कृषि क्षेत्रको प्रगतिले मात्रै देश समृद्ध हुनसक्छ : मन्त्री नेम्वाङ

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री वसन्त नेम्बाङले कृषि क्षेत्रको सर्वांगिङ विकासबाट मात्रै सुखी नेपाली, समृद्ध नेपालको नाराले साकार रूप लिने बताएका छन् ।

शुक्रबार मन्त्रालयको पदभार समाल्दै कृषि मन्त्री नेम्वाङले कृषि क्षेत्रको सर्वांगिङ विकासमा जोड दिएका हुन् ।
‘हामीले पुल, बाटोलगायत संरचना बनाएका छौं,’ मन्त्रालयका अधिकारीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री नेम्वाङले भने, ‘पूर्वाधार निर्माणले होइन कृषि क्षेत्रको प्रगतिबाट मात्रै समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल हुन सक्छ ।’ उत्पादकत्व बढाउनेदेखि रोजगारी सिर्जनासम्मको काम कृषिले गरेकाले यसलाई कम आँक्न नहुने उनले बताए ।

चालु आर्थिक वर्षमा कृषि मन्त्रालयतर्फ विनियोजित रकमको ५७ प्रतिशत खर्च भएको जानकारी दिँदै मन्त्री नेम्वाङले अझै समय बाँकी रहेकाले त्यसमा केन्द्रित हुन आग्रह गरे ।

कोभिड–१९ महामारीका कारण मन्त्रालयसँग सम्बन्धित ठेक्का पट्टा अवरुद्ध हुँदा अप्ठ्यारो अवस्था सिर्जना भए पनि जनता र राष्ट्रप्रति उद्यरदायी हुनबाट सरकार विमुख नहुने प्रतिबद्धता उनले उक्त अवसरमा व्यक्त गरे ।

एक वर्षको अन्तरालमै ४ पटक कृषि मन्त्री परिवर्तन भएको उल्लेख गर्दै उनले यो रहरले भन्दा पनि परिस्थितिले उत्पन्न भएको बताए । ‘कृषि मन्त्रालयमा एक वर्षमै चौथो पटक मन्त्री परिवर्तन भएको छ । यो हाम्रो चाहना र रहर होइन, बाध्यता हो,’ नेम्वाङ भने ।
सरकार अप्ठ्यारोमा परे पनि जनताको सेवा र समृतिका निम्ति राजनीतिक नेतृत्वसमक्ष रहेको दाबी उनले गरे । सरकारले आफ्नो र अरूको कार्यक्षेत्र राम्रोसँग बुझेको पनि उनले प्रष्ट पारे । ‘आफ्नो र अरूको क्षेत्राधिकारबारे सरकार जानकार छ,’ उनले अगाडि थपे ।

कृषि मन्त्रालय र यस मातहतका निकायमा लगनशील कर्मचारी रहेको भन्दै उनले प्रशंसासमेत गर्न भ्याए । ‘कृषि मन्त्रालयमा लगनशील, कर्मशील साथीहरू हुनुहुन्छ । कोरोना प्रभाव एकातिर भए पनि त्यसलाई पन्छाएर लगातार लाग्नु भएको छ । अझै दु्रत गतिले लाग्नुस्,’ उनले भने ।