृत गर्नु र लगाउनुमा सीमित थियो । यसमा पनि प्रोफेसनल निकै कम ।‘मैले केनल क्लब सञ्चालन गर्नुपूर्व काठमाडौंमा ढोका ढक्ढकाएर कुकुरलाई खोप लगाउनु पर्छ भनेर हिँड्ने चलन थियो । भेटेरिनरी हस्पिटल औंलामा गन्न सकिने थिए । कुकुरलाई सुई कहाँ लगाउने मानिसलाई थाहा थिएन । यो काम प्रोफेसनल मान्छेले गर्नुपर्छ भनेर यो क्षेत्र रोजेको हुँ,,’ गोविन्दले केनल क्लब सुरुवात गर्नुको भेद खोल्दै भेट टाइम्ससँग भने ।
यसलाई केही परिस्कृत गर्दा व्यवसायिक लयमा अगाडि बढ्न सकिने विश्वास रहेकाले गोविन्दलाई केही गर्न सकिन्छ भन्ने विश्वास थियो । तर मनको अन्तरमा कतै त्रासको बतास पनि चलिरहेकै थियो । कतै लगानी डुबेर पछाडि धकेलिने त होइन ? ‘कुकुरको अहिलेजस्तो बजार थिएन,’ गोविन्दले व्यवसाय थाल्दाका ती दिन सम्झिए, ‘त्यसैले नो रिस्क, नो गेन भनेर यो व्यवसाय गर्न कस्सिएँ ।’
आँटिला गोविन्दले साझेदारीमा कम रिस्कमा काम गर्न सकिने विकल्प नदेखेका होइनन् । तर उनी एक्लै कस्सिए, केनल क्लब ब्यवसायको पोखरीमा हेलिन ।
सुरुमा उनको लगानी थोरै थियो । विस्तारै बढ्दै गयो । केही लाखबाट सुरु गोविन्दको व्यवसाय झाँगिएर अहिले लाखौं पुगेको छ । यसबारे बताइरहँदा उनमा सन्तोषको भाव प्रष्ट नाचिरहेको थियो ।
उनको केनल क्लबले अहिले कुकुर बिक्रीसँगै साधारण समस्याको उपचार गर्छ । क्रिटिकल केसका कुकुरका लागि भने अस्पताल रेफर गर्ने गरेको बस्ताकोटी बताउँछन् ।
सुरुवातमा समस्या नै समस्या
सन् २००५ मा गोविन्दले अन्नपूणर् केनल क्लब सुरु गर्दा अहिलेजस्तो बजार थिएन । काठमाडौं, पोखरा, विराटनगरलगायत ठूला शहरमा मात्र कुकुर पाल्ने संस्कृति थियो ।
कुकुर कसरी पाल्ने भन्ने चेतना पनि मानिसमा थिएन । सरसामग्रीको अभाव पनि उत्तिकै थियो । बस्ताकोटीका अनुसार, कुकुर बाँध्न बेल्ट होइन, फलामको साङ्ला खोजिन्थ्यो ।
औषधि तथा फिड सप्लिमेन्ट उत्पादनको अवस्था पनि उस्तै । क्याल्सिमय र लिभरटोनिक एउटा कम्पनीको मात्र पाइने ।
‘साँघुरो बजार र कुकुरसँग सम्बन्धित औषधि तथा खाना सीमित मात्रामा पाइने भएकाले विगतमा यो व्यवसाय निकै सकसपूणर् थियो,’ गोविन्द भन्छन् ।
हिजोको अवस्थामा अहिले स्वभाविक परिवर्तन आएको गोविन्दको अनुभव र अनुभूति छ । उनका अनुसार, कुकुरको बजार नै अहिले फराकिलो बनेको छ । काठमाडौंका अतिरिक्त पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, झापाको दमक, बिर्तामोड, सुनसरीको धरानलगायत क्षेत्रमा अहिले कुकुरको माग उच्च छ । विभिन्न जिल्लामा शहरीकरण भइरहेकाले त्यहाँ पनि बजार बनिरहेकै छ ।
गोविन्दका अनुसार, कुकुरपालनका विभिन्न उद्देश्य छन् । धेरैले चाहिँ सोखकै कारण कुकुर पाल्छन् । सेक्युरिटी पर्पोज र देखासिकीमा कुकुर खोज्दै गोविन्दको केनल क्लब धाउने पनि उत्तिकै छन् । काठमाडौं उपत्यकाको हकमा यहाँका रैथानेभन्दा बाहिरबाट आएकाले कुकुरपालन गर्छन् ।
‘बाहिरबाट काठमाडौंबाट आएका मानिसमा सबैभन्दा पहिले जागिरको सुर्ता हुन्छ । जागिर पाएपछि घर गाडी हुँदै उसले कुकुर पाल्ने गरेको देखिन्छ,’ कुकुरपालनको टे्रन्डबारे गोविन्दले खुलाए ।
बस्ताकोटीका अनुसार, सबैभन्दा धेरै कुकुरको माग काठमाडौंमा छ । त्यसपछि सबैभन्दा धेरै कुकुरको माग पोखरामा छ । ठ्याक्कै यकिन तथ्यांक त छैन । तर यहाँ रहेका १०० प्लस केनल क्लब तथा कुकुर फार्मले १००० को हाराकारीमा कुकुर बिक्री गर्ने उनको हिसाब छ । यदि यो तथ्यांक सही हो भने यसमा झण्डै ५ प्रतिशत बजार गोविन्द एक्लैले कब्जा जमाएको देखिन्छ । किनभने उनले मासिक ४०-५० वटा कुकुर बिक्री गर्छन् ।
गोविन्दको बुझाइमा पर्ग, ल्याब्रेटर, जर्मन सेफर्ड नेपालमा धेरै माग हुने कुकुर हुन् । यसको बजार मूल्य १५ हजारदेखि २५ हजार छ । विगतमा भारतलगायत मुलुकबाट कुकुर आयात हुन्थ्यो । अहिले ९९ प्रतिशत कुकुर नेपालभित्रै उत्पादन हुन्छ ।
पक्डदैछ व्यावसायिकता
अहिले कुकुर उत्पादन गर्न व्यवसायिक रूपमै फार्म खुलेका छन् । अहिले बजारमा सबैभन्दा ठूलो हिस्सा यसकै छ । गोविन्दका अनुसार, सोखका निम्ति मात्र पाल्नेहरूले पनि कुकुर उत्पादन गरेर बिक्री गर्ने संस्कृति बढ्न थालेको छ । यसरी कुकुर पाल्नेहरूका लागि फिमेल डग दिएर सहजीकरण गर्दै आइरहेको उनी सुनाउँछन् ।
‘बच्चा जन्माउँदा कुकुरको हेल्थ राम्रो हुने र कमाइसमेत हुने भएकाले हामीले सोखका निम्ति कुकुर पाल्नेहरूलाई पनि बच्चा जन्माउन सुझाव दिने गरेका छौं,’ बस्ताकोटी भन्छन् ।
बस्ताकोटीका अनुसार, कुकुरको माग अनुसार उत्पादन हुन सकेको छैन । त्यसैले नवप्रवेशीका निम्ति पनि यो क्षेत्रमा उत्तिकै सम्भावना थाती रहेको उनी बताउँछन् । तर फुर्सदमा कुकुरको हेरविचार गर्छु भन्ने सोचेर यो काम नगर्न उनको सुझाव छ ।
‘कुकुरको व्यावसायिक पालन गर्न समय धेरै दिनुपर्छ,’ बस्ताकोटी भन्छन्, ‘यदि फुर्सदको समयमा मात्र यो काम गर्छु भन्ने सोचका साथ कोही काम गर्ने विचारमा हुनुहुन्छ भने दुःख नगर्दा हुन्छ ।’
बस्ताकोटीका अनुसार यदि कसैले कुकुर पाल्ने हो भने फिमेल कुकुर मात्र खरिद गर्दा हुन्छ । मेल कुकुर केनल क्लबसँग हुन्छ । फिमेल कुकुरको मूल्य जात हेरेर छ ।
जन्मेको १ वर्षमा कुकुरले उत्पादन दिने उनी बताउँछन् । उत्पादन दिन थालेको ६/६ महिनामा यसले ४-५ वटा बच्चा निरन्तर ६ वर्षसम्म उत्पादन गर्छ । यसको मूल्य भने जातअनुसार छ । एउटा कुकुरले वर्षमा एक लाखदेखि डेढ लाख रूपैयाँसम्म सजिलै आम्दानी गर्न सकिने गोविन्द बताउँछन् ।
आम्दानी मात्रै होइन, खर्च पनि उत्तिकै छ कुकुरपालनमा । औषधि, उपचार, गरेर वार्षिक १५-२० हजार खर्च हुन्छ । घरायसी खानासँगै राम्रा तयारी डग फुड पनि अहिले बजारमा छन् ।
तस्करीको ट्रान्जिट बन्दै नेपाल
कुकुर उत्पादनमा नेपाल आत्मनिर्भर बनेकाले विदेशबाट एकाधबाहेक कुकुर आयात गर्नुपर्ने अवस्था अहिले छैन । तथापि, विदेशबाट कुकुर आयात हुने क्रम अहिले रोकिएको छैन । साइप्रस, थाइल्यान्डलगायत मुलुकबाट कुकुर आइरहेका छन् ।
बस्ताकोटीका अनुसार, भारतले कुकुर आयातमा प्रतिबन्ध लगाएकाले नेपालको बाटो हुँदै भारततर्फ कुकुर तस्करी भइरहेको छ । नेपालमा ८-१० जनाको गिरोह नै यस्तो काममा सक्रिय रहेको र मासिक ४०-५० कुकुर नेपाल हुँदै भारत तस्करी भइरहेको उनको दाबी छ ।
भारतले कुनै बेला अनुमति दिएरै कुकुर आयात गथ्र्यो । तर तत्कालीन पशुपन्छी मन्त्री मेनका गान्धीले आयात प्रतिबन्ध लगाएपछि अहिले बाटो बन्द छ । यही कारण अहिले कुकुर तस्करीमा नेपाली भूमि प्रयोग भइरहेको बस्ताकोटी बताउँछन् ।
मुलुकको विकासमा योगदान तर उपेक्षा
कुनै समय यस्तो थियो, कुकुरका लागि वार्षिक करोडौं रूपैयाँ भारतलगायतका विदेशी मुलुकमा जान्थ्यो । अहिले यो अवस्थामा आनको तान फरक छ । झण्डै ९९ प्रतिशत कुकुर नेपालमै उत्पादन हुन्छ ।
देशको कुल उत्पादनमा नै यो क्षेत्रले योगदान दिए पनि यसलाई संरक्षण र प्रोत्साहनतर्फ भने राज्य उदासीन बनेको तीतो अनुभूति गोविन्दको छ ।
गोविन्दका अनुसार, कुखुरालगायत पशुपन्छीको दाना आयात गर्दा सरकारले थोरै कर लगाएको छ । तर कुकुरलाई भने बिलासी वस्तुमा राखेर ४०-४५ प्रतिशतसम्म कर थोपरिएको छ । कुकरलगायत पशुपन्छीका लागि नभई नहुने औषधिको दर्ता नगरेर पनि उत्तिकै व्यवधान खडा गरिएको उनी सुनाउँछन् ।
गोविन्दका अनुसार, अनुमति दिएका औषधि नियमित नआउने समस्या पनि उत्तिकै छ । आएकाको मूल्य पनि छुनै नसकिने चर्को । यसमाथि विभिन्न रोगले पनि यो व्यवसायलाई सकसमा पारेको उनी बताउँछन् ।
आफ्नो क्षेत्रले अनेक समस्या र भुक्तमान झेलिरहेकाले राज्यले सुनिदिए हुन्थ्यो भन्ने गोविन्दको चाहना छ । तर आफूहरूको कुनै पनि कुरा राज्यले नसुनेकोे उनको गुनासो छ ।
गोविन्दका अनुसार, कुकुरपालन व्यवसायलाई नै हेयको दृष्टिले हेर्ने प्रचलन नेपालमा छ । ठ्याक्कै उस्तै सोच राज्यको पनि छ । कुकुरपालन गर्नेलाई बैंकले लोनसम्म नपत्याउने गरेको गुनासो उनले गरे ।
‘नेपालमा कुकुरको काम गर्ने भनेपछि हेयको दृष्टिले हेरिन्छ,’ उनले गुनासोको पोको फुकाउँदै भने, ‘बाख्रा पाल्दा सरकारले अनुदान दिन्छ । बैंकले लोन दिन्छ । तर कुुकुर पाल्छु भनेर गए बैंकले लोनसम्म पत्याउँदैन ।’
यस्तो व्यवहारले उनको चित्त साह्रै दुख्छ । राज्यको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान दिँदा दिँदै पनि यो क्षेत्रलाई उपेक्षा गरेर राज्य कृतघ्न बनेको उनी सुनाउँछन् ।
राज्यले यो क्षेत्रलाई उपेक्षा गरे पनि बस्ताकोटीलाई भने कुनै सुर्ता छैन । आफ्नो काममा रमाइरहेका छन् । कामअनुसारको दाम मिलिरहेकाले पेशाप्रति उनी पूणर् सन्तुष्ट छन् । भन्छन्, ‘२० वर्षदेखि सुरु गरेको कामबाट म सन्तुष्ट छु । आजको मितिसम्म यसको विकल्पबारे सोच्नु परेको छैन ।’